मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १८ बिहीबार ०६:३२:००
Read Time : > 2 मिनेट
खेलकुद

विपन्न परिवारलाई खेलाडीको साथ

Read Time : > 2 मिनेट
२०७७ बैशाख १८ बिहीबार ०६:३२:००

कराते खेलाडी मण्डेकाजी श्रेष्ठको दैनिकी फेरिएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई दुई स्वर्ण दिलाएका यी स्टार खेलाडी घरबाट सबेरै निस्कन्छन् । फर्किने समयको टुंगो हुँदैन । व्यस्तता यतिसम्म छ कि राम्रोसँग खाने समयसम्म पाउँदैनन् उनी। 

राहत सामग्री प्रायोजन गर्ने दाता खोज्छन् । र, दातालाई रिझाएर प्राप्त गरेका सामग्री लिएर विपन्न परिवारको दैलोमा पुग्छन् । राहत जुटाउने र वितरण गर्ने दैनिकी सागमा स्वर्ण पदक जित्नुभन्दा महत्वपूर्ण भएको उनी बताउँछन् । 

‘सागमा स्वर्ण जित्नु खेल जीवनको एक सुखद क्षण हो । र, खेलमा देशको इज्जत बढाउन मिहिनेत गरिन्छ,’ उनी भन्छन्, ‘तर, यो मानवीय भावनाले गरिएको मिहिनेत हो र अरूले पाएको दुःख कम गर्ने प्रयास पनि ।’ कोभिड–१९ को महामारीबाट देशलाई जोगाउन सरकारले लागू गरेको लकडाउनका कारण कलकारखाना, कार्यालय, सपिङ मल मात्र होइन, खेलकुद गतिविधि पनि ठप्प छन् । 

सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुँदा दैनिक ज्यालादारीबाट साँझ–बिहान छाक टार्ने परिवार समस्यामा परेका छन् । आफ्नो जीवनस्तर सुधार्न राजधानी छिरेका कतिपय परिवारले जीवन बचाउनकै लागि हिँडेरै आफ्नो सुदूर गाउँसम्मको यात्रा तय गरे । त्यसरी पैदल यात्रामा निस्किएकाहरूको हुलले मण्डेकाजीको मन पग्लियो ।

‘सागमा स्वर्ण जित्नु खेल जीवनको एक सुखद क्षण हो । र, खेलमा देशको इज्जत बढाउन मिहिनेत गरिन्छ । तर, यो मानवीय भावनाले गरिएको मिहिनेत हो र अरूले पाएको दुःख कम गर्ने प्रयास पनि ।’ 

‘उनीहरूमध्ये कतिपयको खुट्टामा जुत्ता थिएन, खानसम्म पाएका थिएनन् । उनीहरूको स्थानमा आफूलाई राखेर सोचेँ । उनीहरूले पाएको दुःख आफैँले महसुस गरेँ,’ उनी भन्छन्, ‘त्यसपछि दैनिक ज्यालादारी गरेर जीवन चलाउने परिवारको सहयोगका लागि जुटेको हुँ ।’

यसबीचमा उनले त्यस्ता करिब तीन सय परिवारलाई गोल्डस्टार जुत्ता उपलब्ध गराए । त्यत्तिकै संख्याका व्यक्तिलाई खाजा खुवाए । १३औँ सागमा दुई स्वर्णपदक दिलाएबापत उनले भर्खरै सरकारबाट २२ लाख रुपैयाँ पाएका छन् । त्यसैबाट करिब एक लाख खर्चेर व्यक्तिगत सहयोग गरिरहेका छन्, कैलाली र सर्लाहीमा खेलाडीमार्फत स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री पनि पठाएका छन् ।

यस्तै, १०औँ सागका स्वर्ण विजेता कराते खेलाडी कुशल श्रेष्ठ पनि मानवीय सहयोगमा जुटेका छन् । १३औँ सागमा पनि प्रशिक्षकको भूमिकामा रहेका उनले व्यक्तिगत र आफू संलग्न रहेको देउराली क्लबमार्फत काठमाडौं महानगरपालिका–३१ मा करिब ६ सय परिवारलाई राहत सामग्री पु-याए ।

यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा) का विदेश विभाग प्रमुख नवीन पाण्डेले पनि व्यक्तिगत पहलमा काठमाडौं महानगरपालिका–४ का करिब डेढ सय परिवारलाई राहत सामग्री वितरण गरे । विद्युतीय सामग्रीको वितरक टिटिआई इंकको नेपाल कार्यालय टिटिआई इलेक्ट्रोनिक्स नेपाल प्रालिका महाप्रबन्धकसमेत रहेका पाण्डेले प्रतिपरिवार १२ किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक किलो नुन, आधा लिटर खाने तेल, दुई सय ग्राम भटमासको मस्यौरा, एक–एक थान (नुहाउने र लुगा धुने) साबुनसहितको राहत सामग्री उपलब्ध गराए ।

उनले यसलाई आफ्नो दायित्वका रूपमा लिएका छन् । ‘कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ । समुदायप्रतिको आफ्नो दायित्व पूरा गर्ने घडी पनि हो यो,’ पाण्डे भन्छन्, ‘हामीले दिएको राहत ठूलो होइन र यसले सामाजिक परिवर्तन ल्याउने पनि होइन । तर, जसको घरमा चुलो बलेको छैन, उसका लागि पक्कै पनि सानो सहयोग महत्वपूर्ण हुनेछ ।’

तेक्वान्दो खेलाडी अशोक खड्का पनि राहत वितरणमा लागिपरेका छन् । नेप्लिज तेक्वान्दो एसोसिएसनका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक उनले आफ्नो नेतृत्वमा सहयोग रकम जुटाएर कागेश्वरी मनोहरा नगरपालिकाका एकदेखि नौ वडासम्मका विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन् । अनाथालय, वृद्धाश्रमदेखि अन्य विपन्न परिवारसम्मलाई करिब तीन लाख रुपैयाँबराबरको राहत सामग्री पु¥याएको उनी बताउँछन् ।