मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ बैशाख १८ बिहीबार ०७:३५:००
Read Time : > 3 मिनेट
अर्थ

सरकारको आधिकारिक प्रक्षेपण : आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत

आर्थिक वृद्धिमा कोरोनाको प्रभाव सुरु नहुँदै अर्थतन्त्र कमजोर, पहिलो त्रैमासमा ४ दशमलव ४५ र दोस्रोमा ६ प्रतिशत मात्रै आर्थिक वृद्धि थियो

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ बैशाख १८ बिहीबार ०७:३५:००

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७६-७७ मा २ दशमलव २७ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालू आवको सातदेखि नौ महिनासम्मको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडाका आधारमा यो प्रक्षेपण गरिएको हो । यसअघि लगातार तीन वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धि भएकोमा चौथो वर्ष त्यसमा बे्रक लाग्ने भएको छ । 

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीका कारण आर्थिक वृद्धिदर कमजोर भएको छ । तर, नेपालमा खासगरी चैतपछि मात्रै सुरु भएको कोरोनाको प्रभावले मात्रै वृद्धिदर कमजोर भएको होइन । चालू आवको पहिलो त्रैमासमा र दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर क्रमशः ४ दशमलव ४५ प्रतिशत र ६ प्रतिशत थियो, जुन सरकारको लक्ष्यभन्दा धेरै कम हो । सरकारले यस आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । 

गत आव ०७५-७६ मा ६ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको पनि तथ्यांक विभागले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष ०७४-७५ मा ६ दशमलव ३५ प्रतिशत आर्थिक वृद्धिदर कायम भएको थियो । त्यसअघि आव ०७३-७४ मा ७ दशमलव ७४ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । 

हाल विश्वमा देखिएको कोभिड–१९ को महामारीले अर्थतन्त्रमा पर्ने असर कति अवधिसम्म रहला भन्ने अनुमान गर्न नसकिने अवस्थामा जेठबाट क्रमशः आर्थिक क्रियाकलाप नियमित हुने विश्वासमा यो प्रक्षेपण गरेको तथ्यांक विभागको भनाइ छ । चालू आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्रमा कोरोनाको प्रभाव अत्यधिक रहेको विभागको तथ्यांकले देखाएको छ । 

यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतसम्म आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्राकोषले २ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो । 

अर्थतन्त्रमा प्राथमिक क्षेत्रको योगदान बढ्यो 

गत आर्थिक वर्षमा कृषि क्षेत्रका जिडिपीको २६ दशमलव ९८ हिस्सा ओगटेकोमा चालू आवमा बढेर २७ दशमलव ०८ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा प्राथमिक क्षेत्रको योगदानमा निरन्तर कमी आइरहेकामा कृषिको योगदान बढेसँगै यस वर्ष भने सीमान्त रूपमा बढ्ने भएको छ ।

प्राथमिक क्षेत्रमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन पर्छन् । चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २८ दशमलव २० प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन गत आवमा २८ दशमलव १२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको वृद्धिदर २ दशमलव ५४ प्रतिशत हुने अनुमान छ । 

त्यस्तै, निर्माण, उद्योग, विद्युत्, ग्यास तथा पानी पर्ने द्वितीयक क्षेत्रको अर्थतन्त्रमा योगदान भने घट्ने भएको छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १३ दशमलव ७२ प्रतिशत योगदान दिने अनुमान छ, जुन गत आवमा १४ दशमलव ४ प्रतिशत थियो ।

अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको वृद्धिदर स्थिर मूल्यमा ३ दशमलव ३६ प्रतिशतले वृद्धि हुने अनुमान छ । ऊर्जा क्षेत्रको विस्तार भए पनि कोभिड–१९ को असरलाई न्यून गर्न गरिएका प्रयासबाट आपूर्ति प्रणालीमा आएको अवरोध तथा उत्पादनमा आएको कमीले वृद्धिदरमा प्रभाव पारेको हो । 

सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटेल, रेस्टुरेन्ट, यातायात सञ्चार, भण्डारण वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासनलगायत पर्छन् । चालू आवमा यस क्षेत्रले जिडिपीमा ५८ दशमलव ०८ प्रतिशत योगदान दिने अनुमान छ, जुन गत आवमा ५७ दशमलव ४१ प्रतिशत थियो ।

गत आवको तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा १ दशमलव ९९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा हेभी यातायातमा कोभिड–१९ को महामारीले गर्दा प्रत्यक्ष असर परेको देखिन्छ । 

होटेल, यातायात र उद्योग ऋणात्मक

चालू आवमा होटेल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण र उद्योग क्षेत्र उच्च रूपमा ऋणात्मक हुने भएका छन् । चालू आवमा होटेल तथा रेस्टुरेन्ट क्षेत्र माइनस १६ दशमलव ३० प्रतिशतले ऋणात्मक हुने अनुमान विभागले गरेको छ । कोभिडका कारण बाह्य र आन्तरिक पर्यटकको आवागमनमा आएको अवरोधले यस क्षेत्रको अभिवृद्धि ऋणात्मक रहने अनुमान छ ।

त्यस्तै, यातायात सञ्चार तथा भण्डारण क्षेत्रमा माइनस २ दशमलव ४५ प्रतिशतले कमी आउने अनुमान छ । उद्योग क्षेत्र भने माइनस २ दशमलव २७ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण विभागको छ । खानी तथा उत्खनन माइनस शून्य दशमलव ६९ प्रतिशतले र निर्माण क्षेत्र माइनस शून्य दशमलव ३१ प्रतिशतले न्यून हुने प्रक्षेपण विभागले गरेको छ । 

राष्ट्रिय बचत घट्यो

केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय बचत १८ दशमलव १० प्रतिशत पुगेको छ । यो अघिल्लो आवको तुलनामा न्यून हो । अघिल्लो आवमा राष्ट्रिय बचत २०.४८ प्रतिशत थियो । त्यसभन्दा पनि अघिल्लो आवमा यो १७.८१ प्रतिशत थियो । नेपालीको आम्दानी केवल उपभोगमा सीमित रहेको आरोप लाग्दै आएको छ । 

रेमिट्यान्स उच्च रूपमा घट्ने 

केन्द्रीय तथ्यांक विभागले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्समा उच्च रूपमा कमी आउने प्रक्षेपण पनि गरेको छ । चालू आवमा ७ खर्ब १६ अर्ब मात्रै रेमिट्यान्स भित्रिने अनुमान विभागले गरेको छ । यो गत आवको तुलनामा १ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १८ दशमलव ५४ प्रतिशत कम हो । रेमिट्यान्स आप्रवाहमा कमी आएसँगै कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको अनुपातसमेत २५ दशमलव ४२ प्रतिशतले घटेर १९ प्रतिशतमा सीमित हुने भएको छ ।