१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार ०७:१८:००
Read Time : < 1 मिनेट
समाचार

भण्डारी-सी टेलिफोन संवाद : चिनियाँ राष्ट्रपतिले भने- महामारीविरुद्ध नेपाललाई निरन्तर सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार ०७:१८:००

चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा कोरोना भाइरसको अवस्था नियालिरहेको भन्दै त्यसको रोकथाम र नियन्त्रणमा निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सोमबार टेलिफोन संवाद भएको हो । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई टेलिफोन गरेकी हुन् । 

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुई देशका मेडिकल संस्था तथा सम्बन्धित निकायबीच निरन्तर सञ्चार र सहकार्य जारी राख्नुपर्नेमा जोड दिएका छन् । यो वैश्विक महामारीमा अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्य थप जरुरी रहेको पनि उनले बताएका छन् । विश्वले बहुपक्षीय सहकार्य तथा अन्तर्राष्ट्रिय न्याय र नैतिकतालाई बचाउनुपर्ने समय आएको पनि राष्ट्रपति सीले उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति सीले आफ्नो नेपाल भ्रमणको सम्झना पनि गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्ध चीनले लिएका कदमबारे उनले नेपाली समकक्षीलाई जानकारी दिएका छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि चीनले विश्वलाई सहयोग पुर्‍याएको र नेपाललाई पनि निरन्तर सहयोग गरेको भन्दै सराहना गरेकी छिन् । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीसहितका सहयोगका लागि पनि उनले धन्यवाद दिएकी छिन् । 

राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे समकक्षी भण्डारीसँग छलफल गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली सामान्य रूपमा काममा फर्कनुभएकोमा चीनका राष्ट्रपतिले खुसी व्यक्त गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको सुस्वास्थ्य तथा सन्तोषका लागि कामना गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

दुवै नेताले परिस्थिति सामान्य भएपछि नेपाल र चीनबीच विगतमा भएका सहमति र समझदारीअनुसार परियोजना निर्माणले गति लिने विश्वास पनि व्यक्त गरेका छन् । कोरोना महामारीपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीबीच दुईपटक टेलिफोन कुराकानी भएको थियो ।