मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
तस्बिर : दीपेन्द्र ढुंगाना
सागर चन्द काठमाडौं
२०७७ बैशाख १६ मंगलबार २०:०३:००
Read Time : > 4 मिनेट
समाचार

चरम संकट र विभेदको सामना गर्दै तेस्रोलिंगी

Read Time : > 4 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ बैशाख १६ मंगलबार २०:०३:००

‘यो लकडाउन कहिले खुल्छ ? खुलेपछि फेरि बन्द हुँदैन नि ?’ लाजिम्पाटको एउटा रेस्टुरेन्टमा भेटिएकी आयना लामा (परिवर्तित नाम)ले सोधिन् ।

२६ वर्षे लामा तेस्रोलिंगी हुन् । आफ्नो ‘पार्टनर’ राघव साहसँग लाजिम्पाटमा कोठा भाडा लिएर बसिरहेकी लामा लकडाउन खुलेपछि काम गरेर भरपेट खान पाइन्थ्यो कि भन्ने आशामा छिन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघिसक्यो । नृत्यांगना लामाको कोठामा लकडाउनको पहिलो साता नबित्दै खाद्यान्न सकियो । खाद्यान्न सकिएदेखि उनले साथीहरूको कोठामा खाना खाइरहेकी छिन् ।

साँझको खाना खान आएकी उनलाई टिम नयाँ पत्रिकाले ‘गे’ विश्वराज अधिकारीको रेस्टुरेन्ट इन्क्लुसिभ ग्यालेक्सीमा भेटेको हो ।

लकडाउन भएसँगै अधिकांश तेस्रोलिंगीका कोठामा खाद्यान्न सकिएको छ । असुरक्षित र असंगठित क्षेत्रमा काम गरेर पेट पाल्ने तेस्रोलिंगी अहिले भोकमरीको चपेटामा परेका छन् ।

लामाको जस्तै समस्या रहेको छ, सिन्धुपाल्चोक घर बताउने ज्वाला थापाको पनि । ‘स्टेज’ कार्यक्रममा नृत्य देखाएर जीविका चलाउने थापा बाँच्नै मुस्किल भएको सुनाउँछन् । भन्छन्, ‘कोठामा रासन छैन, कसरी बाँच्ने ?’

आफूलाई सेक्स वर्कर भनेर चिनाउने सुस्मा रिजाल पनि कोठामा खाद्यान्न सकिएपछि साथीहरूको कोठामा जान थालेकी छिन् । लकडाउनले आफ्नो रोजीरोटी नै खोसेको भन्छिन्, रिजाल ।

ट्रान्स जेन्डर रिजाल भन्छिन्, ‘बाहिर निस्कन पाएको छैन । खाना खान साथीकोमा जानुपर्छ, रोजीरोटी सकियो, तनाव छ ।’

लाजिम्पाट क्षेत्रमा करिब दुई सयजना तेस्रोलिंगी बसोवास गर्छन् । उनीहरू सबैको एउटै समस्या हो, ‘खाद्यान्न अभाव ।’

घरबेटीको कहर
कोठामा खाद्यान्न सकिएपछि खाना खोज्दै साथीको कोठामा जान पनि तेस्रोलिंगीलाई सजिलो छैन । कोठाबाहिर निस्कनेबित्तिकै घरबेटीले गाली गर्न सुरु गर्छन् । अझ कतिपय घरबेटीले त मूलगेटमै ताल्चा पनि लगाइदिने गरेका छन् ।

ट्रान्स म्यान सुदीप गौतम भन्छन्, ‘साथीहरूकोमा खाना खान गयो, फर्केर आउँदा घरबेटीले चुकुल लगाइदिएको हुन्छ ।’ 

गत ११ वैशाखमा गौतमका घरबेटीले बाहिर निस्केको भन्दै गेटमा ताल्चा लगाइदिए । घरबेटीसँग हारगुहार गरेपछि मात्र उनी खानाका लागि बाहिर निस्कन सके ।

भोको पेटमा घरबेटीको गाली र किचकिच सुनेर झन् तनाव हुने गरेको बताउँछिन् ट्रान्सवुमन कृति गुरुङ ।

गुरुङ भन्छिन्, ‘बाहिर निस्क्यो, भित्र आयो गाली गर्छन् । उनीहरूजस्तो भरिपूर्ण छैनौँ हामी । पेट भर्न भए पनि साथीहरूको कोठामा जानैपर्‍यो ।’

