मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १७ बुधबार १६:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १७ बुधबार १६:०२:००

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरूको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू गरिए पनि विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिन निर्देशन दिएको बताइन्  ।

उनले भनिन्, ‘अहिलेको सन्दर्भमा हामीले राष्ट्रिय गौरवका आयोजनाहरू अन्य विकास आयोजनाहरूको प्रकृति हेरेर कार्यस्थलमै मन्त्रालयको मापदण्डअनुसार क्वारेन्टाइन तयार गरी निर्माण कार्यलाई निरन्तरता दिने वातावरण निर्माण गर्न समिति सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, खानेपानी मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण सम्पूर्णलाई हामी निर्देशन गर्न चाहन्छौँ र गर्दछ ।

बैठकमा सांसदहरूले काेरोना भाइरसको प्रभावबीच श्रमिकहरूको हितको लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदुरको सुरक्षालगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरूले बताएका छन् ।

सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताए । उनले भने,  ‘काम अगाडि बढाउन त भनियो, तर निर्माण सामग्रीहरूको उपलब्धतामा समस्या छ । काम गर्ने मजदुरहरूलाई पनि सम्बन्धित ठाउँमा पुऱ्याउने विषयमा समस्या छ र त्योलगायत विविध समस्याहरू छन् । त्यसकारण यी समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले ठोस योजना बनाउनुपर्छ ।’

सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने, तर काम गर्न नसक्ने प्रवृत्ति यसअघि पनि रहँदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने,  ‘विकासको योजना जति भए तापनि हामी नेपालीले सपना देख्यौँ खानेपानी काठमाडौंमा आउँछ मेलम्ची, मान्छे जवानबाट बुढो भइसक्यो खाला कि नखाला निश्चित छैन । त्यसकारण देशलाई संकटबाट माथि उठाउने हो भने देशलाई भोकमरीबाट उठाउने हो भने अहिले भएका बजेटहरूलाई कुन क्षेत्रमा लाने हो त ? सबैभन्दा त्यसको लागि कृषि क्षेत्र, साना उद्योगहरू, श्रमिकहरूलाई काम दिन पऱ्यो । श्रमिक जनताहरुलाई सबैभन्दा बढी यो संकटमा मार परेको छ ।’

यस्तै अर्का सांसद अनिलकुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताए । काम गर्न नपाएर श्रमिक भोकै मर्ने अवस्थामा आइपुगेकोले पनि आयोजनाहरूलाई सुचारु गर्नुपर्ने सांसद झाले बताए । उनले भने,  ‘नोभेल कोरोना भाइरसको प्रकोपको प्रभाव त छँदै छ, तर योबीचमा पनि यसका सेफ्टी मेजर्सहरू अपनाएर विकास निर्माणका कार्यहरू गर्न दिनुपर्छ जस्तो मलाई लाग्छ । किनभने भोकै मर्नुभन्दा त काम गरेर मर्नु उपयुक्त हुन्छ तुलनात्मक रूपमा कम कष्टदायी हुन्छ ।’

बैठकमा कोरोना भाइरसको प्रभावबीच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयसँगै राष्ट्रिय गौरवका आयोजनाहरूको सम्बन्धमा, रणनीतिक सडकहरूको सम्बन्धमा र नागरिकहरूलाई सही सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो ।

छलफलमा सांसदहरूले आगामी बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिएजस्तै विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । यस्तै बैठकले पुँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझ बढी कम हुने भएकोले सरकारलाई दीर्घकालीन नीति ल्याउनसमेत निर्देशन दिएको छ ।