Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:२५:००
Read Time : > 1 मिनेट
अर्थ

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:२५:००

बन्दाबन्दीपछि रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ९ सय ४६ किलोमिटर लम्बाइको यस आयोजनाअन्तर्गत बर्दिवास–निजगढ (७० किमि) खण्डमा निर्माण थालनी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । ‘धेरै मेसिनको प्रयोग हुने र थोरै जनशक्तिबाट पनि काम हुने भएकाले यस खण्डमा पर्ने १६ वटा पुल निर्माणलाई क्रमशः थालिएको छ,’ उनले भने ।  

सरकारले गौरवका आयोजना निर्माणलाई सुचारु गर्ने निर्णय गरेसँगै सम्बन्धित निर्माण व्यवसायीसँग पनि सम्पर्क गरी काम अघि बढाउन समन्वय गरिरहेको रेल विभागका अधिकारीहरूको भनाइ छ । बन्दाबन्दीअघि बर्दिवास–निजगढ खण्डको पनि बर्दिवासदेखि लालबन्दी खण्डको ३० किलोटिरमा ट्र्याक बेड निर्माण भइरहेको थियो । त्यसमध्ये २८ किमि सम्पन्न भइसकेको छ । लालबन्दी–निजगढ रेलमार्ग खण्डको ४० किलोमिटर लम्बाइमा भने रेलमार्ग निर्माण सुरु गरिँदै छ ।  

बन्दाबन्दीअघि २ हजार २ सय कामदर कार्यरत

लकडाउनअघि यस आयोजनामा करिब २ हजार २ सय कामदार कार्यरत रहेका थिए । बन्दाबन्दीपछि आयोजनाको काम बन्द हुँदा अधिकांश कामदार घर फर्किसकेका छन् । ‘अहिले केही कामदार मात्र कार्यस्थलमा रहेका छन्, तिनै कामदारलाई काममा लगाउन सुरु गरिएको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने । उनका अनुसार अधिकांश निर्माण व्यवसायीलाई काम थाल्न जानकारी गराइएको छ भने आवश्यक तयारीको काम भइरहेको छ । 

पुल निर्माणको काम तत्काल सुरु गरिए पनि बेसमेन्ट तयारीका लागि मेसिन, कामदार र निर्माण सामग्री उपलब्ध नभएसम्म काम थाल्न कठिन छ । सबै सुरक्षा मापदण्ड अपनाएर चाँडै सबै निर्माणस्थलमा सानो स्केलमा भए पनि काम सुरु गर्ने विभागको तयारी छ । काम थालिएका साइटमा आवश्यक सामाजिक दूरी र सुरक्षाका आवश्यक उपाय कायम गरिएको छ । आयोजनाका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउने काममा पनि प्रशासनमार्फत बिस्तारै सहज बनाउने काम भइरहेको छ ।  

निर्माणस्थलमा रहेका कामदार मात्र सक्रिय

विभगले आयोजनामा रोकिएर रहेका कामदारलाई मात्र अहिले निर्माण कार्यमा लगाइरहेको छ । घर फर्किएका कामदार भने बन्दाबन्दीका कारण अझै काममा फर्किन सकेका छैनन् । निर्माण व्यवसायी, स्थानीय प्रशासन र अन्य पक्षहरूको अनुगमन र समन्वयमा काम भइरहेको छ । तत्काल चाहेर पनि आंशिक रूपमा मात्र काम थालनी गर्नुपर्ने अवस्था छ ।  

पुल र नदी नियन्त्रणका आयोजना बर्खा सुरु हुनुअघि नै सक्नुपर्ने निर्माण व्यवसायीहरूको भनाइ छ । यस्ता आयोजना देशका विभिन्न ठाउँमा सुचारु गर्न थालिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

पुल निर्माणका लागि आवश्यक पर्ने टेन्डम (तार तान्ने) मेसिनलगायतका उपकरणहरू र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्न वस्तुको ढुवानीसमेत भइसकेकाले बर्खाअघि नै काम थाल्दा क्षति कम हुनेछ । प्रशासनले पनि बिस्तारै सहज बनाउँदै लगेको छ । पुल निर्माणका लागि निर्माण व्यवसायीहरूले केही पुल आयोजनामा स्लाब ढलान गर्ने फर्मा राखी रडसमेत बाँधिसकेका र प्रिस्टेज पुल निर्माणका लागि टेन्डम तार जडान गरिसकेका आयोजनासमेत रहेका छन् ।