मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
रामचन्द्र न्यौपाने डोल्पा
२०७७ बैशाख १० बुधबार १२:५५:००
Read Time : < 1 मिनेट
अर्थ

डोल्पामा पहिलोपटक यार्सा संकलनमा रोक

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने डोल्पा
२०७७ बैशाख १० बुधबार १२:५५:००

हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ ।

कोरोना भाइरस फैलिन नदिन पूर्वसतर्कता अपनाउनका लागि संकलनमा रोक लगाइएको हो ।

सदरमुकाम दुनैमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।

अहिलेको विषम परिस्थितिमा अघिल्लो वर्षमा जस्तै यार्सागुम्बा संकलन गर्न दिनु डोल्पाली र समग्र देशका लागि घातक हुन सक्ने भएकाले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

देश लकडाउनमा रहेको अवस्थामा हजारौँ मान्छे भित्र्याएर यार्सा पाटनहरू फुकुवा गर्न नसकिने बताउँदै जिल्लाका मुख्य नाकाहरू सिल गरिनेसमेत प्रजिअ सुनारले बताए । 

जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले वैशाख २० गतेभित्र पुन: एकपटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुंगा लगाइने बताए । 

राज्य नै संकटमा भएको वेला विपत्र व्यवस्थापन समितिले निर्णय गर्नु जायज रहे पनि डोल्पाली जनता वर्षौंदेखि यार्सागुम्बामै निर्भर भएकाले यसबारे विचार गर्नुपर्ने उनको माग छ । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा यार्सागुम्बा संकलन गरिँदै आएको थियो । 

नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वरभूमिको रूपमा चिनिने डोल्पामा विगत वीस वर्षदेखि व्यावसायिक रूपमा यार्सागुम्बा संकलन हुँदै आएको छ ।

अघिल्ला वर्षहरूमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट दशौँ हजार सर्वसाधारण यार्सागुम्बा संकलनका लागि डोल्पा आउने गर्थे ।