मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
पिटर जे कार्थक, साहित्यकार
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार ०९:०२:००
साहित्य

रहेनन् पिटर जे कार्थक

नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ११ बिहीबार ०९:०२:००

भारतको सिलोङमा सन् १९४३ मा जन्मेका कार्थक सन् १९६५ मा काठमाडौं आएर यतै बसे । र, यहीँ देहत्याग गरे ।

साहित्यकार शंकर लामिछानेले जीवनभर दुईवटा उपन्यासमा मात्र भूमिका लेखे । ती थिए– पारिजातको ‘शिरीषको फूल’ र पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ । पारिजात र शंकर लामिछाने दुवैले संसार छाडिसकेको धेरै भयो । लामिछानेले भूमिका लेखेका दुईमध्ये एक उपन्यासका स्रष्टा कार्थक पनि अब रहेनन् । बुधबार बिहान साढे पाँच बजे नेपाली साहित्यका अग्रज सर्जक कार्थकले ७७ वर्षको उमेरमा संसार त्यागे ।

पछिल्लो समय गीतकार तथा बुकहिल पब्लिकेसनका सञ्चालक भूपेन्द्र खड्का कार्थकसँग नजिक थिए । बुकहिलले नै कार्थकको अंग्रेजी उपन्यास ‘काठमान्ड्रुइड्स’ प्रकाशित गरेको थियो । खड्काका अनुसार कार्थकले ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ लेखिसकेपछि लामिछानेलाई भूमिका लेखिदिन अनुरोध गरेका थिए । त्यसवेला लामिछानेको प्रतिक्रिया थियो, ‘पहिले पढ्छु, मनपर्‍यो भने लेख्छु, नत्र लेख्दिनँ ।’ पाण्डुलिपि मन परेपछि नै कार्थकको उपन्यासले लामिछानेको भूमिका पायो । ०३४ सालमा उपन्यास प्रकाशित भयो, साझा पुरस्कार पनि पायो । खड्का भन्छन्, ‘कार्थकको मौलिक लेखन नेपाली साहित्यले सम्झिरहनेछ ।’

नेपाली साहित्यका अग्रज सर्जक पिटर जे कार्थकको ७७ वर्षको उमेरमा बुधबार बिहान साढे पाँच बजे निधन भएको छ ।

साहित्यकार अविनाश श्रेष्ठ ०४७–४८ सालतिर ‘समकालीन नेपाली साहित्य’ पत्रिकाका सम्पादक थिए । नेपाल प्रज्ञा प्रतिष्ठानमा थियो, श्रेष्ठको अफिस । छेवैमा थियो, गायक, गीतकार, संगीतकार अम्बर गुरुङको पनि अफिस । गुरुङकहाँ कार्थक वेला–वेलामा आउँथे । सोहीक्रममा प्रज्ञा प्रतिष्ठानमै गुरुङले श्रेष्ठलाई कार्थकसँग परिचय गराए । श्रेष्ठले कार्थकको उपन्यास पढिसकेका थिए । उनले कार्थकसँग कथा मागे । श्रेष्ठ सम्झिन्छन्, ‘निकै कर गरेपछि उहाँले लामो कथा दिनुभो ‘सुपारीको रूख’ । धरानको लाहुरेको क्यान्टोन्मेन्टमा आधारित थियो त्यो । कथा छापिएपछि हाम्रो घनिष्ट सम्बन्ध भयो ।’

पछिल्लो समय लामो कथाको सम्पादन गरिरहेका श्रेष्ठले फेसबुक म्यासेन्जरमा कार्थकको नम्बर मागे । ‘तर, फोन गर्न पाइनँ । कथा राख्न पाऊँ भनेर उहाँलाई भन्न पाइनँ । बडो अफसोच लागिरहेको छ ।’ कार्थक आफ्नो एक लाख १७ हजार शब्दको नयाँ अंग्रेजी उपन्यासको दोस्रोपटक सम्पादन गरिरहेका थिए । खड्काका अनुसार लकडाउनभित्रै सम्पादन सक्ने बताएका थिए ।

कार्थक दार्जिलिङमा सन् १९६४ तिरै ‘हिलियन्स’ ब्यान्डमार्फत संगीतमा सक्रिय थिए । भारतको सिलोङमा सन् १९४३ मा जन्मेका उनी सन् १९६५ मा काठमाडौं आएर यतै बसे । क्यान्सर लागेको पत्ता लागेपछि अस्पताल भर्ना भए । तर, क्यान्सर दोस्रो चरणमा पुगिसकेको थियो । चिकित्सकका अनुसार उनको निधन भने हृदयाघातका कारण भएको हो । उनका अन्य कृति हुन् । ‘पिटरका कथाहरू’, ‘मानस’, ‘नेपाली म्युजिक मेकर्स : बिट्विन द डेल्स अफ दार्जिलिङ एन्ड द भेल्स अफ काठमाडौं’ ।