मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०९:०३:००
Read Time : > 1 मिनेट
अर्थ

नयाँ पत्रिका समाचार प्रभाव : विदेशी पाइलटको तलब ५० प्रतिशत कटौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०९:०३:००

नेपाल वायुसेवा निगमले विदेशी पाइलटको तलब ५० प्रतिशत कटौती गर्ने भएको छ । निगममा वाइडबडीका लागि ११ र न्यारोबडीका २ गरी १३ विदेशी पाइलट छन् । कोभिड–१९ नामको कोरोना भाइरसका कारण संसारभरका एयरलाइन्सले कर्मचारीसहित पाइलट कटौतीको निर्णय गरिरहेका वेला निगमले भने करोडौँ रुपैयाँ तलब दिइरहेको थियो ।

यसको सबैतिरबाट आलोचना भएपछि निगममा कार्यरत विदेशी पाइलटको तलब कटौती गर्ने निर्णय भएको कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ‘१० हजार डलरसम्म तलब हुनेको ४० प्रतिशत र १० हजार डलरभन्दा बढी हुनेको ५० प्रतिशत तलब कटौती गर्ने निर्णय भएको हो,’ घिमिरेले भने । निगमका विदेशी पाइलटको पारिश्रमिक करबाहेक १३ हजार डलर छ । करबापतको ३६ प्रतिशत रकम निगमले आफैँ व्यहोर्दै आएको छ । 

नेपाल सरकारले चैत १० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध वैशाख १८ सम्मका लागि तोकिएको छ । अझै खुल्ने निश्चित छैन । १ हजार ४ सयभन्दा बढी कर्मचारी रहेको निगमका लागि मासिक ८ करोड रुपैयाँ तलबमा खर्च हुने गरेको छ । १३ विदेशी पाइलटका लागि मात्रै मासिक ३ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै
आएको छ । 

निगमले केही दिनअगाडि मात्रै निगमलाई अहिलेकै अवस्थाबाट हेर्दा ४ अर्ब घाटा लाग्ने देखिएको भन्दै सरकारलाई नगद प्रवाहमा सहयोग गर्न आग्रहसहितको पत्र लेखेको थियो । निगमको वार्षिक आम्दानी १६ अर्ब रुपैयाँ हो । यस वर्षको अहिलेको अवस्थामा चार महिना असर गर्ने भन्दै ४ अर्ब रुपैयाँ आम्दानी गुम्ने देखिएको निगमले जनाउँदै आएको छ । निगमको ग्राउन्ड ह्यान्डलिङतर्फको समेत आम्दानी गुमेकाले तलब खुवाउनसमेत समस्या हुने अवस्था आएको छ । 

नियमविपरीत अझै दुई विदेशी पाइलट

नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई नयाँ जहाज ल्याएको पाँच वर्षभित्र नेपाली जनशक्ति उत्पादन गर्नुपर्ने प्रावधान राखेको छ । निगमले एयरबस ३२० जहाज खरिद गरेको ६ वर्ष पूरा भइसकेको छ । तर, अझै पनि न्यारोबडी जहाजमा निगमले दुई विदेशी पाइलटलाई २६ हजार डलर तलबमा राखिरहेको छ । निगमले सन् २०१४ मा दुई जहाज खरिद गरेको थियो । दुई जहाजमा क्याप्टेन १९ जना र कोपालइट १६ जना पुगिसकेका छन् ।

नेपाली पाइलट नै तयार रहेको अवस्थामा पनि दुई विदेशी पाइलट राखिएका छन् । दुई जहाज उडान गर्न १४ क्याप्टेन भए पुग्छ । अहिले पनि नागराज र मोहमद घानी पाइलट रहेका छन् । केही साताअगाडि कार्यबाहकका रूपमा रहेका गणेशबहादुर चन्द र अर्थ विभागले दुई पाइलट हटाउने निर्णय गरे पनि अप्रेसन प्रमुख दीपुराज जुहाचर्नले नमानेपछि पुनः थमौती गरिएको थियो ।