१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सिद्धार्थ भाटिया
२०७७ बैशाख १९ शुक्रबार ०६:२०:००
Read Time : > 5 मिनेट
सप्तरंग

अबिचुरी : बलिउडका ‘बबी’को महाप्रस्थान

Read Time : > 5 मिनेट
सिद्धार्थ भाटिया
२०७७ बैशाख १९ शुक्रबार ०६:२०:००

०४५ सालतिर नेपालमा भर्खरै पर्यटकीय गतिविधि र फिल्मी पत्रकारिता उठ्दै थिए । त्यतिवेला बलिउड फिल्म ‘खोज’को सुटिङ नगरकोट, साँखु र धुलिखेलमा गरियो ।

केशु रामसेको निर्देशन रहेको फिल्ममा ऋषि कपुर, नसिरुद्दिन शाह, किमी काटकर, डेनी डेन्जोङ्पाको अभिनय थियो । र, सुटिङका दौरान उनीहरूले काठमाडौंको सेरोफेरोमा केही समय बिताएका थिए । यस फिल्मले नगरकोट, धुलिखेल र साँखुको पर्यटकीय आकर्षणलाई विदेशी पर्यटकमाझ चिनाएको मानिन्छ ।

०४६ सालमा प्रदर्शनमा आएको यो फिल्मको कथा रवि (ऋषि) र अनिता (किमी) छुट्टी मनाउन काठमाडौं आएका वेला अनिता बेपत्ता हुने र उनलाई खोज्न गरिएको प्रयत्न अनि अनिता भएको दाबी गर्ने युवतीलगायतमा घुमेको छ । ५ मे २०१५ मा सोही फिल्म सुटिङको स्मरण गर्दै उनले ट्विट्मा लेखेका थिए, नेपाललाई मेरो समर्पण ।

सोही फिल्मका मुख्य अभिनेता कपुरको बिहीबार ६७ वर्षको उमेरमा ऋषिको बोनम्यारो क्यान्सरका कारण मुम्बईमा निधन भएको छ । उनी ४ सेप्टेम्बर १९५२ मा मुम्बईको चेम्बुरमा जन्मेका थिए । उनका दाइ रणधीर कपुरले ऋषिको उपनाम राखिदिएका थिए चिन्टु । सोही उपनामबाट कपुर खानदानका युवा सदस्यहरूले पनि उनलाई ‘चिन्टु अंकल’का रूपमा बोलाउँथे । 

बाल कलाकारदेखि ‘शर्माजी नमकिन’सम्म

ऋषिले बाल कलाकारका रूपमा अभिनय यात्रा थालेका थिए । सन् १९७० मा पिता राज कपुरको फिल्म ‘मेरा नाम जोकर’मा देखिएका थिए । त्यसअघि सन् १९५५ मा फिल्म ‘श्री ४२०’मा उनी ‘प्यार हुआ इकरार हुआ’ गीतमा देखिएका थिए । मुख्य अभिनेताका रूपमा भने सन् १९७३ मा फिल्म ‘बबी’मार्फत डेब्यु गरेका थिए । उनको पहिलो फिल्म नै हिट बन्यो । 

हालसम्म एक सय ५२ वटा फिल्ममा अभिनय गरेका उनीद्वारा अभिनीत सिनेमा ‘द बडी’ १३ डिसेम्बर २०१९ मा प्रदर्शनमा आएको थियो । यस फिल्ममा उनी एसपी जयराज रावलको भूमिकामा छन् । पछिल्लो समय उनी फिल्म ‘शर्माजी नमकिन’को सुटिङमा व्यस्त थिए । उक्त फिल्ममार्फत अभिनेत्री जुही चावलासँग लामो समयपछि एकसाथ देखिँदै थिए । 

‘खुल्लमखुल्ला’ जिन्दगी

ऋषि सधैँ आफ्नो कुरा खुलेर राख्थे । १५ जनवरी २०१७ मा विमोचन भएको आत्मकथा ‘खुल्लमखुल्ला ः ऋषि कपुर अन्सेसर्ड’मा उनले आफ्नो निजी जीवनका धेरै पाटो खुलासा गरेका थिए ।

