मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार ०७:४८:००
Read Time : < 1 मिनेट
समाचार

४१ देशका करिब ३० हजार नेपालीलाई एनआरएनएको राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार ०७:४८:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनर्स्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ ।

एनआरएनएका महासचिव डा. हेमराज शर्माका अनुसार ४१ देशका १ सय ५० भन्दा बढी सहरमा ९ सयभन्दा बढी स्वयंसेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामग्री प्राप्त गरेका छन् । संघका राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय परिषद्ले स्थापना गरेको २४औँ घन्टे हटलाइनबाट ७ हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिए ।

यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैयाँको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्दो छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री नेपाल पठाएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित फन्ड रेजिङ क्याम्पेन अगाडि बढाएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जनाए । यसका लागि संघले क्राउड फन्डिङ क्याम्पनिङ (धेरैजनाबाट थोरै–थोरै रकम उठाउने व्यवस्था) गरेको छ ।

संघले स्थानीय रूपमा सहयोग जुटाउन अप्ठ्यारो परेका देशहरूमा आइसिसीले राहत रकम वितरण गर्न सुरु भइसकेको जनाएको छ । हालसम्म मध्यपूर्वका कुवेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ ।

आवश्यकताअनुसार अन्य देशहरूलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाई सरकारलाई उच्चस्तरीय समितिले बुझाएको छ । यो योजना जनस्वास्थ्यविज्ञ र मेडिकल डाक्टरहरूको टिमले तयार पारेको हो ।