मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
पाइला टेक्नोलोजीले तयार पारेको नर्सिङ रोबोट ।
नवीन अर्याल काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार १०:३८:००
Read Time : > 2 मिनेट
नयाँCity

संकटमा सिर्जना : नर्सिङ रोबोटदेखि भेन्टिलेटरसम्म

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार १०:३८:००

नेपाली युवा वैज्ञानिकको टोलीले कोभिड–१९ का बिरामीको हेरचाहका लागि ‘नर्सिङ रोबोट’ बनाए । उनीहरूको लक्ष्य छ, स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित बिरामीबाट जोगाउने । यो रोबोटले आवश्यक खाना र औषधि बिरामीसम्म पुर्‍याउँछ । चीन, इटाली, दक्षिण कोरिया र अमेरिकामा मात्र होइन, नेपालमा पनि संक्रमितलाई रोबोटले सेवा दिनेछ । यस रोबोटको निर्माता कम्पनी हो, पाइला टेक्नोलोजी ।

पाइलाले नै कोभिड–१९ नियन्त्रणका लागि अल्ट्रा भायलेन्ट डिस्इन्फेक्सन रोबोट पनि बनाएको छ । त्यसमार्फत किरणको माध्यमबाट किटाणु नष्ट गर्न सकिने कम्पनीका सहसंस्थापक दीपकमल भुसालको दाबी छ । यसले अस्पताल, बैंक, विमानस्थल, मल, सुपरमार्केट, गोदाम, होटेल, रेस्टुराँ, कार्यालय, विद्यालयलगायत सार्वजनिकस्थलमा किरणको माध्यमबाट हानिकारक किटाणु नष्ट गर्न सकिने भुसाल बताउँछन् । भन्छन्, ‘अल्ट्रा भायलेट डिस्इन्फेक्सन प्रविधि र स्वचालित प्रक्रिया जडान गरिएको यो रोबोटबाट कोरोना संक्रमण रोकेर सार्वजनिक क्षेत्र सुरक्षित राख्न सकिन्छ ।’

पाइला टेक्नोलोजीले भेन्टिलेटर पनि बनाइसकेको छ । त्यसका लागि डा. भगवान कोइरालालगायत चिकित्सकसँग सल्लाह गरेर काम गरेको पाइलाका अर्का सञ्चालक रविन गिरी बताउँछन् । भन्छन्, ‘छिट्टै हामी भेन्टिलेटर सार्वजनिक गर्नेछौँ ।’ उनीहरूले नर्सिङ रोबोट बनाएर ललितपुरस्थित सुमेरु अस्पतालमा परीक्षण गरेका थिए । रोबोटबारे जानकारी गराइएका स्वास्थ्य मन्त्रालय र विभिन्न अस्पतालबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । उनीहरूले बनाएको नर्सिङ रोबोटप्रति भारतीय जनता पार्टीका वरिष्ठ नेता तरुण विजयले तारिफ गर्दै भारतीय प्रधानमन्त्री, नेपाली प्रधानमन्त्री, डा. हर्षवर्धन र पाइला टेक्नोलोजीलाई मेन्सन गर्दै रोबोटको तस्बिर ट्विट गरेका छन् ।

  • अध्येता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको मास्क ।

यस्तै, युवाद्वय कपालिक खनाल र सुशान्त दाहाल मिलेर देशभित्रै भेन्टिलेटर निर्माण गरेका छन् । कोरोना संक्रमित बढेमा इटालीमा जस्तै बिरामी छनोट गर्नुपर्ने अवस्था आउन नदिने उनीहरूको उद्देश्य हो । उनीहरूले बनाएको भेन्टिलेटर सानो क्षमताको हो, जुन आपत्कालीन अवस्थामा भेन्टिलेटर अभाव हुन नदिन तयार पारिएको हो । आवश्यकतानुसार क्षमता बढाउन सकिने उनीहरू बताउँछन् । त्यसको नमूना स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र ट्रमा सेन्टरका चिकित्सकहरूलाई पनि देखाएका छन् । डा. भगवान कोइरालाले थप अनुसन्धान र आवश्यक सुधारका लागि उनीहरूलाई टिप्स दिइरहेका छन् ।

