मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन झा काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार ०६:०४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

जनता समाजवादी पार्टी गठनबारे निर्वाचन आयोग र संसद्लाई जानकारी

Read Time : > 2 मिनेट
नवीन झा, काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार ०६:०४:००

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेको जानकारी निर्वाचन आयोगमा गराएका छन् । उनीहरूले संसद् सचिवालयलाई पनि त्यसको जानकारी दिएका छन् ।
दुई पार्टीबीच बुधबार मध्यराति पार्टी एकीकरण गर्ने सहमति भएको थियो । बिहीबार बिहान साढे १० बजे उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, शरत्सिंह भण्डारीसहितका नेताहरू आयोगमा पुगेर लिखित जानकारी दिएका हुन् । उनीहरूले पार्टी एकताका लागि भएको सहमतिको पत्र पनि आयोगमा पेस गरेका छन् । त्यसलगत्तै नेताहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पार्टी एकीकरण गर्नेबारे जानकारी गराएका थिए ।
दुई पार्टीबीच एकीकरणका लागि एक वर्षअघिदेखि छलफल चलिरहेको थियो । तर, सहमतिमा पुग्न सकेका थिएनन् । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि भने उनीहरूमाथि एकीकरण गर्न दबाब सिर्जना भएको थियो ।

सरकारकै सहयोगमा समाजवादी पार्टी फुटाउने कसरत तीव्र भएपछि बुधबार मध्यराति दुई पार्टीले एकीकरणको सहमति गरेका थिए । 
आयोगमा जानकारी गराएपछि नेताहरूले पार्टी विभाजन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयासलाई विफल बनाएको बताए । ‘प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर हामीलाई तर्साउन खोजेका थिए, तर हामीले थप एकजुट भएर देखाइदियौँ ।

प्रधानमन्त्री ओलीले अलि बढी नै सपनाहरू देख्ने गरेका छन्, तर उहाँका सपना सधैँ कहाँ पूरा हुन्छन् र ?’ आयोग परिसरमा नेता उपेन्द्र यादवले भने ।
अर्का नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले मधेसकेन्द्रित दल फुटाउने उद्देश्यसहित विधेयक ल्याए पनि अब उनकै पार्टी फुट्ने दाबी गरे । ‘हामीले त एकीकरण गरेर जवाफ दिएका छौँ, अब उहाँहरू आफैँ फुट्नुहुन्छ,’ उनले भने । अध्यादेश फिर्ता नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए । 

एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण गरी समाजवादी पार्टी गठन भएको थियो । त्यही वेलामा राजपासँग पनि एकीकरण गर्न छलफल सुरु भएको थियो । 
एकताका लागि राजपा नेपालले राजेन्द्र महतो र समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति बनाएर छलफल गरिरहेका थिए । यी समितिले नेतृत्वको व्यवस्थापनबाहेक एकीकरणका अन्य सबै विषय टुंगो लगाइसकेको थियो । तर, पटक–पटक संवाद गर्दा पनि त्यसमा कुरा नमिल्दा एकीकरण हुन सकेको थिएन । सरकारको अध्यादेशले दबाब बढाएपछि त्यसमा पनि नेताहरूले प्रारम्भिक सहमति गरेका छन् ।
नेताहरूका अनुसार बुधबार राति भएको एकीकरण बैठकमा महन्थ ठाकुरलाई पहिलो वरीयतामा राख्दै त्यसपछि क्रमशः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ रहने गरी सहमति भएको छ । त्यस्तै, दुवै पार्टीको केन्द्रीय तहमा रहेका नेताहरूको पद यथावत् राख्ने सहमति पनि बैठकमा भएको छ । 
नेता राजेन्द्र श्रेष्ठले समाजवादी र राजपाबीच समानताका आधारमा एकीकरण भएको बताए । ‘हामी सबै कुरा समान ढंगले टुंग्याउँछौँ, लकडाउन अलि खुकुलो भएपछि सबै विषय विधिवत् रूपमा सार्वजनिक गर्छौं,’ उनले भने । जनता समाजवादी पार्टीको झन्डा यसअघि समाजवादी पार्टीले प्रयोग गर्दै आएको राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गरिरहेको छाता राख्ने सहमति नेताहरूबीच भएको छ ।

रेणुको असफल योजना 
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै वरिष्ठ उपाध्यक्ष रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्ने चर्चा सुरु भइसकेको थियो । सरकारकै सहयोगमा विभाजनको अन्तिम कसरत भइरहेको सूचना पाएपछि बुधबार समाजवादीका शीर्ष नेताहरू नेतृ यादवसहितका सांसदहरूलाई भेटेर फकाउने प्रयासमा थिए ।

पार्टी विभाजनको हल्ला चिर्न विज्ञप्ति निकाल्न शीर्ष नेताहरूले गरेको आग्रह उपाध्यक्ष यादवले अस्वीकार गरेकी थिइन् । त्यससँगै बुधबार साँझ पूर्वराज्यमन्त्रीसमेत रहेका सांसद डा. सुरेन्द्र यादवलाई सत्तापक्षीय नेताहरूले जनकपुरबाट अपहरण शैलीमा काठमाडौं ल्याउन लागेको सूचना पाएपछि शीर्ष नेताहरू थप सशंकित भए । उपत्यकाबाहिर रहेका पार्टीका अन्य केही सांसद पनि काठमाडौं आउन थाले । नेतृ यादव र पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उनीहरूलाई नक्सालस्थित पाँचतारे होटेलमा भेला गरिरहेका थिए । जसले गर्दा एकीकरणसँगै समाजवादीको एक समूहले नयाँ पार्टी गठन गर्ने अनुमान गरिएको थियो । 

तर, जनकपुरबाट रातारात काठमाडौं ल्याइएका पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादव बिहीबार बिहान मर्निङवाकको बहानामा होटेलबाट निस्केर पार्टी शीर्ष नेतृत्वको सम्पर्कमा आए । उनीमार्फत होटेलमा रहेका अन्य सांसद तथा त्यहाँका गतिविधिको सूचना पाएपछि शीर्ष नेतृत्व बिहानैदेखि सम्भावित पार्टी विभाजन रोक्न सक्रिय भएका थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेता विभाजन रोक्न सक्रिय भए । त्यसमा राजपा नेता राजेन्द्र महतोसमेतले साथ दिए । उनीहरूले नेतृ यादवसहितका असन्तुष्ट नेता÷सांसदलाई एकीकृत नयाँ पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने वचन दिनुका साथै विगतका जस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका छन् । त्यसपछि मात्रै तत्काल फुटको सम्भावना टरेको नेताहरू बताउँछन् । 
 

पूर्वआइजिपी खनाल : अख्तियारको यात्रा, म्यारियटको बाटो ( खनालको अन्तर्वार्तासहित )

यो साउथ इन्डियन सिनेमा होइन, कर्नाटका र मध्यप्रदेशको राजनीति पनि होइन

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह