मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश धौलाकोटी
२०७५ पौष ३ मंगलबार १०:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

तेह्रथुमका सबै स्थानीय तहमा  सडक र सवारीसाधन पुगे

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी
२०७५ पौष ३ मंगलबार १०:०९:००

जिल्लाका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन सुरु भएको छ । दुईवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म सवारी सेवा सञ्चालन हुन थालेको हो । हालै आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट सदरमुकाम म्याङलुङ हुँदै धरानसम्म सीधा बस सेवा सुरु भएको छ ।

हिउँदयाम सुरु भएसँगै जिल्लाको मेन्छ्यायेम गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सीधै पूर्वी तराईसम्म बस सेवा सुरु भएको हो । जिरिखिम्ती–मोराहाङ सडक १२ वर्षदेखि निर्माणाधीन भए पनि अहिलेसम्म भरपर्दो यातायात सेवा उपलब्ध थिएन । हिउँदयाम सुरु भएलगत्तै सडक स्तरोन्नति गरी गाउँपालिका र नगरपालिकाले नियमित बस सेवा सञ्चालन गरेका हुन् । मोराहाङ बजारसम्म नै बस सञ्चालन हुन थालेपछि राहत मिलेको स्थानीय पुष्पा गौतमले बताइन् ।

बस चढ्न तीन घन्टा पैदल हिँडेर म्याङलुङ आइपुग्नुपथ्र्यो
यसअघि यहाँका बासिन्दा बस चढ्न करिब तीन घन्टा पैदल हिँडेर म्याङलुङ आइपुग्ने गरेका थिए । १२ किमि दूरीको जिरिखिम्ती–मोराहाङ खण्डमा पनि अहिले दैनिक बस सेवा सञ्चालन भइरहेको यातायात व्यवसायी डिल्ली रेग्मीले बताए । बस चलेसँगै मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ र पौठाक गाउँका बासिन्दालाई समेत सहज भएको छ । 

उनीहरू जिरिखिम्ती बजार र सदरमुकाम म्याङलुङ आएर किनमेल गरी एकैदिन घर पुग्न सक्ने भएका छन् । ‘सडक त थियो, तर सवारी थिएन,’ स्थानीय भीम भट्टराईले भने, ‘बस नचल्दा कि त हिँड्नुपथ्र्यो नभए महँगो भाडा तिरेर ट्याक्सी चढ्नुपथ्र्यो, ट्याक्सीले पनि नियमित सेवा नदिँदा यातायात सेवा भरपर्दो थिएन ।’ विकास र विस्तारका हिसाबले सबैभन्दा पछि रहेको यो गाउँपालिकाको केन्द्र मोराहाङ बजारमा समेत अहिले चहलपहल बढेको छ । 

जिल्लाको सदरमुकाम म्याङलुङ हुँदै लालीगुराँस नगरपालिकाको वसन्तपुर भएर कोसी राजमार्ग हुँदै धरान, विराटनगरसम्म निरन्तर सवारी सञ्चालन हुन्छ । स्थानीय तह गठन भएपछि आठराई, फेदाप र छथर गाउँपालिकामा पनि नियमित सवारी सञ्चालन भइरहेको व्यवसायी रेग्मीले बताए । छथरको शुक्रबारेदेखि दैनिक धरान र विराटनगरसम्म जाने तीनवटा बस सञ्चालनमा छन् । फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ, इसिबु र ओयाक्जुङका लागि पनि दैनिक एक–एकवटा बस आउने गरेका छन् । फेदाप र आठराई गाउँपालिकालाई निर्माणाधीन मध्यपहाडी लोकमार्गको ट्र्याकबाट नियमित बस सञ्चालनका लागि अझै सहज भएको छ ।

स्थानीय तहका केन्द्रसम्म पुग्न पैदल हिँड्नु पर्दैन 
अहिले जिल्लाका सबै स्थानीय तहका केन्द्रसम्म पुग्न पैदल हिँड्नु पर्दैन, सवारी सुविधा उपलब्ध छ । वर्षायाममा कच्ची सडक हिलाम्मे भएर सडक ठप्प हुने भए पनि अन्य समयमा निरन्तर बस सेवा सञ्चालनका लागि पहल गरी बस सेवा सुरु भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए । ‘गाउँपालिका भएपछि मर्मत गर्नुपर्ने ठाउँमा सडक मर्मत गरियो, अहिले एउटा बस मजाले चलेको छ,’ खापुङले भने । फेदाप गाउँपालिकाबाट पाँचथरको फिदिम हुँदै झापासम्मका लागि ट्याक्सीसमेत सञ्चालनमा छन् । मंसारी, थोक्लुङ, कोयाखोली हुँदै औँसीडाँडा जोडिने कृषि सडकमार्फत ट्याक्सी सञ्चालन भइरहेको व्यवसायीले बताएका छन् । 

सो सडकबाट छोटो दूरीमा पाँचथर हुँदै झापासम्म पुग्न सकिने भएकाले यहाँका बासिन्दालाई सहज भएको स्थानीय रुद्र खनालले बताए । जिल्लाका ६ स्थानीय तहमा ४३ वडा छन् । अहिले सबै वडाका केन्द्रसम्म पनि सडकको ट्रयाक खुलिसकेको छ । दुर्गम भनिएका गाउँका टोल–टोलसम्म पनि सडक पुगेको छ । गाउँका कृषिउपज निर्यात र आवश्यक परेको वस्तु आयातका लागि कुनै समस्या छैन । जिल्ला समन्वय समितिका अनुसार अहिलेसम्म पाँच सय किलोमिटरभन्दा बढी सडकको ट्र्याक खुलिसकेको छ । त्यसमध्ये चित्रे–म्याङलुङ सडकखण्ड एकपटक कालोपत्रे भएर भत्किसकेको छ भने बाँकी कुनै पनि सडक कालोपत्रे छैनन् । माझीटारदेखि म्याङलुङसम्म एक सय किमि सडक मध्यपहाडी लोकमार्गअन्तर्गत ट्र्याक खुलेको छ ।