मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७७ बैशाख १६ मंगलबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार

एक दशकपछि तालाबन्दी खोलिएको छात्रावासलाई क्वारेन्टाइन बनाइँदै

Read Time : < 1 मिनेट
२०७७ बैशाख १६ मंगलबार ११:०९:००

विद्यार्थी संगठनहरूबीचको विवादले एक दशकअघिदेखि तालाबन्दी भएको सिराहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावासलाई क्वारेन्टाइन बनाइने भएको छ। 

तालाबन्दी खोलेर अहिले भवनलाई सरसफाइ गर्न सुरु गरिएको छ। ०६५ मा स्ववियु निर्वाचनका वेला अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप भएपछि क्याम्पस प्रशासनले छात्रावासमा तालाबन्दी गरेको थियो। 

त्यतिवेला छात्रावासमा हतियारसहित नेविसंघका विद्यार्थी बसेको भन्दै अनेरास्ववियुले विरोध गरेपछि छात्रावास बन्द गरिएको थियो। त्यसयता छात्रावास पटकपटक मर्मत गरिए पनि विद्यार्थी संगठनबीच सहमति नहुँदा प्रयोगमा आउन सकेको थिएन। 

‘कोरोना संक्रमण बढ्दै गएपछि क्याम्पसको छात्रावासलाई क्वारेन्टाइन बनाउन विद्यार्थी संगठनहरू सहमत भएका छन्,’ विद्यार्थी नेता अरबिन्द यादवले भने, ‘विद्यार्थीका लागि यो खुसीको खबर हो।’

प्रयोगविहीन भएर झाडीमा परिणत भएको छात्रवास परिसरमा सरसफाइ गर्न थालिएको छ। साथै बिजुली, खानेपानीको व्यवस्था, शौचालय मर्मतजस्ता काम पनि अघि बढाइएको सिराहा नगरपालिकाका फोकल पर्सन सुरेश यादवले बताए।

३४ वटा कोठा रहेको छात्रावास भवनमा एक सयजना अट्ने क्षमता छ। कोरोनाको कहर सकिएपछि छात्रावासलाई विद्यार्थी राख्न उपयोग गरिने क्याम्पसप्रमुख कृष्णकुमार यादवले बताए।