यसैगरी, कोरोना संक्रमणको जोखिम कम गर्न दाङका युवा वैज्ञानिक मार्सल रोका नेतृत्वको टोलीले पनि स्यानिटाइजरको फोहोरा छर्ने स्वचालित टनेल बनाएको छ । त्यस टनेलमा मान्छे गेटमा पुग्नासाथ थाहा पाउने सेन्सर जडित छ । मेसिनका ६ वटा प्वालबाट पूरै शरीरमा पर्ने गरी स्यानिटाइजर छर्किइन्छ ।

भनिन्छ, हरेक विपत्तिले संकट मात्र निम्त्याउँदैन, अवसर पनि सिर्जना गर्छ । कोभिड–१९ ले नेपालमा पनि अवसर देखाइदिएको छ । अध्येता महावीर पुनको सक्रियता हेरौँ । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), एरोसोल बक्स, कोरोना टेस्टिङ बुथ, मास्क, भेन्टिलेटरलगायत सुरक्षा उपकरण बनाइरहेका छन् । उनी अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीका लागि पिपिई बनायो । यस्तै, अस्पतालको आइसियू र एयरकन्डिसनमा हावा फिल्टर गर्ने हाई इफिसेन्सी पार्टिकुलेट एयर (हेपा) फिल्टर बनायो । यही फिल्टर प्रयोग गरेर मास्क उत्पादन पनि गर्दै छन् पुनले । उनी भन्छन्, ‘अहिले भेन्टिलेटर, अल्ट्रा भायलेट डिस्इन्फेक्सन लाइटबाट किटाणु मार्ने प्रविधि र अस्पतालमा संक्रमितलाई खाना दिने रोबोट बनाइरहेका छौँ, युभी लाइट परीक्षण भइरहेको छ ।’

  • पोखराका इन्जिनियरले बनाएको स्यानिटाइजर टनेल ।

कोरोना कहरले देशभित्रै पिपिई र डिस्पोजेबल मास्क उत्पादन सुरु भएको छ । चिकित्सकले हात मात्र छिराएर बिरामीको उपचार गर्न मिल्ने ‘एरोसल बक्स’ पनि बन्न थालेका छन् । कोरियामा जस्तै संक्रमितको सुरक्षित नमुना संकलन गर्न ‘कोरोना टेस्टिङ बुथ’ तयार भइसकेका छन् । युवा वैज्ञानिकले नर्सिङ रोबोट, भेन्टिलेटर, अल्ट्रा भायलेट डिस्इन्फेक्सन रोबोट, अटोमेटिक स्यानिटाइजर मेसिन बनाउन थालिसकेका छन् । कोरोनाले डिजिटल बैंकिङ र ई–कमर्सको पनि सम्भावना देखाइदिएको छ ।

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वी ढोकामा अटोमेटिक स्यानिटाइजर टनेल राखिएको छ, जसभित्र छिरेपछि पाँच सेकेन्डमा पूरै शरीर स्यानिटाइज्ड हुन्छ । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले करिब डेढ लाख खर्चेर स्वचालित टनेल बनाएको हो । पोखरा विश्वविद्यालयमातहतको नेपाल इन्नोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनरसिप सेन्टर (एनआइटिइसी)ले पनि कोरोना टेस्टिङ बुथ तयार पारेको छ । दक्षिण कोरियाले सुरुमै प्रयोग गरेको यो बुुथ अहिले अमेरिका, बेलायत, इटालीलगायत विकसित मुलुकमा प्रयोगमा आइसकेको छ । यो पारदर्शी बुथभित्र चिकित्सक र बाहिर बिरामी बसेका हुन्छन् । चिकित्सकले बुथको प्वालबाट हात छिराएर बिरामीको नमुना संकलन गर्छन् । चिकित्सक र बिरामीबीच माइकमार्फत संवाद हुन्छ । यस्तै, त्रिवि शिक्षण अस्पतालमा बिरामीलाई खाना सर्भ गर्ने रोबोटको सफल परीक्षण गरिएको छ । यसको निर्माण गरेका हुन्, रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन)का इन्जिनियरले ।