मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १४:०२:००
Read Time : > 1 मिनेट
विश्व

बंगलादेशको कपडा कारखानाका हजारौँ मजदुर काममा फर्किए

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १४:०२:००

कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोसाक (गार्मेन्ट) उद्योगका हजारौँ मजदुर काममा फर्किएका छन् ।

राजधानी ढाका र चटगाउँका कारखाना खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखाना बन्द भएका थिए, तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग गरिएको थियो । 

बंगलादेशमा कोराेना भाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र बाहिरका एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह सहर चटगाउँका कारखाना पनि खोलिनेछन् । 

बंगलादेशको कुल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोसाकले ओगटेको छ । तर, कोरोना भाइरसका कारण तयारी पोसाकको माग घटेको वा अर्डर रद्द भएका कारण बंगलादेशले यस आर्थिक वर्षमा करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।

 श्रम अधिकारवादीहरूले मजदुरका कारण कोभिड– १९ को महामारी अझ फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्टजस्ता कम्पनीका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोसाक निर्यात भएको थियो । 

बंगलादेश तयारी पोसाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोना भाइरसलाई जीवनको एक हिस्साका रूपमा स्विकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए । 

गत महिना सरकारले निर्यातमुखी क्षेत्रका मजदुरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरूले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए । 

आइतबार ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौँ गार्मेन्ट मजदुरले प्रदर्शन गरेका थिए । उनीहरले कामबाट विमुख भएका दिनको समेत ज्याला पाउनुपर्ने माग राखेका थिए । उनीहरूले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । 

बंगलादेशमा कोरोना भाइरसबाट पाँच हजार नौ सयजना संक्रमित भएका छन् । अहिलेसम्म एक सप ५२ को मृत्यु भइसकेको छ ।