१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ बैशाख १६ मंगलबार २०:५३:००
Read Time : < 1 मिनेट
समाचार

जनकपुरमा थ्रोट स्वाब परीक्षण बन्द

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ बैशाख १६ मंगलबार २०:५३:००

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि स्थापना गरिएको ल्याबबाट आएको रिपोर्ट गलत देखिएपछि तत्कालका लागि परीक्षण बन्द गरिएको छ ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालक र रौतहटका दुई पुरुषको जनकपुरमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनीहरूको स्वाब परीक्षण त्यसको १० दिनपछि केन्द्रीय प्रयोगशाला काठमाडौं टेकुमा गरिँदा पोजेटिभ आएपछि जनकपुरमा परीक्षण बन्द गरिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

जनकपुरधाममा २१ चैतदेखि पिसिआर मेसिन जडान गरेर थ्रोट स्वाब परीक्षण सुरु गरिएको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म एक सय दुईजनाको स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर, पाँच दिनयता संकलन गरिएका थ्रोट स्वाबका नमुनाहरू परीक्षणका लागि टेकु नै पठाउने गरिएको छ । जनकपुरको मेसिन फिर्ता गरेर अर्काे ल्याउने प्रक्रिया पनि थालिएको सचिव घिमिरेले बताए ।

यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका ९९ जना कोरोना संक्रमित थिए वा थिएनन् भन्ने यकिन हुन नसकेको भन्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले उनीहरूमा कोरोनासँग कुनै मिल्दोजुल्दो लक्षण देखापरे तत्काल सम्पर्क गर्न आग्रहसमेत गरिएको बताए । स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं वा धरान पठाउन समस्या हुने भएकाले प्रदेश सरकारले आफैँ अर्काे मेसिन किन्न लागेको मन्त्री साहले बताए ।