मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख १६ मंगलबार १५:४४:००
Read Time : > 1 मिनेट
अर्थ

सुक्खायाममा भारी वर्षा, बगरमा गरिएको तरकारी खेती नष्ट

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ बैशाख १६ मंगलबार १५:४४:००

आइतबारदेखि कञ्चनपुरमा परेको बेमौसमी भारी वर्षाका कारण बगरमा गरिएको खेती नष्ट भएको छ । 

यतिवेला सुक्खायाम भए पनि वर्षातको जस्तै दुई दिन पानी परेपछि कञ्चनपुरका विभिन्न खोलानालाका किनारमा लगाइएको बगरखेती नष्ट भएको छ । 

कञ्चनपुरको जोगबुढा, महाकाली, चौधरी, दोदा, सुनबरा, स्याली, झर्ना खोलालगायतका खोलानालाका बगरमा लगाएको बेमौसमी तरकारी खेती नष्ट भएको हो । 

अविरल रूपमा परेको वर्षातले खोलानालामा पानीको सतह बढेपछि खेती नष्ट भएको किसानले बताएका छन् । 

लालझाडी गाउँपालिका– ४ जाइका भज्जी रानाले आफूले लगाएको डेढ बिघाजति बगरको खेती नष्ट भएको बताए । 

उनले बगरखेतीबाटै घरखर्च चलाउने गरेको र यस वर्ष बेमौसमी ठूलो वर्षातका कारण तरकारी खेती नष्ट भएपछि घरखर्च चलाउन मुस्किल हुने बताए  

उनका अनुसार लौका, फर्सी, खिरा, सुर्खानी, खरभुजा, मुला, प्याज र टमाटर नष्ट भएको छ । 

लालझाडी गाउँपालिका– ३ ढुंगाका किसान गोमती रानाले तीन बिघा क्षेत्रफलमा लगाएको बगरखेती वर्षाका कारण नष्ट भएको बताए ।

‘मैले दोदा नदीको बगरमा खेती गरेको थिएँ,’ उनले भने, ‘सबै खेती पुरै नष्ट भयो ।’ खेतीमा बाढी आएर नष्ट भएको उनले बताए । 

कृष्णपुर क्षेत्रका बगरखेती पनि नष्ट भएको स्थानीय सुचित्र शाहले बताए । 

उनका अनुसार कृष्णपुरका दर्जनौँ किसानले बगरमा लगाएको खेती नष्ट भएको छ । लालझाडी गाउँपालिकाका स्थानीय युवक भक्ता रानाले बगरखेती गरेर गुजारा चलाउने किसानलाई सरकारले राहत दिनुपर्ने बताए । 

लालझाडी गाउँपालिका– ३ का वडाध्यक्ष टीकाराम चौधरीले वर्षातका कारण ३ नम्बर र ६ नम्बर वडामा ७० बिघा र २ नम्बर वडामा १६ बिघाजतिको बगरखेती नष्ट भएको बताए । 

‘बालुवामा खेती हो,’ ‘उनले भने, ‘बाढीजस्तै आएर बगाएर लग्यो ।’ 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले वर्षातका कारण बगरखेती नष्ट भएको सूचना आए पनि कति क्षेत्रफलमा लगाएको तरकारी खेती नष्ट भयो भन्ने यकिन भइनसकेको बताए । 

उनले बगरखेती नष्ट भएका किसानलाई सम्बन्धित स्थानीय तहका कृषि शाखामा जानकारी गराउन आग्रह गरे ।