मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०७:५७:००
Read Time : > 1 मिनेट
समाचार

रमजानमा सुनसान मस्जिद

लकडाउनले बाहिर निस्कन नपाएपछि घरमै नमाज र कुरान पढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०७:५७:००

मुस्लिम समुदायको विशेष पर्व रमजान चलिरहेको छ । एक महिना व्रत बसेपछि अन्तिम दिन चन्द्रमा हेरेर इद मनाइन्छ । १३ वैशाखबाट इस्लाम धर्ममा आस्था राख्नेहरूले रोजा बस्न थालिसकेका छन् । तर, लकडाउनको समयमा पहिलेजस्तो चहलपहल छैन । न मस्जिदमा भिडभाड छ, न त मस्जिदवरपरका पसलमा । लकडाउनका कारण रोजा बसे पनि कोरोना भाइरसका कारण भेला र भिडभाड नगर्न भनिएकाले सबै घरमै बसेर धार्मिक क्रियाकलापमा संलग्न छन् ।

सर्लाही मलंगवा नगरपालिकाका वाजिब मिकरानीले अहिले अधिकांश मस्जिद खाली रहेको बताए । नगरपालिका–३ मा पर्ने मस्जिदनजिकै घर भएका उनले रमजानको समयमा यति सुनसान मस्जिद कहिल्यै देखेका थिएनन् । ‘रमजान नभए पनि नमाजका वेला मस्जिद भरिभराउ हुन्थ्यो । अहिले वरपर कोही देखिँदैनन्,’ उनले भने, ‘साँझमा नमाज पढ्ने वेला मस्जिदको रौनक नै बेग्लै हुन्थ्यो । यस वर्ष लकडाउनले त्यस्तो छैन ।’ पहिले आफन्त र इष्टमित्रलाई इफ्तारीमा बोलाउने गरिएकोमा टोलमा अहिले न कोही कसैकोमा जान चाहन्छ, न त कसैले बोलाउने गरेको मिकरानीले बताए ।

रमजानमा रोजा अर्थात् दिनभर खाना र पानीसमेत नखाई व्रत बस्ने गरिन्छ । अँध्यारो भएपछि र उज्यालो हुनुअघि खाना खाइन्छ । एक महिनासम्म रोजा गरेपछि अन्तिम दिन मिठोमसिनो खाने, गरिबलाई दान गर्ने गरेर रमजान अन्त्य हुन्छ । धार्मिक पात्रोअनुसार नवौँ महिनामा इस्लाम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान धर्तीमा अवतरित भएकाले यो महिना र व्रतको विशेष महत्व रहेको इस्लामिक संघका पूर्वअध्यक्ष तथा मुस्लिम धर्मगुरु नजरुल हुसैन बताउँछन् । ‘गर्भवती, दुधे बालक भएकी सुत्केरी, महिनावारी भएकी महिला, व्रत बस्न नसक्ने बालक र वृद्ध, गम्भीर बिरामीबाहेक सबै मुस्लिम धर्म मान्नेले रोजा बस्नैपर्छ,’ उनले थपे, ‘रोजान बस्नेले छाकअनुसारको खाना गरिब, दीनदुःखीलाई खुवाउने वा दान गर्ने नियम छ ।’

नमाज र कुरान पढ्नेलगायतका काम सबैले घरमै गरिरहेका छन् । हुसैन भन्छन्, ‘अहिले बाहिर साथीभाइसँग समय बिताउन नसके पनि परिवारसँग समय बिताउने राम्रो मौका छ ।’ 

इफ्तारी खल्लो

लकडाउनको वेला मुस्लिम समुदायका व्यक्ति न त मस्जिदमा भेला हुन सकेका छन्, न त ‘इफ्तारी’ नै रमाइलो हुने गरेको छ । इफ्तारी अर्थात् बेलुकाको खाना खाने वा व्रत तोड्ने समय । हुसैनका अनुसार यसअघिका रमजानमा यस्तो वातावरण कहिल्यै थिएन । ‘सधैं इफ्तारीको वेला साथीहरू र घरमा पाहुना भरिभराउ हुन्थे । अहिले त्यो वातावरण छैन,’ उनले भने । साँझको नमाज झन्डै एक घन्टा लामो हुने गर्छ । 

इद आउनुभन्दा केही दिनअघिबाट श्रद्धालुहरू मस्जिदमै बस्ने र कुरान पढ्ने गर्थे । अहिले त्यो सम्भव छैन । यसैगरी हरेक घरबाट अन्न वा नगद जे सकिन्छ, त्यो दान गर्ने प्रचलन छ । तर, लकडाउनले गर्दा त्यो पनि सम्भव छैन । हुसैन भन्छन्, ‘सरकारी निकायसँग समन्वय गर्न पाए हुन्थ्यो । हामीले दान दिनुपर्छ । तर, एकद्वार प्रणाली भएकाले हामीले सकिरहेका छैनौँ ।’ स्थानीय सरकारले मुस्लिम समुदायसँग समन्वय गरेर आवश्यक हुनेलाई राहत बाँड्नुपर्ने उनको भनाइ छ । 

यद्यपि मुस्लिम महिलालाई लकडाउनको खासै प्रभाव नपरेको अन्तरधार्मिक महासंघ नेपालकी उपाध्यक्ष सीमा खानले बताइन् । उनी भन्छिन्, ‘महिला पहिले पनि मस्जिद नगई घरमै कुरान पढ्थे । तर, इदका लागि सामान खरिदजस्ता घरेलु काममा लकडाउनले गर्दा पुरुषको भर पर्नुपरेको छ ।’ जनकपुरकी निशान्त अन्जुमको अनुभव पनि त्यस्तै छ । उनी भन्छिन्, ‘हामी पहिले पनि घरमै बस्थ्यौँ, अहिले पनि खासै फरक परेकोचाहिँ छैन ।’