मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ बैशाख २१ आइतबार ०६:२६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

‘संक्रमितको उपचार जीवनकै ठूलो परीक्षा’

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनका योद्धा

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ बैशाख २१ आइतबार ०६:२६:००

बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालकी स्टाफ नर्स हुन् शीतल राजभण्डारी । अस्पतालमा कोभिड–१९ का बिरामी भर्ना भएपछि उनले घर छाड्नुप-यो । र, अस्पतालमै बस्न थालिन् । उनीमार्फत आफूहरूमा पनि कोरोना भाइरस सर्न सक्ने भन्दै छिमेकीको ‘कम्प्लेन’ आयो । त्यसपछि उनी अन्य पाँचजना नर्ससँगै अस्पतालमा बस्न थालिन् । आइसोलेसनमा राखेर उपचार गरिएका दुई बिरामी ठीक भएर घर फिरिसकेका छन् । उनी भने घर जान सकेकी छैनन्, अस्पतालमै बसेर बिरामीको उपचारमा खटिएकी छिन् ।

‘बिरामीको कसरी हेरचाह गर्ने, सुरक्षा सामग्री कसरी प्रयोग गर्ने, सिसिक्यामेराबाट हेर्ने कि प्रत्यक्ष सम्पर्कमा रहने दोधार थियो । पहिलो बिरामीको उपचार हाम्रा लागि जीवनकै ठूलो परीक्षासिद्ध भयो ।’

बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरू कोरोना संक्रमणमा पर्ने जोखिममा त छन् नै, साथमा आफूमार्फत समाजमा रोग फैलिने त्रासमा पनि । घरमा वृद्धवृद्धा, दीर्घरोगीलगायत जोखिम समूहका व्यक्ति भएकाले नर्सहरूका लागि अस्पताल नै उपयुक्त वासस्थान बनेको छ ।

देशभर देखिएका कोभिड–१९ का ५९ बिरामीमध्ये १६ जना उपचारपछि घर फिरिसकेका छन्, अन्य उपचाररत छन् । उनीहरूको उपचारमा खटिएका चिकित्सक र नर्सहरूले घर छाडेका छन्, तर हिम्मत हारेका छैनन् । कतिपय नर्स त करिब डेढ महिनादेखि परिवारको प्रत्यक्ष सम्पर्कबाट टाढा छन् ।

‘सुरुमा त्यति त्रास थिएन, चिकित्सकमा पनि कोरोना भाइरस देखिएका समाचार आउन थालेपछि भने मानिसहरू हामीसँग पनि डराउन थाले,’ शीतल भन्छिन्, ‘त्यसपछि मानिसमा फैलिएको कोरोनाको डर चिर्न हामी अस्पतालमै बस्न थाल्यौँ ।’ उनका अनुसार भाडामा बसेका नर्सहरूलाई घरबेटीले अस्पतालमै बस्न दबाब दिन थाले अनि छिमेकी टाढिन थाले । यहीबीचमा बाग्लुङ अस्पतालका एक चिकित्सकलाई भाइरल इन्फेक्सन देखियो । उनको -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएपछि मात्र सबै स्वास्थ्यकर्मी ढुक्क बने ।

सोही अस्पतालकी नर्स हुन् देवी भट्टराई । चारवटा जिल्लाको केन्द्र भएकाले धौलागिरि अस्पतालमा बिरामीको चाप रहनु स्वाभाविकै हो । शल्यक्रिया, प्रसुतीलगायत सेवा सञ्चालनमै छन् । ‘कोभिड–१९ बाहेकका बिरामी पनि हेर्नुपर्ने भएकाले संक्रमणको जोखिम हुन्छ नै,’ उनी भन्छिन्, ‘सावधानीका लागि पिपिई प्रयोग गरिरहेका छौँ, तर मनमा सधैँ डर रहिरहन्छ।’

अस्पतालमा भर्ना भएकामध्ये पहिलो संक्रमित २० र दोस्रा २७ दिनमा घर फर्केका थिए । उनीहरूको उपचारमा पालो मिलाएर नर्सहरूलाई खटाइएको थियो । अस्पतालमा कोभिड–१९ का बिरामी राख्न १३ वटा आइसोलेसन बेड उपलब्ध छन् । ‘कोभिड–१९ का बिरामीको उपचारका क्रममा ओरिजिनल पिपिई प्रयोग ग-यौँ, अन्य समयमा रेनकोटजस्तै प्रोटेक्टिभ सामग्री, मास्क र पन्जा लगाउँछौँ,’ भट्टराई भन्छिन् ।