तेस्रोलिंगीहरूमाथि घरबेटीको कठोर व्यवहार यत्तिमै सकिँदैन । सरकारले घरबेटीहरूलाई भाडा मिनाहा गर्न अनुरोध गरेको छ । तर, तेस्रोलिंगीलाई भने भाडा नतिरे घरबाट निकाल्ने धम्की आउन थालिसकेको छ ।

सेक्स वर्कर रिजाल आफूलाई घरबेटीले भाडा तिर्न नसक्ने भए घर जाँदा हुन्छ भनेको बताउँछिन् । रिजालले एउटा कोठाको भाडा सात हजार रुपैयाँ तिर्नुपर्छ । ‘जसरी भए पनि भाडा देऊ भन्छन्, नदिए त निकाल्छन् होला,’ रिजालले भनिन् ।

लकडाउन खुलेपछि काम गरेर भाडा तिर्छु भन्दा पनि घरबेटीले नमानेको बताउँछन् ज्वाला थापा । ‘दुईचोटि भाडा मागिसक्यो । अहिले काम छैन, पछि दिन्छु भन्दा पनि मानेका छैनन्,’ थापाले सुनाए ।

आधा भए पनि भाडा देऊ भनेर आफूलाई घरबेटीले अत्याएको सुनाउँछिन् गुरुङ । ‘भएको पैसा खाना किन्नै सकियो । आधा भए पनि भाडा ल्याऊ भनेको भन्यै छन्,’ गुरुङ भन्छिन्, ‘खानै मुस्किल भइरहेको वेला भाडा कसरी तिर्नु ।’

पैसा नभएर पानीसमेत किन्न नसकेको समयमा घरबेटीले भाडा मागेर मर्नु न बाँच्नु बनाएको सुनाउँछिन् लामा । ‘पैसा नभएर पानीसमेत किन्न सकेका छैनौँ, घरबेटीले भाडा माग्छ, हामी त अब मरे पनि भयो,’ लामा भन्छिन् ।

राहतमा विभेद 
स्थानीय सरकारले खाद्यान्न अभाव भएकालाई राहत वितरण गरिरहेको छ । तर, स्थानीय सरकारको राहत तेस्रोलिंगीसम्म पुगेको छैन । पुगेकै राहतमा पनि उनीहरूमाथि विभेद गरिएको छ ।

स्थानीय सरकारले राहतका लागि नागरिकता अनिवार्य गरेको छ । तर, अधिकांश तेस्रोलिंगीसँग नागरिकता छैन । महामारीको यो विश्व संकटको समयमा पनि आफूहरूमाथि नागरिकताका नाममा विभेद भएको गुनासो गर्छन् तेस्रोलिंगी ।

आकाश (परिवर्तित नाम)सँग नागरिकता थिएन । तर, उनका पार्टनरसँग भने नागरिकता थियो । राहत वितरण गरेको थाहा पाएपछि उनी आफ्नो नागरिकता बोकेर राहत लिन गए । ‘तर, राहत सकियो भन्दै हामीलाई दिएनन्,’ आकाश भन्छन्, ‘हामीलाई सकियो भने पनि अरूलाई भने दिइरहेको थियो ।’

सामान्य समयभन्दा संकटको समयमा आफूहरूमाथि विभेद थप बढेको बताउँछन् थापा । थापा भन्छन्, ‘अरूवेला पनि विभेद नै गर्थे । अहिले त झन् बढी नै विभेद गर्न थालेका छन् ।’

नागरिकता नहुनेले त झन् राहत नै पाएका छैनन् । लामा र उनका पार्टनरसँग नागरिकता छैन । नागरिकता नभएकै कारण उनीहरूले राहत पाएका छैनन् । ‘नागरिकता ल्याऊ भन्छन्, हामीसँग नागरिकता छैन,’ लामाले भनिन् ।

नागरिकता भएका तेस्रोलिंगीमाथि पनि चरम विभेद भएको सुनाउँछन् अधिकारी । ‘मैतिदेवीमा वीरगन्ज घर भएका साथी थिए । उनको नागरिकताको लिंग शीर्षकमा अदर लेखिएको थियो । अदर लेखिएकै कारण उनलाई राहत दिइएन । यहाँ बस्न नसकेपछि उनी हिँडेरै घर गए,’ अधिकारी भन्छन् ।

राज्य संयन्त्रले तेस्रोलिंगीलाई राहतमा विभेद गरेपछि तेस्रोलिंगी समुदायकै मान्छेहरू मिलेर विभिन्न संघसंस्थासँग हारगुहार गरेर केही दिनलाई पुग्ने राहत जम्मा गरे । हारगुहार गरेर जम्मा गरेको राहत पनि सबैलाई नपुगेको बताउँछिन् रिया बोहोरा ।

