१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रवण थापा सर्लाही
२०७७ बैशाख ११ बिहीबार २०:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

जनकपुरमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएका बालकमा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ बैशाख ११ बिहीबार २०:५४:००

र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ आए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइएका सर्लाही धनकौल–५ का १४ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत ५ वैशाखमा उनी रहेको क्वारेन्टाइनमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी)मा उनको रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै पिसिआर परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा जनकपुरमा पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै सर्लाही घर फर्काइएको थियो ।

जनकपुरमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आए पनि थप परीक्षणका लागि उनको स्वाब संकलन गरेर प्रादेशिक अस्पताल जनकपुरले काठमाडौं पठाएको थियोे । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

बालकमा कोरोना संक्रमण पुष्टि भएको खबरसँगै उनलाई पुनः घरबाट ल्याएर हरकठ्वास्थित क्वारेन्टाइनमा राखिएको छ भने बालकको परिवारलाई समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । बालकसहित उनको परिवारमा ६ जना छन् । उनीहरूको शुक्रबार ऱ्यापिड टेस्ट गरिने जिसीले बताए ।

बालकको कन्ट्याक्ट ट्रेसिङ बुझ्दा स्थानीयसँग घुलमिल तथा भेटघाट नभएको प्रारम्भिक जानकारी प्राप्त भएको जिसीले बताए । भारतको दिल्लीस्थित झोला उत्पादन गर्ने उद्योगमा काम गर्ने ती बालक लकडाउनको समयमा पैदलै रौतहटको गौर नाका हुँदै नेपाल प्रवेश गरेका थिए । उनी आफ्नो घर सर्लाही आउँदै गरेको अवस्थामा प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो ।