मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७७ बैशाख १५ सोमबार ०८:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

के हुन्छ विद्यालय तहको शैक्षिक सत्र ?

Read Time : > 1 मिनेट
२०७७ बैशाख १५ सोमबार ०८:४५:००

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण ६ चैतदेखि देशभर विद्यालय तहका सबै क्रियाकलाप ठप्प छन् । लकडाउन नभएको भए यतिवेला भर्ना अभियान अन्तिम चरणमा पुर्‍याएर नयाँ शैक्षिक सत्रको तयारी हुन्थ्यो । तर, यो वर्ष यतिवेलासम्म कक्षोन्नतिसमेत भएको छैन । गत ५ चैतभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिए पनि नतिजा सार्वजनिक भएको छैन । केहीले अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि अधिकांश विद्यार्थी सिकाइविना घरमा बसिरहेका छन् । विद्यालय तह (१ देखि १२ कक्षा) मा ७० लाख हाराहारीमा बालबालिका छन् । 

केही निजी विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक नगरी अनलाइन कक्षा सुरु गरेका छन् । सार्वजनिक विद्यालयले तल्ला कक्षामा शैक्षिक गतिविधि सञ्चालन गर्न सकेका छैनन् । शिक्षा मन्त्रालयले स्थगित भएका परीक्षा कसरी सञ्चालन गर्ने, वैकल्पिक माध्यम प्रयोग गरी कसरी कक्षा सञ्चालन गर्ने र शिक्षासम्बन्धी योजना बनाउन तीन कार्यदल निर्माण गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेपछिको तेस्रो सातामा स्थगित भएका परीक्षा लिन सकिने बताए । कक्षा सञ्चालनका लागि भने विभिन्न माध्यम प्रयोग गर्ने तयारी भए पनि टुंगो नलागेको उनको भनाइ छ । 

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले १४ देखि १९ वैशाखसम्ममा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए । सरकारले २५ वैशाखसम्म लकडाउनको समय बढाएको छ । शिक्षकलाई तालिम प्रदान गरेर २२ वैशाखदेखि विद्युतीय सञ्चारमाध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्ने तयारी भएको छ । ‘लकडाउन खुल्न समय लाग्ने र खुलेपछि पनि विद्यालय सञ्चालन हुन समय लाग्ने भएकाले ‘भर्चुअल’ कक्षा सुरु गर्न लागेका हौँ,’ अध्यक्ष पुरीले भने, ‘सबै अभिभावकको इन्टरनेटमा पहुँच छैन, इन्टरनेट भएकासँग पनि ल्यापटप तथा स्मार्टफोन छैन । अहिले विद्यार्थीलाई व्यस्त बनाउने हो, कक्षा सुरु भएपछि फेरि पढाउँछौँ ।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्-शैक्षिक सत्र बिग्रन दिन्नौँ

पठनपाठन, परीक्षा र शैक्षिक योजनाका लागि कार्यदल बनाएका छौँ । त्यसको रिपोर्ट आउनेबित्तिकै केही निर्णय गर्छौं । लकडाउन खुलेपछिको तीन सातापछि स्थगित परीक्षा लिन सकिन्छ । समुदायमा संक्रमण छैन भन्ने भएपछि मात्रै कक्षाकोठामा पठनपाठन सुरु हुन्छ । अहिले दुई सय ५० भन्दा बढी शैक्षिक संस्थामा क्वारेन्टाइन बनाइएको छ । त्यसैले अरू सबै खुलेपछि मात्र शैक्षिक संस्था खुल्छ ।

लकडाउन खुलेपछि पहिलो साता रिजल्ट र दोस्रो साताबाट भर्ना खुलाउनुपर्छ । लकडाउनको समयमा विद्युतीय माध्यम प्रयोग गरेर कक्षा सञ्चालन गर्ने तयारी भएको छ । अनलाइन कक्षाका लागि पनि सबै प्रविधिमैत्री छैनन् । जेठ महिनाभित्र स्थगित भएका परीक्षा सञ्चालन गरेर दसैँअघि पठनपाठन सुरु गर्नसकेमा नयाँ शैक्षिक सत्र बिग्रँदैन । अहिले पढाइभन्दा पनि संक्रमणबाट जोगिनु ठूलो कुरा हो । शैक्षिक सत्र बिग्रिन दिँदैनौँ ।