मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख ११ बिहीबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार

महाकाली अस्पतालको आइसोलेसन भवन निर्माणमा कमसल इँटाको प्रयोग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ बैशाख ११ बिहीबार १५:००:००

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालमा एक करोडकाे लागतमा ५० शय्याकाे आइसोलेसन भवन निर्माण थालेको छ । त्यहाँ प्रयोग भएका इँटा तोकिएभन्दा गुणस्तरहीन पाइएको हो ।

महाकाली अस्पतालमा पुरानो भेन्टिलेटर खरिद प्रकरण सेलाउन नपाउँदै फेरि आइसोलेसन भवन निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भएको पाइएको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सम्झौता भएको दोस्रो दिनदेखि नै निर्माण कम्पनीले द्वयम इँटा प्रयोग गरिरहेको बताए । ‘अस्पतालजस्तो संवेदनशील भवनमा गुणस्तरहीन इँटा प्रयोगबारे मैले ठेकेदारसँग पटकपटक फेर्न भनेको छु,’ अध्यक्ष जोशीले भने, ‘बिहीबार त काम नै रोक्न भनेपछि मात्र इँटा फेर्छु भनेको छ ।’भवनकै मूल जगमा अब्बल इँटा प्रयोग हुनुपर्नेमा द्वयम इँटा प्रयोग भएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिले उक्त इँटा प्रयोग नगर्न निर्माण कम्पनीसँग भनेको छ । 

आइसोलेसन भवन निर्माणका लागि ठेक्का वाइकाे दिपिन विल्डर्स प्रालिका सञ्चालक दिपिन कार्कीले लकडाउनको समयमा रातिराति इँटा ल्याएकाले २५ हजार इँटामध्ये एक–दुई हजार इँटा द्वयम परेको बताए । ‘हामीले रातिराति इँटा ल्याएका हौँ,’ उनले भने, ‘केही इँटा द्वयम परेछन्, अब त्यस्तो इँटा मैले भवनमा प्रयोग हुँदैन ।’ भवन निर्माणका लागि कुल ९२ लाख ४३ हजारमा ठेक्का सम्झौता भएको हो । सम्झौताअनुरूप निर्माण कम्पनीले ८ वैशाखदेखि नै निर्माणको काम सुरु गरेको छ । 

७ वैशाखदेखि ७ जेठसम्ममा भवन निर्माण गरिसक्नुपर्ने भएका कारणले अस्पताल व्यवस्थापन समिति र प्रशासनले काममा भने कुनै अवरोध नगर्ने र निर्माण कम्पनीसँग समयमै काम गर्नका लागि ताकेता गर्ने जनाएका छन् ।