०४६ सालमा प्रदर्शनमा आएको ऋषि कपुर अभिनीत फिल्म ‘खोज’को सुटिङ नगरकोट, साँखु र धुलिखेलमा भएको थियो । ५ मे २०१५ मा सोही फिल्म सुटिङको स्मरण गर्दै उनले ट्विट्मा लेखेका थिए, नेपाललाई मेरो समर्पण ।

पिता राज कपुरको निजी जीवनदेखि श्रीमती नितु सिंहभन्दा अगाडिको प्रेमसम्बन्धबारे पनि खुलस्त पारेका थिए पुस्तकमा । छोरा रणवीर कपुरबारे पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । र, सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘बर्फी’बाट मात्र छोराको अभिनय कौशलप्रति विश्वस्त बनेको उल्लेख गरेका थिए ।

पत्नी नितुअघि प्रेम बसेकी युवती यास्मिन मेहताले आफूलाई फिल्म ‘बबी’की को–स्टार डिम्पल कपाडियासँग नजिकिएको अनुमानमा आफूलाई त्यागेको उल्लेख गरेका छन् । ‘सत्यचाहिँ मैले कहिल्यै डिम्पललाई प्रेम गरेको थिइनँ,’ उनले लेखेका छन् ।

आत्मकथामा उनले ३० हजार भारतीय रुपैयाँमा फिल्मफेयर अवार्ड खरिद गरेको उल्लेख गर्न पनि छाडेका छैनन् । त्यो अवार्ड फिल्म ‘बबी’का लागि थियो । बलिउड अभिनेता अभिताभ बच्चन र उनी आफ्नो समयका प्रतिस्पर्धी थिए । सोही प्रतिस्पर्धाका कारण उनीहरूको सम्बन्धमा पनि दरार आयो । तर, समयले पुरानो घाउ पुर्दै गयो । र, उनीहरू असल मित्र बने । दुवैजनाको अभिनय रहेको फिल्म ‘कभी­–कभी’ सुपर हिट बन्यो । आफूले उक्त फिल्ममा अभिनय गर्न झन्डै अस्वीकार गरेको आत्मकथामा खुलाएका छन् ।

 सामाजिक सञ्जालमा सक्रियता

ऋषि ट्विटरमा एकदमै सक्रिय थिए । जनवरी २०१० मा खोलेको उनको ट्विटर ह्यान्डलका ३५ लाख फलोअर छन् । २ अप्रिलपछि उनी ट्विटरमा सक्रिय थिएनन् । त्यस दिन चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रहरीमाथि ढुंगामुढा नगर्न अपिल गरेको ट्विट् नै अन्तिम बन्यो । सामाजिक, राजनीतिक विषयवस्तुमा उनी खरो भाषामा ट्विट् गर्थे । 

उनको ट्विटर ह्यान्डल पनि विवाद र चर्चाको घेरामा रह्यो सधैँ । अभिनेता सलमान खानलाई ‘हिट एन्ड रन’ मुद्दामा अदालतले सुनाएको सजायका सन्दर्भमा उनले गरेको ट्विट्का कारण विवाद उत्पन्न भयो । र, उनले आफ्नो ह्यान्डल नै बन्द गरे, एक दिनका लागि ।

स्पष्ट र इमानदार विचार राख्ने भएकैले उनी पटक–पटक सामाजिक सञ्जालमा ट्रोलको सिकार भए । उनका मध्यरातका ट्विट् निकै हास्यपूर्ण हुन्थे । ट्विट्कै कारण समस्यामा परिरहन्थे उनी ।

राम्रो अभिनेता उमेरसँगै निखारिँदै आउँछ भन्ने प्रमाणित गरे

रोमान्टिक प्रेमीको भूमिकाका लागि चर्चित पुरुष सुपरस्टारका लागि उमेर ढल्कँदै जाँदा विकल्प साँघुरिँदै जान्छन् । ती आफ्नो छवि कायम राख्ने प्रयासमा या त आफूभन्दा निकै कम उमेरका युवतीसँग पर्दामा माया साटिरहेका हुन्छन् या बिस्तारै पछिल्लो पुस्ताका कलाकारका पिताको भूमिका स्विकार्न थाल्छन् । ऋषि कपुरले पहिलो मार्ग अवलम्बन गरे । सन् १९८९ मा आएको आफ्नो अन्तिम सुपरहिट फिल्म ‘चाँदनी’पछि पनि उनले युवा रोमान्टिक नायकको भूमिका निभाइरहे । चाँदनी प्रदर्शनमा आउँदा उनी ४० वर्ष हाराहारी पुगिसकेका थिए । 

