Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:४७:००
अर्थ

विश्वका दुईतिहाइ विमान ग्राउन्डेड, पार्किङस्थलकै अभाव 

नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:४७:००

अहिले विश्वभरका दुईतिहाइभन्दा धेरै हवाईजहाजहरू ग्राउन्डेड छन् । पहिलेबाटै आर्थिक समस्यासँग जुधिरहेका हवाईसेवा प्रदायकहरूको आम्दानी एकातिर शून्यमा ओर्लिएको छ भने अर्कातर्फ महँगो पार्किङ शुल्क र मर्मत–सम्भारको खर्चको भार थेग्नुपर्ने अवस्था आइपरेको छ, जसका कारण उनीहरू जीवन–मरणको दोसाँधमा पुगेका छन् ।  

कोरोना भाइरसको संक्रमणको डरले बाह्य एवं आन्तरिक उडानसमेत ठप्प भएका कारण हिजोआज आकाशहरू खाली छन् । त्यसैले, विमान कम्पनीहरूलाई विमानस्थलका रनवे एवं पार्किङस्थलमा लाइन लगाएर पार्किङ गरिएका हजारौँ विमानहरूको नियमित रेखदेख एवं सुरक्षा गर्ने नयाँ चुनौती आइपरेको छ ।

विश्वका दुईतिहाइ विमानका लागि उचित पार्किङस्थल पाउन र ती ग्राउन्डेड विमानलाई उडानयोग्य बनाइराख्ने सन् २०२० को व्यावसायिक प्राथमिकता बनेको छ ।

हवाई उद्योगको अनुसन्धान गर्ने व्यावसायिक प्रतिष्ठान सिरिअमका अनुसार अहिले विश्वभर १६ हजारभन्दा बढी यात्रु जेट विमान ग्राउन्डेड छन् । जसका कारण विश्वका दुईतिहाइ विमानका लागि उचित पार्किङस्थल पाउन र ती ग्राउन्डेड विमानलाई उडानयोग्य बनाइराख्ने सन् २०२० को व्यावसायिक प्राथमिकता बनेको छ ।

ग्राउन्डेड एयरक्राफ्टलाई उडानयोग्य बनाइराख्न तिनलाई थन्क्याएर राख्दा थुप्रै कुराको ध्यान राख्नु जरुरी हुन्छ । विमानको हाइड्रोलिकदेखि फ्लाइट कन्ट्रोल प्रणालीसम्म अनि विमानलाई किराफट्यांग्रा र चराको वासस्थान बन्नबाट जोगाउनेसम्मका समस्यासँग जुध्नुपर्ने हुन्छ । आद्रताको अर्काे ठूलो समस्या त ज्यूँकात्यूँ छँदै छ । जहाजलाई ओस र बाफबाट बचाउन सकिएन भने विमानका पार्टपुर्जा खिया लाग्नेदेखि आन्तरिक सज्जा बिग्रिनेसमेतका समस्या आउँछन् । त्यसैगरी, विमानलाई पार्क गरेर राख्दासमेत इन्धन भरिएका हुन्छन् ताकि वायुको वेगले नहल्लाओस् र ट्यांक सुक्खा नहोस् । 

‘विमानलाई यो स्तरमा संरक्षण गरिएको हुन्छ भनेर कसैले सोचेको पनि हुँदैन,’ नयाँदिल्लीस्थित विमान मर्मत–सम्भार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द भाष्कर भन्छन्, ‘पार्किङस्थल आफैँमा एउटा समस्या हो । यी काम लजिस्टिकका दुस्वप्न हुन्, जसमा हामी चौबिसै घन्टा लागिरहनुपर्छ ।’

मास ग्राउन्डिङ

सिरिअमका अनुसार अहिले दुईतिहाइ प्यासेन्जर जेट ग्राउन्डेड छन् । यति ठूलो संख्यामा थन्क्याएर राखिएका विमानको व्यवस्थापन गर्नु संकटग्रस्त कम्पनीका लागि ठूलै चुनौती हो । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले सन् २०२० मा यात्रुबाहक विमान कम्पनीको आम्दानी एकतिहाइले खस्किने र २ करोड ५० लाखको रोजगारी खतरामा पर्न सक्ने चेतावनी दिएको छ । 

एयरलाइन्स कम्पनीहरू अस्ट्रेलियाका मानव बसोवास नभएका निर्जन एवं सुक्खा स्थानदेखि अमेरिकाको मोजाभे मरुभूमिका विमानस्थल एवं ह्यांगरजस्ता विमान थन्क्याउने उपयुक्त स्थानको खोजीमा छन् । मोजाभे मरुभूमिको आस्र्टडम विमानस्थलको रनवेमा अहिले साइज र टाइपअनुसार मिलाएर २ सयभन्दा धेरै विमान पार्क गरेर राखिएका छन् । केवल मर्मत–सम्भारका लागि आवश्यक पर्ने स्थान खाली छुट्याएर तिनलाई पंक्तिबद्ध रूपले पार्क गरिएको सो कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 

