१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामचन्द्र न्यौपाने डोल्पा
२०७७ बैशाख १३ शनिबार १८:५१:००
Read Time : < 1 मिनेट
समाचार

प्रभावकारी बन्दै डोल्पा जिल्ला अस्पतालको प्रसूति शल्यक्रिया सेवा

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने डोल्पा
२०७७ बैशाख १३ शनिबार १८:५१:००

डोल्पा जिल्ला अस्पतालमा गत मंसिरयता आठजना गर्भवतीको सफल शल्यक्रिया भएको छ ।

सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमै यस्तो सुविधा उपलब्ध भएपछि जिल्ला अस्पतालमै सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नै नियुक्त गरेर शल्यक्रियासहितको प्रसूतिसेवा प्रदान गर्न थालेपछि विकट गाउँबस्तीबाट पनि सुत्केरी गराउन आउने गरेका छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शंकरप्रसाद राउतले एसएनसियू र आइसियूमा राख्नुपर्ने अवस्था भएकालाई मात्र हेलिकोप्टरबाट उद्धार गरेर अन्यत्र लाने गरिएको बताए । उनले भने, ‘बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायतका जटिल प्रकारका शल्यक्रिया पनि सफल रूपमा गरेका छौँ ।’

विशेषज्ञ सेवा सुरु गरिएसँगै जिल्लाबाहिर लानुपर्दा हुने लाखौँ रुपैयाँ खर्च र ज्यानको जोखिम दुवै कम भएको अस्पताल प्रमुख डा. सिजन रावलले बताए । ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल आउनेको संख्या बढ्दै गएको डा. मेलिना हमालले बताइन् ।

कतिपय महिला नियमित स्वास्थ्य चेकजाँचविना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने गरेको उनको भनाइ छ । अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुँदा भने तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा समस्या हुने भन्दै उनले त्यस्तो अवस्थामा रगत दिने मान्छे खोजेर समस्या समाधान गर्ने गरिएको बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली नआउँदा दुई वर्षसम्म डोल्पा अस्पतालको सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको थियो । अस्पतालले भरपर्दो सेवासुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका जिल्लाबाहिरका सहरमा जानुपर्ने अवस्था हटेको छ ।