स्वास्थ्य समस्या
२७ वर्षे सुदीप गौतम ट्रान्सम्यान हुन् । पार्टनरसँग बसिरहेका गौतम निरन्तर हर्मन लिइरहेका थिए । तर, लकडाउनले गर्दा उनले हर्मन लिन पाएका छैनन् । ट्रान्सम्यानले सुईबाट हर्मन लिन्छन्, ट्रान्सवुमनले हर्मनको औषधि खान्छन् ।

डाक्टरले तोकेको समयमा हर्मन लिन नपाउँदा स्वास्थ्य समस्या देखिएको बताउँछन् गौतम । गौतम भन्छन्, ‘छिटोछिटो रिस उठ्ने, जिउ र ढाड दुख्ने समस्या हुन थालेको छ । कतिखेर त मर्छु कि जस्तो लाग्छ ।’

समयमै हर्मन लिन नपाउँदा कतिपय तेस्रोलिंगीमा डिप्रेसनको समस्या देखिएको बताउँछन् अधिकारी । उनी भन्छन्,  ‘कति साथीहरू त डिप्रेसनमा गएका छन् । मर्छु भन्दै म्यासेज गर्छन्, हात काट्न थालेका छन् ।’

एचआइभी संक्रमितहरूले पनि नियमित औषधि सेवन गर्न पाएका छैनन् । एचआइभी संक्रमितले औषधि लिन टेकु अस्पताल वा वीर अस्पताल जानुपर्छ ।
‘टेकुमा अहिले अरू औषधि पाइँदैन,’ गौतम भन्छन्, ‘वीर अस्पतालसम्म पनि पुलिसले जान दिएको छैन ।’

यस्तै आर्थिक अभावले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडसमेत किन्न नसकेको बताउँछन् तेस्रोलिंगीहरू । ‘चार घन्टाभन्दा बढी लगाउन नमिल्ने स्यानिटरी प्याड दुई दिनसम्म लगाउनुपरेको छ, कतिले त खाने पैसा नभएर त्यो पनि किन्न सकेका छैनन्,’ गौतमले भने । 

एक्लिएका तेस्रोलिंगी
सामान्य अवस्थामै समेत विभेदको सामना गर्ने तेस्रोलिंगीले यो महामारीमा थप विभेदको सामना गर्नुपरेको छ । राहतमा विभेद, घरबेटीको कहर, स्वास्थ्य समस्या, भोको पेटमा परिवारको पनि साथ नपाउँदा आफूहरू एक्लिएको बताउँछन्, तेस्रोलिंगी ।

३० वर्षीया वर्षा (परिवर्तित नाम)लाई लकडाउनले कोठामा एक्लै थुनिनुपरेपछि आफ्नो मान्छे कोही छैन जस्तो लाग्न थालेको छ । वर्षा भन्छिन्, ‘हामीलाई कसैले हेर्दैन । आफ्नो मान्छे कोही छैन जस्तो हुन्छ ।’ चित्त बुझाउन उनी भन्छिन्, ‘यस्तै हो, हाम्रो जीवन ।’ 

लकडाउनले काठमाडौंमा एक्लिएकी रिजाललाई वेलावेला घर जाउँजस्तो लाग्छ । तर, घरमा समेत आफ्नो सम्मान नहुने थाहा पाएकी उनी घर पनि जान सक्दिनन् । ‘घर जान पाएको भए त हुन्थ्यो जस्तो लाग्छ, तर घरमा पनि अब उस्तै त हो नि,’ रिजाल भन्छिन् ।

परिवार र समाजसँग नजिक नहुने तेस्रोलिंगी कोरोना कहरसँग एक्लै–एक्लै संघर्ष गरिरहेका छन् । अधिकांश तेस्रोलिंगीको परिवारलाई उनीहरूको पहिचान थाहा छैन । त्यसैले पनि उनीहरू परिवारबाट टाढा बस्न खोज्छन् । संकटको वेला परिवारको न्यास्रो लाग्ने गरेको बताउँछन् अधिकारी ।

लकडाउन बढ्यो भने त आफू पागल नै हुन्छु कि भन्ने शंका लाग्न थालेको सुनाउँछन्, थापा । ‘यो लकडाउन बढ्यो भने त म पागलै हुन्छु होला । राहत छैन। पानी किन्नेसमेत पैसा छैन,’ थापाले भने ।

अहिले तेस्रोलिंगीले भोगिरहेको विभेदलाई कोरोनाभन्दा खतरानाक भन्छन् अधिकारी । अधिकारी भन्छन्, ‘हामीले भोगिरहेको यो विभेद कोरोनाभन्दा डेन्जर छ ।’