१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख १९ शुक्रबार ०५:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बाख्रा चराउन गएका अबोध चार बालबालिकाको बम विस्फोटमा मृत्यु 

बालबालिका विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

Read Time : > 1 मिनेट
२०७७ बैशाख १९ शुक्रबार ०५:३३:००

रोल्पाको त्रिवेणी गाउँपालिका गैरीगाउँका बालबालिका जंगलबाट फर्किँदै थिए, एकैघरका दिदीभाइसहित चारजना घर पुग्न पाएनन्

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको मृत्यु भएको छ । गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो । 

जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् । बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

‘बाख्रा चराउन गएको जंगलबाट घटनास्थल एक किलोमिटर दूरीमा छ, देख्ने कोही नभएको र सबै बालबालिकाको ज्यान गएकाले बम जंगलबाटै ल्याएका थिए वा घटनास्थलमै थियो भन्ने स्पष्ट छैन,’ अध्यक्ष ओलीले भने, ‘घटनास्थलमा अर्को बम पनि भेटिएको छ । 

उनका अनुसार घटनास्थल वरपर बस्ती नभए पनि मान्छेहरू भने हिँडिरहने ठाउँ हो । विगतमा त्यहाँ शंकास्पद वस्तु नदेखिएकाले बालबालिकाले जंगलबाटै ल्याएको हुन सक्ने उनको आशंका छ । साँझ ६ बजेतिर विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । 

प्रदेश ५ प्रहरी कार्यालयका डिएसपी नवराज पोख्रेलले साँझ अबेरसम्म विस्फोटको पूर्ण विवरण आउन नसकेको बताए । ‘हामीले घटनाको जानकारी पाउनेबित्तिकै नुवागाउँ र जुँगारबाट इन्स्पेक्टरको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाएका छौँ, तर पानी परेका कारण बाटो चिप्लो भएर पुग्न ढिला भएको छ,’ उनले भने । डिएसपी पोख्रेलले विस्फोट भएको बम टुइन्च मोर्टारजस्तो भएको बताए । तर, हालको हो वा युद्धकालीन भन्ने पुष्टि अनुसन्धानपछि मात्रै हुन सक्ने उनको भनाइ छ । 

बालबालिका विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो । 

‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको भनिएको छ । तत्कालीन युद्धमा यस्तो बम पनि प्रयोग भएका थिए, शाही सेनाले धेरै प्रयोग गरेको थियो । तर, यो बम यति लामो अवधिसम्म टिक्न सक्दैन,’ कुँवरले भने, ‘चार्जका आधारमा चल्ने बम यत्रो अवधिसम्म घाम र पानीमा परेर पनि चल्नु नपर्ने । मलाई त उहिलेको हो जस्तो लाग्दैन । तर, अनुसन्धानपछि स्पष्ट होला ।’