डिभिजन वन कार्यालय डोल्पाले पनि यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
शनिबार जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरेर वन कार्यालयमातहतका सम्पूर्ण सामुदायिक वनहरूमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विश्भर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्वसतर्कता अपनाउन यस वर्ष सामुदायिक वन क्षेत्रमा यार्सा संकलनमा प्रतिबन्ध लगाइएको वन अधिकृत जितेन्द्र महतले जानकारी दिए ।
प्रतिबन्धपछि कुनै पनि व्यक्ति वा समूहले पाटनमा पुगेर यार्सागुम्बाको चोरी–पैठारी गरेको पाइए कानुनअनुसार कारबाही गर्नेसमेत अधिकृत महतले बताए । अघिल्लो वर्षसम्म वन कार्यालयमातहत रहेका करिब २० वटा सामुदायिक वनमा यार्सागुम्बा संकलन गरिँदै आएको थियो ।
बैठकमा उपस्थित नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढा र केही जनप्रतिनिधिले जिल्ला प्रवेश गर्ने नाका बन्द गरेर डोल्पालीलाई मात्र यार्सागुम्बा संकलन गर्न दिनुपर्ने धारणा राखेका थिए ।
डोल्पाली जनताको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले संकलन बन्द भएपछि भोलि आइपर्ने खाद्यसंकटका विषयमा तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने नागरिक समाज डोल्पाका अध्यक्ष बुढाले बताए ।
डोल्पालीलाई कोरोनाको महामारीबाट जोगाउनकै लागि यस वर्षको सुरुमै विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएरै यार्सा संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
डोल्पाका पाटनमा हुने यार्सागुम्बाको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकार, सामुदायिक वनलगायतका सरोकारवाला निकायसँग सहकार्य गरेर सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गर्ने सुनारको भनाइ छ ।
यसअघि जिल्ला विपत् व्यवस्थापन समिति र से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारिक निर्णय गरेरै यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।