‘कोभिड–१९ का बिरामीको उपचारका क्रममा ओरिजिनल पिपिई प्रयोग ग-यौँ । अन्य समयमा रेनकोटजस्तै प्रोटेक्टिभ सामग्री, मास्क र पन्जा लगाउँछौँ ।’

उनका अनुसार अस्पतालमा भर्ना भएका दुवै बिरामीमा कोरोनालाई जित्ने आत्मविश्वास थियो । र, अवस्था पनि सामान्य थियो । ‘बिरामीको आत्मविश्वास देख्दा हामीमा पनि साहस थपिन्थ्यो,’ उनी भन्छिन्, ‘उहाँहरूको सफल उपचारले हामीलाई थप ऊर्जा दिएको छ ।’

धौलागिरि अस्पतालकै सिनियर नर्स हुन्, शान्ति खड्का पौडेल । मानव सभ्यताले इतिहासमा थुप्रै महामारी खेप्दै आएको पढेकी उनलाई कोभिड–१९ त्यस्तै एउटा चुनौतीपूर्ण रोग लागेको छ । भन्छिन्, ‘एकातिर बिरामीलाई बचाउनुछ भने अर्कातिर आफू र आफूमार्फत समाजमा पनि रोग फैलिने हो कि भन्ने चिन्ता पनि छ । स्वास्थ्यकर्मीकै स्वास्थ्यमाथि चुनौती दिएको छ यस महामारीले ।’
तथापि, यो महामारीले धेरै सकारात्मक विषय सिकाएको उनले अनुभव गरेकी छिन् । भन्छिन्, ‘स्वास्थ्यप्रति मानिसको सोचाइमा परिवर्तन आउन थालेको छ ।

सावधानी अपनाउने बानीले कारोना मात्रै होइन, अन्य संक्रमणबाट पनि बचाउने छ ।’ यसअघि बेपरवाह बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा पनि आफूलाई आइसोलेसनमा राखेर काम गर्ने बानीको विकास गराएको उनी बताउँछिन् । नेपालमा कोभिड–१९ का जटिलखाले बिरामी नभेटिनुले अवस्था बिस्तारै सामान्य बन्दै गएको अनुभव गरेकी छिन् उनले।

सोही अस्पतालकी नर्स मिलन बरुवालका अनुसार कोभिड–१९ का पहिलो बिरामी भर्ना हुँदा भर्खरै काम सुरु गरेका स्वास्थ्यकर्मी उनीहरूसँग डराएर रोएका पनि थिए । आफूमा पनि कोरोना भाइरस सर्ने त्रासमा उनीहरू देखिन्थे । ‘एक्कासी कोरोना संक्रमित अस्पताल भर्ना भएपछि राम्रो व्यवस्थापन मिलाउन सकिएन ।

 बिरामीको कसरी हेरचाह गर्ने, सुरक्षा सामग्री कसरी प्रयोग गर्ने, सिसिक्यामेराबाट हेर्ने कि प्रत्यक्ष सम्पर्कमा रहने भन्ने दोधार थियो,’ उनी भन्छिन्, ‘पहिलो बिरामीको उपचार हाम्रा लागि जीवनकै ठूलो परीक्षासिद्ध भयो ।’
पहिलो बिरामी आउँदा अस्पतालको सरसफाइ कर्मचारी र अन्य सपोर्टिङ स्टाफ मात्र होइन, नर्सहरू नै आत्तिएको उनी बताउँछिन् । जबकि, सबैले त्रासरहित देखिएर बिरामीको आत्मबल बढाउन जरुरी थियो । 

बिरामीमा बलियो आत्मविश्वास देखिएपछि बिस्तारै सबैको आत्मबल बढेको उनी बताउँछिन् । ‘कतिपयमा कोरोना संक्रमणको लक्षण नदेखिन पनि सक्छ, अस्पतालमा अन्य बिरामीको चाप पनि छ,’ बरुवाल भन्छिन्, ‘सबै ठाउँमा सुरक्षा सामग्री प्रयोग गरिएको पनि हुँदैन । हामी आफ्नो र परिवारको स्वास्थ्यलाई दाउमा राखेर बिरामीको उपचार गरिरहेका छौँ ।’