विमान कम्पनीहरूलाई विमानस्थलका रनवे एवं पार्किङस्थलमा लाइन लगाएर पार्किङ गरिएका हजारौँ विमानहरूको नियमित रेखदेख एवं सुरक्षा गर्ने नयाँ चुनौती आइपरेको छ ।

सिफोल प्याक छ,’ केएलएमको कम्युनिटी म्यानेजर एननेमिइक कोर्निल्जे सिफोलले पार्किङ शुल्क नलिएकोमा जोड दिँदै भन्छिन्, ‘तर, दुःखको कुरा हाम्रो विमानस्थल यात्रुहरूले होइन, -याम्प र रनवेसमेतमा पार्किङ गरिएका एयरप्लेनहरूले भरिएको छ । यो दुःखद र अनौठो दृश्यको कोरियोग्राफ गर्नु पार्किङको पहेँली सुल्झ्याउनुजस्तै भएको छ ।’

विश्वभर पार्किङ शुल्क एयरपोर्टपिच्छे फरक–फरक छ । भारतमा ठूला जहाज पार्क गर्नका लागि मात्रै पनि दैनिक १ हजार डलर तिर्नुपर्छ । दुबईस्थित एयर सर्भिस कम्पनी मार्टिन कन्सल्टिङ एलएलसीका संस्थापक मार्क मार्टिनका अनुसार २ सय ५० जेट विमान भएका एयरलाइन्सले भारी छुटमा पार्किङ पाउँदासमेत ६ महिनाको ग्राउन्डिङका लागि मात्रै पनि १ करोड २५ लाख डलर खर्चिनुपर्ने हुन्छ । नियमित मर्मत–सम्भार एवं देखभालको खर्च छुट्टै छँदै छ । आइएटिएले आफ्नो अनलाइन म्याग्जिनमा सरकारहरूलाई पार्किङ शुल्क कटौती गर्न आग्रह गरेको छ । अहिलेको संकटको घडीमा यी चार्जहरूले कुनै एयरलाइन्सलाई बचाइराख्न वा धराशायी बनाउन सक्ने उनको तर्क म्याग्जिनले गरेको छ  ।

स्याम्पु एवं सरसफाइ 

अबुधाबीस्थित इत्तिहाद एयरवेज पिजेएससीले आफ्ना इन्जिनियरहरू चौबिसै घन्टा ग्राउन्डेड विमानको नियमित मर्मत–सम्भार एवं देखभालमा लागिरहेको बताउँछ । इत्तिहादले जहाजको आन्तरिक पावर सप्लाई सुनिश्चितका लागि विमानको इन्जिन नियमित रूपले चलाउन, फ्लाइट कन्ट्रोल, सेन्सर एवं इन्जिनलाई बालुवा र धुलोका कणबाट जोगाउन, विमानका क्याबिन सफा गर्न, सिट कभर बदल्ने एवं कार्पेटहरू स्याम्पुले धुनेसम्मका कामका लागि प्रत्येक सिफ्टमा २ सय कामदारलाई नियमित काममा लगाइरहेको बताएको छ । ‘मेरो एभिएसन करिअरमा यस्तो कहिल्यै देखेको थिइनँ,’ इत्तिहादका टेक्निकल अपरेसनका प्रमुख गारी वार्न भन्छन्, ‘हवाईजहाज धेरै जटिल मेसिनरी हो । विमानको पार्किङ कार पार्किङ गरेजस्तो होइन ।’

त्यसैगरी, विमानको टायरमा पनि दिनहुँ ध्यान दिइराख्नुपर्ने हुन्छ । क्वान्टास एयरवेज बोइङ ७३७ देखि एयरबस ए३८० सम्मका सबै विमानको ह्विल वेला–वेलामा घुमिरहेको हुनुपर्छ भन्छन् । हरेक एक–दुई हप्तामा विमानलाई ज्याकले उचालेर तिनको ह्विल घुमाइराख्नुपर्छ, खिया लाग्नबाट बचाउन ल्यान्डिङ गेयरमा हाइड्रोलिक लिक्विड हालिरहनुपर्छ । इन्जिन सुक्खा राख्न ठुल्ठूला सिलिकाका झोलाले ढाकेर आद्रता सोसिरहनुपर्छ । फ्युजलेजलगायतका विमानका सबै बाहिरका प्वालहरू बन्द गर्नुपर्छ ताकि किराफट्यांग्रा र चराहरूले गुँड नबनाऊन् ।

