मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २० शनिबार ११:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेकपामा कलह बढ्दै गर्दा चिनियाँ राजदूत होउ यान्छीको ओली, प्रचण्ड र नेपालसँग भेटवार्ता, नेकपाको एकता र राजनीतिक स्थिरतामा चासो

Read Time : > 2 मिनेट
२०७७ बैशाख २० शनिबार ११:३८:००

नेकपामा आन्तरिक विवाद बढिरहेका वेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता तीव्र पारेकी छिन् । उनले बिहीबार र शुक्रबार ओली, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी हुन् । नेकपाका तीन शीर्ष नेतासँग चिनियाँ राजदूतको भेटवार्तालाई राजनीतिक र कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । 

कूटनीतिक स्रोतका अनुसार राजदूत यान्छीले चीनको चासो भन्दै नेकपाको एकता र नेपालमा राजनीतिक स्थिरतामा जोड दिएकी छिन् । भेटवार्ताबारे जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘शीर्ष नेताहरू मिलेर नेकपाको आन्तरिक विवाद समाधान होस् भन्ने चीनले चाहेको सन्देश आएको छ । अनि सदाझैँ नेपालको राजनीतिक स्थिरता थप सुदृढ होस् भन्ने चीनको चाहना व्यक्त भएको छ ।’

नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग चिनियाँ राजदूतले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे छलफल गरेको बताए । ‘संकटको समयमा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएर चीनले गरेको सहयोगप्रति शीर्ष नेताहरूले धन्यवाद दिनुभएको छ,’ उनले भने । भेटवार्तामा भएका राजनीतिक विषयवस्तुबारे उपप्रमुख रिजालले अनभिज्ञता व्यक्त गरे । प्रधानमन्त्रीको सचिवालय र चिनियाँ दूतावासले भेटवार्ताबारे औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् । तर, चिनियाँ दूतावास स्रोतले भेटवार्ता नियमित भएको र पछिल्ला घटनाक्रमबारे छलफल भएको बतायो ।

नेकपाको विवादमा चीनको चासो
चिनियाँ राजदूत यान्छीले नेकपाभित्र सरकार परिवर्तनलगायत विषयमा भएका छलफलबारे चासो राखे पनि चीनको धारणा राखेकी छैनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने र नेकपाको एकीकरण प्रक्रिया पूरा भएर पार्टी थप मजबुत हुने धारणा राखेका छन् । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले पनि अहिलेको बहस पार्टी एकता र राजनीतिक स्थिरता थप सुनिश्चित हुने ढंगले अघि बढेको बताएका थिए । नेकपाको एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध बढेको छ । उनीहरूबीच संयुक्त प्रशिक्षणको तहसम्म सम्बन्ध अघि बढेको अवस्थामा नेकपाको विवादमा चिनियाँ कम्युनिस्ट पार्टीले राजदूत यान्छीमार्फत चासो राखेको छ ।

राजदूत यान्छीलाई नेकपाका शीर्ष नेताले सरकारको नेतृत्व फेरबदलले राजनीतिक स्थिरता तल–माथि नहुने आशय व्यक्त गरेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओली एवं पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले कोरोना महामारी नियन्त्रण गरेकोमा चीनलाई बधाई दिएका छन् । कोरोना नियन्त्रणको सरकारी प्रयासको सराहना गर्दै राजदूत यान्छीले चीनबाट थप स्वास्थ्य सामग्री अनुदानका रूपमा आउने जानकारी गराएकी छिन् । 

चिनियाँ राजदूत यान्छीको पछिल्लो सक्रियताबारे परराष्ट्र मन्त्रालय औपचारिक रूपमा बेखबर छ । यान्छी १५ वैशाखमा साँझ राष्ट्रपति भवन शीतलनिवास पुगेकी थिइन् । राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरणका लागि उनी शीतलनिवास गएको कूटनीतिक स्रोतले बतायो । सीले कोरोना महामारीको परिस्थितिबारे विभिन्न देशका समकक्षीसँग संवाद गर्ने क्रममा १५ वैशाखमा राष्ट्रपति भण्डारीलाई टेलिफोन गरेका थिए ।

शीतलनिवासमा त्यसवेला चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी एसिया डिभिजन प्रमुख कालीप्रसाद पोखरेललगायत करिब एक दर्जन अधिकारी थिए । दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच बेग्लै छलफल नभएको शीतलनिवास स्रोतले बतायो ।

चिनियाँ नेतासँग संवाद बाक्लिँदै
दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले दुईपटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच १७ वैशाखमा करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा ताओले कोरोना महामारीमाथि पश्चिमा मुलुकले चीनविरुद्ध राजनीतीकरण गरेको आरोप लगाउँदै चीनले ऐक्यबद्धता खोजेको बताएका थिए । नेता माधवकुमार नेपालले चिनियाँ धारणामा नेपालको पनि समर्थन र ऐक्यबद्धता रहेको जवाफ दिएका थिए ।

नेपाललाई चीनका तिब्बत, सिचुवान, ग्वान्दोङलगायत प्रान्तबाट स्वास्थ्य सामग्री अनुदानमा आइरहेका छन् भने चीनबाट नेपाली सेनाले जिटुजीमा तीन सय ४२ टन स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने क्रममा छ । स्वास्थ्य संकटका वेला नेपालले चीनसँग भरोसा गर्नुपर्ने अवस्था रहेको र राजनीतिक संकटका वेला चिनियाँ राजदूत सक्रिय हुनुपर्ने अवस्थालाई सामान्य भन्न नमिल्ने एकजना उच्च कूटनीतिक अधिकारीले टिप्पणी गरे । ‘चीनसँग पछिल्लो समयमा राजनीतिक, कूटनीतिक र सैन्य (रणनीतिक) सक्रियता बढेको छ । यसलाई नेपालले आफ्नो हितमा बदल्न सक्नुपर्छ । नेपाललाई भूराजनीतिक खेलमैदान बनाउन दिनुहुँदैन,’ नाम उल्लेख नगर्ने ती कूटनीतिज्ञले नयाँ पत्रिकासँग भने ।