१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १३ शनिबार ०६:३४:००
Read Time : > 2 मिनेट
अर्थ

२०१९ मा ९ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो, २०२० मा ७ खर्ब ८६ अर्ब मात्रै : विश्वबैंक

२०२० मा नेपालको रेमिट्यान्स १४ प्रतिशतले घट्ने विश्वबैंकको प्रक्षेपण, मुलुकको लाइफलाइन नराम्रोसँग प्रभावित हुने विश्लेषण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १३ शनिबार ०६:३४:००

यस वर्ष सन् २०२० मा नेपालमा भित्रिने रेमिट्यान्स १४ प्रतिशतले घट्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको आप्रवासन तथा रेमिट्यान्ससम्बन्धी एक प्रतिवेदनले नेपाल भित्रिने विप्रेषणमा ठूलो मात्रामा गिरावट आउने प्रक्षेपण गरेको हो । 

सन् २०१९ मा ८ अर्ब १० अर्ब अमेरिकी डलर (सन् २०१९ को हालको विनिमय दरअनुसार ९ खर्ब १५ अर्ब रुपैयाँ) रेमिट्यान्स भित्रिएकोमा सन् २०२० मा घटेर ६ अर्ब ९६ करोड डलर (करिब ७ खर्ब ८६ अर्ब रुपैयाँ) मात्रै भित्रिने विश्व बैंकको अनुमान छ ।

 आव ०७५-७६ मा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको अनुमान छ । तर, इस्वी संवत् र आर्थिक वर्षमा आएको रेमिट्यान्सको तथ्यांक फरक पर्छ । सोही आधारमा विश्व बैंकले सन् २०१९ मा ९ खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको अनुमान गरेको हो । नेपालमा जारी लकडाउन, रेमिट्यान्स पठाउने मुलुक नै लकडाउनमा हुनु तथा कोभिड–१९ का कारण विदेशमा नेपालीले रोजगारी गुमाउनेलगायत कारणबाट रेमिट्यान्समा कमी आउने भएको हो । 

यसरी रेमिट्यान्समा आउने कमीबाट नेपालजस्ता अल्पविकसित मुलुकको अत्यावश्यक लाइफलाइन नराम्रोसँग प्रभावित हुने विश्लेषण विश्व बैंकको छ । ‘रेमिट्यान्स विकासशील मुलुकको निकै महत्वपूर्ण आयस्रोत हो,’ विश्व बैंकका अध्यक्ष डेभिड मालपास भन्छन्, ‘रेमिट्यान्सले कामदारका परिवारलाई खाद्य वस्तु एवं स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सहयोग गरेको छ । त्यसैले विश्व बैंक समूहले रेमिट्यान्सका च्यानलहरू बन्द नहोस् भनेर बृहत् एवं व्यापक सहयोग कार्यक्रम लागू गर्दै छ ।’

दक्षिण एसियाको रेमिट्यान्स २२ प्रतिशतले घट्दै

सन् २०२० मा दक्षिण एसियाली मुलुकमा भित्रिने रेमिट्यान्स कम्तीमा २२ दशमलव १ प्रतिशतले घट्ने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भित्रिने रेमिट्यान्सको प्रवाह यो वर्ष १ खर्ब ९ अर्ब अमेरिकी डलरमा सीमित हुने विश्व बैंकले जनाएको छ । सन् २०१९ मा दक्षिण एसियाको रेमिट्यान्स आप्रवाहमा ६ दशमलव १ प्रतिशत वृद्धि भएको थियो । 

साथै, विश्वव्यापी रेमिट्यान्सको प्रवाह औसतमा २० प्रतिशतले घट्ने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ । जारी कोरोना भाइरसको महामारी र तेलको मूल्यमा आइरहेको गिरावटका कारण रेमिट्यान्सको प्रवाह घट्ने नयाँ प्रक्षेपण बुधबार विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । महामारीमा विशेष गरी तेलको मूल्यमा आएको कमीका कारण रोजगारी गुमिरहेको र ज्यालासमेत कटौती भइरहेकाले रेमिट्यान्स घट्न थालेको हो । सन् २०१९ मा विश्वभर ५ खर्ब ५४ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्रवाहित भएको थियो, जुन अहिलेसम्मकै कीर्तिमानी उचाइ हो । 

विश्व बैंकका अध्यक्ष डेभिड मालपास भन्छन्, ‘रेमिट्यान्सले कामदारका परिवारलाई खाद्य वस्तु एवं स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सहयोग गरेको छ । त्यसैले विश्व बैंक समूहले रेमिट्यान्सका च्यानलहरू बन्द नहोस् भनेर बृहत् एवं व्यापक सहयोग कार्यक्रम लागू गर्दै छ ।’

प्रतिवेदनले न्यून एवं मध्यम आयमूलक मुलुक (एलएमआइसी)हरूको रेमिट्यान्स सन् २०२० मा १९ दशमलव ७ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब डलरमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०१९ मा एलएमआइसी समूहका मुलुकले ५ खर्ब ५४ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएका थिए । यसको अर्थ महामारी र लकडाउनको मारबाट थला परिरहेका विकासशील मुलुकले रेमिट्यान्सबाट समेत कम्तीमा पनि १ खर्ब ४ अर्ब गुमाउनुपर्नेछ । परिस्थितिमा सुधार भए सन् २०२१ मा भने एलएमआइसी मुलुकहरूको रेमिट्यान्स ५ दशमलव ६ प्रतिशतले सुध्रिएर ४ खर्ब ७० अर्ब डलर पुग्ने अनुमान गरिएको छ । 

रेमिट्यान्स गुमाउनेमा सबैभन्दा अगाडि युरोप एवं मध्य एसियाली क्षेत्रका मुलुकहरू रहनेछन् । उनीहरूको रेमिट्यान्स यो वर्ष औसत २७ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण छ । त्यसपछि धेरै रेमिट्यान्स अफ्रिका महादेशका अति पिछडिएका सहारा उपक्षेत्रले गुमाउनेछन् । सहारा उपक्षेत्रको रेमिट्यान्समा २३ दशमलव १ ले कमी आउनेछ । त्यसैगरी, दक्षिण एसियाली मुलुकहरूमा आउने रेमिट्यान्स यो वर्ष २२ दशमलव १ प्रतिशतले संकुचित हुनेछ । मध्यपूर्व र उत्तर अमेरिकाको रेमिट्यान्स १९ दशमलव ६ प्रतिशतले घट्नेछ भने ल्याटिन अमेरिका तथा क्यारेबियन मुलुकले औसतमा १९ दशमलव ३ प्रतिशत गुमाउनेछन् ।

 सबैभन्दा कम रेमिट्यान्स गुमाउने क्षेत्रमा पूर्वी एसिया र प्रशान्त क्षेत्र रहनेछन् । उनीहरूको रेमिट्यान्स औसत १३ प्रतिशत मात्रै कम हुने आकलन गरिएको छ । यद्यपि, परिस्थिति थप खराब बन्दै गएमा भने रेमिट्यान्सको प्रवाह पनि थप कम हुने विश्व बैंकले उल्लेख गरेको छ ।

यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ३५ प्रतिशतभन्दा बढीले कम हुने देखिएको छ । यस्तोमा न्यून एवं मध्यम आय भएका विकासशील मुलुकका लागि रेमिट्यान्स निकै मूल्यवान् स्रोत हुने र यसमा समेत कमी आउँदा उनीहरूको लाइफलाइन नराम्रोसँग प्रभावित हुने खतरा रहेको विश्व बैंकले जनाएको छ । अघिल्ला वर्षहरूमा न्यून एवं मध्यम आयमूलक मुलुकमा रेमिट्यान्सभन्दा एफडिआईको प्रवाह बढिरहेको पनि विश्व बैंकले जनाएको छ ।