त्यसपछिको उल्लेखनीय फिल्म ‘दामिनी’ खासमा नायिका–प्रधान थियो भने ‘प्यारमे ट्विस्ट’ र ‘इज्जतकी रोटी’ खासै प्रभावकारी भएनन् । त्यसपछि पनि उनी रोमान्टिक प्रेमीको भूमिकामा अभिनय गरिरहेका थिए । तर, नयाँ पुस्ताका कयौँ सशक्त अभिनेताको आगमनपछि उनका रोमान्टिक भूमिकाका दिन सकिए । तर, कपुरको अभिनय प्रतिभा लामो समय ओझेलमा पर्ने खालको थिएन । 

दर्शकले झन्डै बिर्सिसकेको समयमा ऋषि कपुरले ‘लक बाई चान्स’बाट अभिनयको दोस्रो पारी सुरु गरे, यस अवधिमा उनका कैयौँ सशक्त फिल्महरू आए ।

एकजना राम्रो निर्देशक तथा चुनौतीपूर्ण भूमिकाका साथ उनी ‘लक बाई चान्स (२००९)’मा प्रभावशाली रूपमा पर्दामा फर्किए । फिल्ममा उनले घमन्डी फिल्म निर्माता रोमी रोलीको भूमिका निभाएका छन्, जसमा अत्यधिक भय र अन्धविश्वास देखिन्छ । सन् २०१० मा कपुरले राकेश ओमप्रकाश मेहराको ‘दिल्ली–६’मा अभिषेक बच्चन र सोनम कपुरसँग अभिनय गरे । यसरी अनपेक्षित रूपमा पर्दामा उनको पुनरागमन भयो । यसक्रममा उनका काम युवा कलाकारका लागि पनि शिक्षाप्रद थिए ।

निश्चित रूपमा ऋषि कपुर बलिउडको कपुर खानदानका एक सदस्य भएकाले फिल्ममा आउन सजिलो भयो । पृथ्वीराज कपुरबाट सुरु भएको यो फिल्मी वंश अहिले चौथो पुस्तामा पनि उत्तिकै सशक्त देखिन्छ । अरू कपुरजस्तै ऋषिमा पनि आरामदायी जीवनप्रतिको उच्च लगाव देखिन्थ्यो । त्यो उनको खानपानमा थप झल्किन्थ्यो । ऋषि स्वभावले रमाइला व्यक्ति थिए, जुन पछिल्लो समय उनको उपचारमा संलग्न चिकित्सकहरूले पनि महसुस गरेका थिए । चिकित्सकका अनुसार ऋषिले अस्पताल बसाइको अन्तिमसम्म पनि तिनीहरूलाई हँसाइरहे ।

पर्दाको पहिलो उपस्थितिदेखि ऋषिले फिल्मी दुनियाँमा लामो यात्रा तय गरे । उनी आफ्ना दाइ र दिदीसँगै पिता राज कपुरको चर्चित फिल्म ‘श्री ४२०’मा छोटो तर स्मरणीय भूमिकामा पहिलोपटक देखिएका थिए । फिल्मको ‘प्यार हुवा इकरार हुवा है’ भन्ने चर्चित गीतको एक दृश्यमा तीन दाजु, बहिनी र भाइ पानीमा रेनकोट लगाएर हिँडिरहेको देखिन्छ । यो दृश्यलाई धेरै फिल्मप्रेमीले लामो समयसम्म सम्झिनेछन् ।

उनको पहिलो लामो भूमिका ‘मेरा नाम जोकर’मा देखियो । तीन भागमा एउटा जोकरको कथा भन्ने यो लामो फिल्ममा ऋषि कपुर किशोरकालीन भूमिकामा छन् । आफ्नी शिक्षिकाप्रति आकर्षित हुने उमेरवयमा उनको पात्रले पहिलो यौन जागरण अनुभव गर्छ । उनले त्यस पात्रलाई असाधारण रूपमा निभाएका छन् । त्यसैले, फिल्म हुँदा पनि उनले उत्कृष्ट बाल कलाकारका रूपमा भारतको राष्ट्रिय पुरस्कार पाए । 

