१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
२०७७ बैशाख १६ मंगलबार १३:०४:००
Read Time : > 1 मिनेट
समाचार

टाँडीको क्वारेन्टाइन पूर्वाञ्चल विश्वविद्यालयमा सारिँदै 

Read Time : > 1 मिनेट
२०७७ बैशाख १६ मंगलबार १३:०४:००

प्रदेश १ सरकारले मोरङको मिक्लाजुङ गाउँपालिका– ४ टाँडीबाट सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा क्वारेन्टाइन सार्ने तयारी गरेको छ । टाँडीमा नेपाली सेनाको सूर्य दल गणले सञ्चालन गरिरहेको क्वारेन्टाइन एक हप्ताभित्रमा सार्ने तयारीमा प्रदेश सरकारका मुख्यमन्त्री आफैँ लागिपरेका छन् । 

सूर्य दल गणका प्रमुख सेनानी रघु पौडेलले टाँडीमा अनुकूल नभएका कारण गोठगाउँमा सारेर क्वारेन्टाइन सञ्चालन गरिने जानकारी दिए । टेन्ट टाँगेर अस्थायी रूपमा बनाइएकाले लामो समयसम्म सञ्चालन गर्न समस्या हुँदा सार्नैपर्ने अवस्था आएको उनको भनाइ छ । जंगलको छेउमा रहेको क्वारेन्टाइनमा मौसम परिवर्तनले पनि असर गरेकाले सुरक्षित ठाउँमा ल्याउनैपर्ने अवस्था आएको जानकारी पौडेलले दिए । यही वैशाख ८ र ९ गते वर्षासँगै चलेको हावाहुरीले क्वारेन्टाइनमा ठूलो क्षति गरेको थियो । दुई सय बेडको क्वारेन्टाइनमा टेन्ट उडाएर हावाहुरीले ८० वटामा क्षति गर्नुका साथै त्यहाँ लगिएको पानी, बिजुली र इन्टरनेट अवरुद्ध बनाएको थियो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समेत पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेका छन् । विश्वविद्यालयका भवनहरूको निरीक्षण गर्दै मुख्यमन्त्री राईले  १ नम्बर प्रदेशकै ठूलो क्वारेन्टाइन बनाउने योजना रहेको बताए । टाँडीमा रहेको क्वारेन्टाइनलाई हावाले बारम्बार उडाएकाले र वर्षातकाे मौसम आएकाले स्थायी क्वारेन्टाइनको रूपमा विश्वविद्यालयको भवन प्रयोग गर्न लागिएको उनले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयले पनि क्वारेन्टाइन सञ्चालनका लागि आफ्ना संरचना प्रयोग गर्न दिने भएको छ । विश्वविद्यालय प्रशासनका अनुसार छात्रावास भवनलाई क्वारेन्टाइन बनाउन त्यहाँ भएका विद्यार्थीलाई अन्यत्र सार्न थालिएको छ ।
 
टाँडीको क्वारेन्टाइनमा मंगलबारसम्ममा नौजना पुरुष र चार महिला गरेर १३ जना रहेका छन् । यसअघि एक सय ४६ जना  पुरुष र १० महिला गरेर एक सय ५६ जनालाई राखिएकोमा एक सय ३७ पुरुष र ६ जना महिला गरेर एक सय ४३ जना घर फर्किसकेका छन् । परीक्षणबाट कोरोना नेगेटिभ देखिएकाहरूलाई क्वारेन्टाइनबाट बिदा दिएर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरिएको प्रमुख सेनानी पौडेलले बताए ।