मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ११ बिहीबार १२:०३:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनलगत्तै सिँगटी जलविद्युत् आयोजनाले स्थानीयका लागि सेयर निष्कासन गर्ने

Read Time : < 1 मिनेट
२०७७ बैशाख ११ बिहीबार १२:०३:००

दोलखाको उत्तरी गाउँ बाबरे र लामिडाँडामा निर्माणाधीन सिँगटी जलविद्युत् आयोजनाले लकडाउन सकिएलगत्तै स्थानीयका लागि सेयर निष्कासन गर्ने जनाएको छ । 

आयोजनाको निर्माण कम्पनी सिँगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित र सर्वसाधारणका लागि जारी गर्न लागेको ४३ लाख ५० हजार कित्ता साधारण सेयर लकडाउनका कारण पछि धकेलिएको बताएकाे छ । 

कम्पनीले चैत अन्तिममा आइपिओ निष्कासन गर्ने गरिएको भए पनि कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिले पछि धकेलिएको जनाएको छ । कम्पनीका सचिव रमेश अधिकारीले लकडाउन खुलेलगत्तै आइपिओ निष्कासनको प्रक्रिया थालिने बताए । 

कम्पनीले कालिञ्चोक र बिगु गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको जलविद्युत् आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत सेयर निष्कासन गर्ने तयारी अन्तिम चरणमा पुऱ्याएको थियो । 

१४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका कार्यकारी निर्देशक काजी लामाले जानकारी दिए । 

कम्पनी सचिव रमेश अधिकारीका अनुसार स्थानीयका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् २९ करोड रुपैयाँबराबरको २९ लाख कित्ता सेयर निष्कासन हुनेछ । 

पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । लकडाउनका कारण सेयर निष्कासन गर्न नपाउँदा आयोजनामा आर्थिक अभाव भएको छ । 

कम्पनीले आयोजनाको ९९ प्रतिशत काम सकिएको जनाएको छ ।