मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २१ आइतबार १९:३२:००
Read Time : > 1 मिनेट
अर्थ

तीन महिनादेखि सुनसान रसुवागढी नाका खोल्न माग

Read Time : > 1 मिनेट
२०७७ बैशाख २१ आइतबार १९:३२:००

राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजश्व योगदान गरिरहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी विगत तीन महिनायता बन्द छ । नाका बन्द भएपछि राज्यलाई त घाटा भएको छ नै स्थानीय तथा नाकामा कारोबार गर्ने व्यापारीहरूको समेत रोजीरोटी रोकिएको छ ।

चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवत–जावत तथा आयात–निर्यात ठप्प भएको थियो । त्यसयता कोरोना संक्रमण तथा चिनिया नयाँ वर्षका कारण लामो समय सार्वजनिक बिदा हुँदा नाका सुनसान बन्न पुगेको थियो । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुरुमा चिनियाँ पक्षले १५ दिन नाका बन्द गर्ने बताएको थियो । तर, अहिलेसम्म पनि नाका खुलेको छैन ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मालसामान आयात तथा निर्यातका लागि रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । समितिको निर्णयपश्चात् चैत १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । तर, कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले भने तत्काल नाका नखोल्न नेपाल सरकारलाई दबाब दिएका थिए ।

चीन सरकारले चैत २० गते परराष्ट्र मन्त्रालयलाई पत्रको जवाफ पठाउँदै अहिलेलाई तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने जानकारी दिएकोे थियो । चीन सरकारले नै तातोपानी नाकाबाट मात्र स्वास्थ्य सामग्री पठाउने र रसुवागढी नाका तत्काल नखोल्ने भनेपछि तीन महिनायता चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्दाबन्दीमा परेको छ ।

तातोपानी नाकाबाट अहिले औषधिजन्य वस्तुहरू नेपाल भित्रिए पनि रसुवागढी नाका भने चीन सरकारले नै बन्द गरेको छ । रसुवागढी नाकामा अहिले नेपाल र चीन दुवैतर्फको गेट लगाइएको छ । नाकाको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले भने २४सै घन्टा सुरक्षा दिइरहेको सशस्त्र प्रहरीको २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए ।

नाका खोल्न स्थानीय र व्यवसायीको माग
सरकारले ११ चैतदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको हो । पटक–पटक अवधि थप गर्दै पछिल्लोपटक २५ वैशाखसम्म लकडाउन गरिएको छ । त्यसपछि भने लकडाउन केही खुकुलो बनाउने सरकारले तयारी गरिरहँदा स्थानीय तथा व्यवसायीले नाका सञ्चालनमा ल्याउन माग राख्न थालेका छन् ।

लकडाउन सकिएसँगै सुरक्षा व्यवस्था अपनाएर नाका सञ्चालनमा ल्याउनुपर्ने गोसाइँकुण्ड गाउँपालिका– २ का वडाध्यक्ष दावा तामाङले बताए ।

‘पहिले कोरोनाको जोखिम कायमै रहेका कारण स्थानीयमा त्रास बढेकाले नाका सञ्चालन नगर्न विज्ञप्ति बुझाएका थियौँ,’ उनले भने, ‘तर, अब कोरोना संक्रमणको जोखिम त्यति नरहेकाले सुरक्षा व्यवस्था कडा बनाएर नाका सञ्चालनमा ल्याउनुपर्छ भन्ने लाग्छ ।’