उनका पिताले निर्देशन गरेको किशोर प्रेमसम्बन्धी फिल्म ‘बबी’ नयाँ पुस्तामाझ निकै लोकप्रिय भयो । ऋषि कपुर र डिम्पल कपाडियाको क्युट जोडी र फिल्मको संगीत युवा भारतीयको मनमुटुमा छायो । फिल्म ब्लक–बस्टर साबित भयो र यसबाट ‘मेरा नाम जोकर’को घाटालाई पूर्ति ग-यो । अनि, ऋषि कपुर रातारात भारतको चर्चित ‘लभर ब्वाई’ बने । उनका फिल्म हेरेका युवा दर्शक उनको पहिचान बनेको रंगीन स्वेटरमा देखिन थाले । उनको उत्कृष्ट नृत्य कौशल उनको सफलताका लागि सहायक साबित भयो । विशेषतः ‘कर्ज’ र ‘संगम’जस्ता फिल्ममा उनको नृत्य भरपुर उपयोग भएको छ ।

ऋषि कपुर ती थोरै अभिनेतामध्ये एक थिए, जसलाई अभिताभ बच्चन नामको आँधीले उडाएन । कपुर यस्ता कलाकार थिए, जसको स्थान उनैले मात्र पूर्ति गर्न सक्थे । पछि बच्चन र कपुरले ‘अमर अकबर एन्थोनी’, ‘नसिब’ र ‘कुली’जस्ता धेरै फिल्ममा काम गरे । ती फिल्ममा उनले आफ्नो निर्दोष हास्यचेतमार्फत एक सुपरस्टार (बच्चन)को उपस्थितिमाझ पनि अलग पहिचान कायम राखे । 

बलिउडमा सन् १९८० को दशक भव्य भिजिलान्ते फिल्मको दशक रह्यो, यसवेलाका कपुरका धेरैजसो फिल्म औसत रहे । सन् १९८५ मा डिम्पल कपाडियाको पुनरागमन भएको फिल्म ‘सागर’मा रमेश सिप्पीले यी दुई जोडीको पुरानो जादु पर्दामा उतार्ने प्रयास गरेका थिए, तर सफल भएनन् । त्यसको चार वर्षपछि ‘चाँदनी’ आयो । यश चोपडाको लभ ट्र्यांगल, महँगा कपडा, गरगहना र स्विट्जरल्यान्ड सूत्रको संगमले पुनः काम ग-यो ।

बीचमा लामो समयको ग्यापमा दर्शकले लगभग बिर्सिएका उनी ‘लक बाई चान्स’बाट फिल्मी दुनियाँमा फर्किए । त्यसपछि उनी निर्माताहरूका आँखाको नानी बने । ‘दो दुनी चार’, ‘हाउसफुल–२’, ‘शुद्ध देशी रोमान्स’, ‘१०२ नट आउट’ (जसमा उनी पुराना मित्र अमिताभ बच्चनसँग देखिएका छन्), ‘कपुर एन्ड सन्स’ र ‘मुल्क’ उनले पछिल्लो समय अभिनय गरेका फिल्म हुन् । ‘मुल्क’मा कपुरले एक मुसलमान पात्रका रूपमा शक्तिशाली भूमिका निभाएका छन् अभिनयको दोस्रो पारीमा उनले गम्भीरदेखि रमाइलो भूमिकासम्ममा अभिनय गरे ।

 ‘अग्निपथ’को रिमेकमा उनी अन्डरवर्ड डनको भूमिकामा छन् । यही व्यस्तताबीच सन् २०१८ मा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । र, उपचारका लागि उनी न्युयोर्क गए । एक वर्षपछि उनी फर्किंदा पनि निर्माताहरू उनलाई पर्खिरहेका थिए । यसबीच उनी संलग्न तीन फिल्म निर्माणमा गए । तर, उनको अवस्था केही दिनअघि बिग्रियो र बिहीबार क्यान्सरले उनको ज्यान लियो ।

(सिद्धार्थ भाटिया भारतीय अनलाइन पोर्टल द वायर’का सहसंस्थापक हुन् ।)