मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १८ बिहीबार २१:४३:००
Read Time : > 2 मिनेट
समाचार

कोभिड– १९ विरुद्ध नेपाल र भारत अविभाजित : राजदूत आचार्य

उद्योगी भन्छन् : कृषि पर्यटनमा सहकार्य गरौं

Read Time : > 2 मिनेट
२०७७ बैशाख १८ बिहीबार २१:४३:००

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कोभिड– १९ ले नेपाल र भारतका जनताको जीविकोपार्जन र जीवन एक–अर्कोबीच अविभाजित पुष्टि गरेको बताएका छन् । बिहीबार भारतको पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीले आयोजना गरेको वेविनारमा राजदूत आचार्यले संकटका वेला दुई देशबीच सहकार्य उदाहरणीय र उल्लेखनीय रहेको पनि टिप्पणी गरेका छन् । कार्यक्रममा दुवै देशका उद्योगीहरूले कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपाल र भारतका सबै तहबीच सहकार्यमा जोड दिएका छन् । 

भिडियो कन्फ्रेन्समार्फत आयोजित कार्यक्रममा पठाएको लिखित सम्बोधनमा राजदूत आचार्यले नेपाल र भारतले लकडाउनजस्तो उपाय अपनाउन कठिन भएको, तर नेतृत्वले लिएको कठोर निर्णयलाई सबैले स्वागत र समर्थन गरेको पनि उल्लेख गरे । ‘दुवै देशको नेतृत्वले कोरोना नियन्त्रण तथा फैलावटमा रोकथामका लागि उदाहरणीय सहकार्य गरेका छन्, नेतृत्वकै निर्णय क्षमताका कारण पश्चिमका विकसित मुलुकको जस्तो खराब अवस्था हाम्रा जनताको छैन,’ राजदूत आचार्यले भने । कोरोनाविरुद्धको लडाइँमा नेपाल र भारतले समान तरिका अपनाएको पनि उनको भनाइ थियो । 

पिएचडी चेम्बर अफ कमर्सका डेपुटी सेक्रेटरी अतुलकुमार ठाकुरका अनुसार राजदूत आचार्यले खुला सिमानामा आवतजावत बन्द भएको, तर आपूर्ति व्यवस्था दुरुस्त राखिएको तथा भन्सार सुविधा प्रभावकारी बनाइएको पनि उल्लेख गरे । राजदूत आचार्यले नेपाल र भारतले लकडाउनका वेला एक–अर्काका नागरिकको प्रभावकारी व्यवस्थापन गरेको र नागरिक रहेका स्थानमा मानवीय सहायता गरिएको पनि जिकिर गरे । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कका नेताहरूबीच संवादमार्फत कोभिड– १९ विरुद्ध क्षेत्रीय ऐक्यबद्धता निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आचार्यले भारतले नेपाललाई पनि औषधि र स्वास्थय सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले भने, ‘हामीलाई थाहा छ कि भारत आफैँलाई स्वास्थ्य सामग्री र औषधिको आवश्यकता हुँदाहुँदै पनि मित्रताको रूपमा भारतले सही मित्रता र असली छिमेकपनको उदाहरण पेस गरेको छ ।’ 

दुवै देशसामु गरिब जनताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने, बाहिरबाट हुने कामदारहरूको आप्रवासन व्यवस्थापन गर्ने, वैज्ञानिक तथा आधुनिक कृषि उत्पादन बढाउने, पर्यटन उद्योग सुचारु गर्ने, कृषि उद्योग स्थापना गर्ने, परियोजनाका काम सुचारु गर्नेलगायतका चुनौती विद्यमान रहेको उनको भनाइ थियो । कोभिडपछिको अवस्थामा नेपालले भारतबाट थप लगानीको अपेक्षा गरेको पनि राजदूत आचार्यले बताए । दुवै देशका निजी क्षेत्रले यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि राजदूत आचार्यले बताए । 

योजना आयोगका सदस्य सुशील भट्टले कोभिड– १९ को महामारीसँग लड्न नेपाल र भारतबीच भइरहेको सहकार्य सकारात्मक रहेको र यसलाई थप सुदृढ बनाउनुपर्ने बताए । उनले साझा चुनौती सामना गर्न सहकार्य हुनुपर्ने र अब स्वास्थ्य कूटनीति सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो । कोभिड– १९ ले आर्थिक क्षेत्रमा पार्ने प्रभावको मूल्यांकनसहित आगामी बजेटको तयारी भइरहेको पनि भट्टले जानकारी दिए । 

नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले नेपालले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि चालेको कदम प्रभावकारी भएको भन्दै प्रशंसा गरे । उनले कोभिड– १९ ले उतपन्न गरेको चुनौती सामना गर्न नेपाल र भारतका निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने पनि उल्लेख गरे । अर्को प्रसंगमा राजनले भारतले दक्षीण एसियाली क्षेत्रीय एकताको महत्वलाई पुनर्पुष्टि गरेको र सार्कलाई महत्व दिएको पनि उल्लेख गरे । 

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोभिड– १९ पछिको अवस्थामा नेपाल र भारतबीच कृषि, पर्यटन, क्षमता विकासलगायतका क्षेत्रमा सहकार्य हुनुपर्नेमा जोड दिए । उनले लकडाउनका नाममा आर्थिक गतिविधि ठप्प भएको भन्दै यो परिवेशको अन्त्य हुनुपर्नेमा जोड दिए । अग्रवालले आधारभूत स्वास्थ्य सावधानीको ग्यारेन्टी गरेर राजश्व उठ्ने क्षेत्र तथा आर्थिक गतिविधिलाई खुला गर्नुपर्ने बताए । कार्यक्रममा सेनाका पूर्वउपरथी विनोज बस्न्यातले दुवै देशबीच कोरोना भाइरसपछिको साझा रणनीति तय हुनुपर्नेमा जोड दिए । 

भारतको जलविद्युत् उत्पादक कम्पनी एनएचपिसीका अध्यक्ष तथा प्रबन्ध–निर्देशक अभयकुमार सिंहले कोभिड– १९ को मार जलविद्युत् उत्पादनको क्षेत्रमा पनि परेको उल्लेख गर्दै नेपालको कर्णाली बेसिनमा स्टोरेजमा आधारित जलविद्युत परियोजनाको सम्भावना अध्ययन गरिरहेको जानकारी दिए ।  

नेपाल एसबिआई बैंकका प्रबन्ध–निर्देशक अनुकूल भठटनागर, नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, पिएचडी चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष अनिल खेतानलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।