१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख १० बुधबार १६:५८:००
Read Time : > 1 मिनेट
समाचार

गुल्मीका सबै पालिकाले दमकल खरिद गर्ने

Read Time : > 1 मिनेट
२०७७ बैशाख १० बुधबार १६:५८:००

गुल्मीका सबै स्थानीय तहमा दमकल खरिद गर्ने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि दमकल खरिद गर्ने निर्णय गरेको हो । 

केही दिनअघि मात्रै चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुर बजारमा दमकल नभएका कारण मानवीय तथा भौतिक क्षति भएको थियो । पहाडी जिल्लाको सन्दर्भमा प्रत्येक वडा सडकको पहुँच छन् । टोलटोलमा भने सम्भव छैन । बर्सेनि सुक्खा समयमा घर, गोठ तथा जंगलहरूमा आगोले निकै क्षति गर्ने गरेको सन्दर्भमा स्थानीय तहकै मागको आधारमा विपत् व्यवस्थापन समितिले निर्णय गरेको प्रदेश ५ सांसद तथा नेकपा जिल्ला इन्चार्ज दिनेश पन्थीले जानकारी दिए । उनले अहिले सबै टोलमा दमकल नपुगे पनि आगामी दिनमा दमकललाई पनि महसुस गरेर सडक विस्तारको काम गर्नुपर्ने बताए । 

त्यस्तै पेट्रोलियम व्यवसायी संघले पेट्रोलियम पदार्थको अभाव हुन नदिने र पसलहरूबाट बिक्री–वितरण तत्काल बन्द नगरे कडा कारबाही गर्ने पनि समितिले निर्णय गरेको छ । कोरोना संक्रमणको विषयमा विपत् व्यवस्थापन समितिले जिल्लाबाहिरबाट आउने सबैलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको ऱ्यापिट टेस्ट गर्ने र प्रमाणपत्र दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए । 

बालबालिकालाई दिइने खोप तथा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्ने, अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्डअनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएको पाण्डेयले बताए । त्यस्तै जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल, अन्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास, क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र जिल्लाको अनुमति लिएको आधारमा मात्र प्रवेश दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । किसानहरूलाई खेतीपाती गर्ने कार्यमा सहजीकरण र निरन्तरता दिने, स्वास्थ्य कार्यालयले औषधि आपूर्ति गर्ने, उद्योग वाणिज्य संघले खाद्यान्न आपूर्ति गर्ने, कृषि ज्ञान केन्द्रले मल, बिउ र कीटनाशक औषधि व्यवस्थापन गर्ने निर्णय भएको शर्माले बताए । 

प्रत्येक एम्बुलेन्सलाई पार्टेसन गर्ने र अक्सिजन सिलिन्डर अनिवार्य रूपमा राखेर मापदण्डअनुरूप सञ्चालन गर्ने, बाढी र पहिरोको जोखिमपूर्ण बस्तीको स्थानान्तरण गर्ने साथै अति आवश्यक निर्माण कार्यहरूलाई सम्बन्धित पालिकाको सिफारिसमा अघि बढाउन सहजीकरण गर्ने निर्णय जिल्ला विपत् व्यवस्थापन समितिले गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए ।