मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मी बलायर काठमाडाैं
२०७७ बैशाख १२ शुक्रबार ०८:२३:००
Read Time : > 2 मिनेट
नयाँCity

नेपाली सिनेमा : डिजिटल प्लेटफर्मभन्दा टाढा

Read Time : > 2 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७७ बैशाख १२ शुक्रबार ०८:२३:००

कोभिड–१९ को महामारीले संसारभरका मानिसलाई ‘लकडाउन’ दैनिकी सिकायो । विकसित मुलुकमा मात्र प्रचलनमा रहेको अनलाइन कारोबारलाई नेपालजस्ता विकासशील मुलुकमा पनि आममानिसको पहुँचमा पु-यायो । 

डिजिटल प्लेटफर्ममा नयाँ–पुराना फिल्म खोज्ने र हेर्ने शैली घरभित्रै कैद मानिसको दैनिकीको अभिन्न अंग बनेको छ, यतिवेला । यहीवेला प्रदर्शन मिति नै तोकिएका नयाँ नेपाली फिल्मका मेकर कहिले लकडाउन हट्ला र हलमा पु-याउँला भन्दै पर्खेर बसेका छन् ।

चिनियाँ भाषाको एक्सन फिल्म ‘नकआउट’को निर्माण पक्षले १६ अप्रिलमा अनलाइनमार्फत विश्वव्यापी प्रदर्शनमा ल्याउने घोषणा ग-यो । अनलाइन स्ट्रिमिङ प्लेटफर्म ‘आइचिई’मार्फत उक्त फिल्म २० अप्रिलदेखि प्रदर्शनमा आइसकेको छ । यस्तै, हलिउडको ‘युनिभर्सल पिक्चर्स’ले नयाँ–पुराना १७ वटा मुभीलाई अनलाइन स्ट्रिमिङमार्फत सार्वजनिक प्रदर्शनमा ल्याइसकेको छ । ‘कोरोना एन्जाइटी’बाट मानिसलाई त्राण दिन भए पनि फिल्महरूको अनलाइन प्रदर्शन आवश्यक देखिएको तर्क ‘युनिभर्सल पिक्चर्स’को छ ।


‘अनलाइनमार्फत फिल्म रिलिज गर्न भरपर्दो र सुरक्षित एप नेपालमा उपलब्ध छैनन् । नेटफ्लिक्स, हटस्टारजस्ता एपहरू आमदर्शकको पहुँचमा हुन्थे भने अनलाइन रिलिज असम्भव थिएन सायद ।’

तर, सिनेमा हल तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिइरहँदा के नेपाली फिल्म पनि यसरी नै सीधा डिजिटल प्लेटफर्ममा जान सक्छन् त ? ‘अनलाइनमार्फत फिल्म रिलिज गर्न भरपर्दो र सुरक्षित एप नेपालमा उपलब्ध छैनन्,’ निर्देशक अशोक शर्मा भन्छन्, ‘नेटफ्लिक्स, हटस्टारजस्ता एपहरू आमदर्शकको पहुँचमा हुन्थे भने अनलाइन रिलिज असम्भव थिएन सायद ।’

हुन त, नेटफ्लिक्स पनि सहरी इलाकामा प्रचलनमा नभएको होइन । तर, त्यस डिजिटल स्ट्रिमिङ प्लेटफर्मले नेपाली फिल्महरूको मार्केटिङमा चासो दिएको छैन । ‘नेटफ्लिक्सजस्तै डिजिटल प्लेटफर्म तयार पार्ने प्रयासमा हामी छौँ,’ शर्मा भन्छन्, ‘त्यो एप तयार हुन अझै ५–६ महिना लाग्छ ।’ उक्त एप आएपछि नेपाली फिल्मको विश्वव्यापी डिजिटल रिलिज सम्भव हुने उनको दाबी छ ।

हुन त, एनसेलसँगको सहकार्यमा मलेसियामा मुख्यालय रहेको ‘आइफ्लिक्स’ले नेपाली सिनेमा आफ्नो एपमा उपलब्ध गराउँदै आएको छ । तर, त्यो युट्युबभन्दा धेरै सीमित रहेको टिप्पणी दर्शकले गर्दै आएका छन् । त्यसैले लकडाउनको छुट्टीमा रहेका र घरमा इन्टरनेटको पहुँच पनि भएका दर्शकका लागि युट्युब नै फिल्म हेर्ने गतिलो प्लेटफर्म बनेको छ अहिले ।

निर्देशक तथा अभिनेता दीपकराज गिरी पनि नेपाल र विदेशमा सिनेमाको अवस्था फरक रहेको बताउँछन् । ‘विदेशमा अनलाइनमा पहँुच राम्रो छ । जनसंख्या धेरै छ । अनलाइनबाट आउने रकम पनि बढी हुन्छ,’ उनी भन्छन्, ‘उनीहरूले हलबाट भन्दा अनलाइन र टेलिभिजनबाट बढी पैसा कमाउँछन् ।’

नेपालमा भने इन्टरनेट नै सर्वसुलभ नहुनु र भएका ठाउँमा पनि स्लो हुनुजस्ता कारणले तत्काल नेपाली सिनेमाको डिजिटल यात्रा सम्भव नभएको उनको भनाइ छ । ‘हामी अलि ढिला छौँ र बजार पनि सानो छ,’ उनी भन्छन्, ‘ठूलो लगानीमा फिल्म बनाइएको हुन्छ । तर, त्यो लगानी उठाउन सक्ने गरी एपहरू तयार भएका छैनन् ।’

फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेल पनि काठमाडौंजस्तो सहरी क्षेत्रमै फिल्म हेर्ने माध्यम अनलाइन नबनिसकेको बताउँछन् । उनका अनुसार फिल्म ‘बुलबुल’लाई पनि एउटा एपमा रिलिज गरिएको थियो । तर, अपेक्षाकृत दर्शक नपाएपछि अनलाइन रिलिज रहरमै सीमित बन्यो ।

निर्देशक दीपेन्द्र के खनाल पनि नेपालमा अनलाइनबाट फिल्म रिलिज गर्न प्लेटफर्म नभएको बताउँछन् । ‘विदेशी प्लेटफर्ममा नेपाली फिल्मले प्रवेश पाएका छैनन्,’ उनी भन्छन्, ‘यहीवेला नेपाली फिल्मको डिजिटल यात्राको प्रस्थान बिन्दु हुन सक्थ्यो, तर गतिलो प्लेटफर्म नहुँदा नेपाली चलचित्रले खुम्चिएर बस्नुपर्ने अवस्था छ ।’

फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन मिति अनिश्चित बनेको छ । निर्देशक सुदर्शन थापा भन्छन्, ‘जनजीवन सामान्य भएपछि मात्र नयाँ मिति तय गर्नेछौँ ।’ नेपाली सिनेमाका लागि हलको विकल्प तयार नभइसकेको उनको भनाइ छ । भन्छन्, ‘त्यसैले अनलाइनमार्फत सिनेमा रिलिज गर्ने सोच छैन ।’ यस्तै, ‘चपली हाइट–३’ का निर्माता अर्जुन कुमार पनि अनलाइन रिलिजको पक्षमा छैनन् । 

फिल्म ‘प्रेम गीत–३’का निर्देशक सन्तोष सेन भन्छन्, ‘कोरोना संक्रमण साम्य भएपछि दुई महिना प्रचार–प्रसार गर्ने समय राखेर प्रदर्शन मिति तोक्नेछौँ ।’ लगानी सुरक्षित हुने भरपर्दो अवस्था नरहेकैले यस्तो वेलामा पनि नेपाली सिनेमाको अनलाइन रिलिज सम्भव नभएको सेन बताउँछन् ।