क्वान्टास एयरले जेटस्टार बोइङ७८७ ड्रिमलाइनरलगायत आफ्ना २ सयभन्दा बढी जहाजलाई अस्ट्रेलियाका एयरपोर्टहरूका पार्किङमा राखेको छ । यो देशको मौसम सुक्खा भएकाले जहाज थन्क्याउन अनुकूल छ । एसियामा आद्र्रताको मात्रा उच्च हुन्छ र टाइफुनको डर पनि छ । त्यसैले, एसिया प्यासिफिक एयरक्राफ्ट स्टोरेज कम्पनी पिटिवाईले सिंगापुर एयरलाइन्स एवं फिजी एयरवेजजस्ता एसियाली एयरलाइन्सहरूको विमान अस्ट्रेलियाको उत्तरी क्षेत्र एलिस स्प्रिङनजिकका पार्किङस्थलमा लगेर राखेको छ । अहिले यो स्टोरेज कम्पनीसँग ७० जहाज थन्क्याउने क्षमता छ, जसलाई उसले छिट्टै १ सयभन्दा बढी पु-याउने विचार गरिरहेको प्रबन्ध निर्देशक टोम भिन्सेन्ट सुनाउँछन् । ‘पार्किङका लागि उपयुक्त स्थानहरूको अभाव छ,’ उनी भन्छन्, ‘आउँदो हप्ताका लागि हामीसँग लागि ठूलो संख्यामा डेलिभरीहरू छन् ।’

एसिया प्रशान्त क्षेत्रमा एभिएसनको बजार तीव्र रूपले बढिरहेको छ । इन्डोनेसिया, भियतनाम, मलेसिया, भारतलगायतका मुलुकबाट हजाराँै विमानको माग भइरहेको छ । तर, कोरोना भाइरसका कारण त्यो विस्तारमा अहिले रोकावट आएको छ । यसबाट बोइङ तथा एयरबसजस्ता जाइन्ट उत्पादकहरूसमेत मारमा परेका छन् । 

फिनल्यान्डको एयरलाइन्स कम्पनी फिनएयर ओवाइजीले पनि आफ्ना जहाजहरू हेलसिन्कीमा थन्क्याएको छ । ऊसँग ताम्पेरे, रोभानेइमी एवं लापल्यान्ड प्रोभिन्सको राजधानीलगायतका एयरपोर्टहरू पनि छन्, जहाँ उसले अन्य विमान थन्क्याउन सक्छ । फिनएयरले हरेक चौध दिनमा एयरक्राफ्टका ब्याट्रीहरू रिकनेक्ट गर्ने काम गरिरहेको छ । प्रोटेक्टिभ कभर हटाउने, इन्जिन स्टार्ट गर्ने एयरकन्डिसनको जाँचपडताल गर्ने, एन्टी आइस सिस्टम चेक गर्नेलगायतका विस्तृत मर्मत–सम्भार एवं चेकजाँचहरू उसले महिनैपिच्छे गर्नुपर्ने हुन्छ । 

पार्किङस्थल

ब्रिटिस एयरवेजले चाहिँ आफ्ना १२ थान एयरबस ए३८० मध्ये ६ वटालाई फ्रान्सको चाटेउरोक्समा पार्क गरेको छ ।  टरम्याक एरोसेभ एसएएससँग फ्रान्स र स्पेनमा समेत विमान थन्क्याउने स्टोरहरू छन् । उसलाई ठूलो संख्यामा विमान राखिदिन अनुरोध आइरहेको छ । त्यसैगरी, क्यालिफोर्नियाको दक्षिणमा रहेको भिक्टोरभिलस्थित एयरपोर्टलाई पार्किङका लागि अनुरोध आइरहेका छन्, जसको स्वामित्व कमएभी एलएलसीसँग छ । त्यसैगरी, न्यू दिल्लीजस्ता साँघुरा एयरपोर्टहरू, जहाँ अतिरिक्ति पार्किकस्थल छैनन्, तिनमा रनवेलाई नै अस्थायी पार्किङमा रूपान्तरण गरिएको छ ।

युनाइटेड एयरलाइन्स होल्डिई इन्कले नेवार्क र सिकागोका पार्किङस्थलमा ४ सय विमान पार्क गरेको छ । डेल्टा एयरलाइन्स इन्कले एरिजोनाको टक्सननजिकैको पिनाल एयरपार्कमा आफ्ना विमानहरू पार्क गरेको छ । अमेरिकन एयरलाइन्स ग्रुप इन्कले तुल्सा, ओक्लोहोमा र अन्य स्थानमा रहेका आफ्ना विमान मर्मत–सम्भार फ्यासिलिटीलाई पनि विमान थन्क्याउन प्रयोग गरिरहेको छ ।