१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ११ बिहीबार १९:४३:००
Read Time : > 1 मिनेट
समाचार

कृषि सहकारीले धानको बिउ बजार पुर्‍याउन नसक्दा किसानले पाएनन्

Read Time : > 1 मिनेट
२०७७ बैशाख ११ बिहीबार १९:४३:००

धानको बिउ राख्ने समय हुन लाग्दासमेत किसानले उन्नत जातको बिउ खरिद गर्न पाएका छैनन् । वैशाख मसान्तदेखि धानको बिउ राख्ने समय भए पनि बिउ उत्पादक कृषि सहकारीले बजारसम्म बिउ नपुऱ्याउँदा समस्या भएको किसानहरूको गुनासो छ ।

बिउ उत्पादक कृषि सहकारी र कम्पनीले धानको बिउ बजारसम्म पुऱ्याउन नसक्दा किसान समस्या परेको बिउ उत्पादन संघ टीकापुरका अध्यक्ष रामफल कठरियाले बताए । उनले किसान, एग्रोभेटलगायत अन्य व्यवसायीले दैनिक धानको बिउ माग गरिरहेको भए पनि पुऱ्याउन सक्ने अवस्था नरहेको बताए ।

अहिले टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी सातवटा बिउ उत्पादक कृषि सहकारी र तीनवटा बिउ उत्पादक कम्पनीसहित १० वटा कृषि सहकारी र कम्पनीले धान, गहुँ, तेलहन, दलहन बालीको बिउ उत्पादन गरिरहेका छन् । उनीहरूले खाद्यान्न बालीको मुल बिउ, प्रमाणित बिउ र उन्नत बिउ उत्पादन गरी किसानलाई बिक्री–वितरण गर्दै आएका छन् । 
 

बिउको माग धेरै आइरहेको भए पनि लकडाउनकै मारले गर्दा पुऱ्याउन नसकिरहेको अध्यक्ष कठरियाले बताए । पहिले भैरहवा, बुटवल, नेपालगन्जबाट धान र गहुँको बिउ आयात गरिए पनि पछिल्लो समय भने निर्यात हुन थालेको छ । 

बिउ उत्पादक कृषि सहकारी र कम्पनीसँग गरी अहिले धानको उन्नत बिउ मात्र पाँच हजार क्विन्टल रहेको छ भने अन्नबालीको बिउ सोही मात्रामा मौज्दात छ । जसमध्ये आधा स्थानीय किसानले प्रयोग गर्छन् भने अन्य बाह्य जिल्लामा निर्यात हुने गरेको छ । समयमा किसानलाई बिक्री–वितरणका लागि ग्रेडिङ, उमारशक्ति मापन, ट्याग,  प्याकिङ सबै तयारी पूरा भए पनि लकडाउनकै कारण किसानमाझ पुऱ्याउन कठिन भएको नमुना बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष जितबहादुर चौधरीले बताए । 

सरकारले कृषिलगायत अतिआवश्यक वस्तुलाई पासमार्फत काम गर्न सक्ने व्यवस्था गरे पनि लकडाउनमा गाडी ढुवानी महँगो हुने गरेको उनले बताए । उनका अनुसार समयमा साधनसमेत पाइँदैन ।  

उन्नत तथा गुणस्तरीय बिउको प्रयोग गरे २५ प्रतिशतसम्म उत्पादन बढ्ने भएकाले किसानहरूले मौसम र भूगोलअनुकूल धान खेती गर्ने गरेका छन् । किसानका लागि अहिले एक बोरा (४० केजी) धानको बिउ एक हजार चार सयदेखि एक हजार सात सयसम्ममा खरिद गर्न सक्ने गरी बिउ उत्पादकहरूले बिक्रीमूल्य निर्धारण गरेका छन् ।