कोरोना नियन्त्रण अभियान : कञ्चनपुरमा तीस दिनमा तीस उपलब्धि
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानका क्रममा कञ्चनपुरमा तीस दिनमा तीसवटै उपलब्धि हासिल भएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ। एकमहिने उपलब्धि सार्जजनिक गर्दै प्रशासनले यस्तो दाबी गरेको हो।
स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि विभिन्न निकायसँग गरिएको समन्वयदेखि गुनासो सुन्नेसहितका विषयवस्तुलाई उपलब्धिका रूपमा राखेको छ।संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सुरक्षा निकायको बैठक, राहत वितरण, यात्रुको स्क्रिनिङ, क्वारेन्टाइन र आइसोलेसनमा राख्ने कामलाई प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले उपलब्धिको रूपमा सार्वजनिक गरेका हुन्।
२३ फागुनदेखि नै भीमदत्त नगरपालिकाले सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेर कोरोनाविरुद्ध रोकथामको प्रयास थालेको थियो। खतिवडाले जिल्लाका नाैवटै स्थानीय तहमा कोरोना जोखिम न्यूनीकरणको पूर्वतयारीसम्बन्धी कामको अनुगमनसमेत गरिएको बताए।
लकडाउनको बीचमा १५ भन्दा बढी जिल्लाका दुई हजार दुई सय ४२ मजदुरलाई उद्धार गरी घर पठाइएको छ। भारतमा उपचार गरी घर फर्किन लागेका ६ नेपालीको भारतबाट उद्धार गरी घर पठाइएको खतिवडाले जानकारी दिए।