मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोजराज भण्डारी काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १८:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगर क्षेत्रका मस्जिदहरूको अनुगमन

Read Time : > 1 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १८:५९:००

काठमाडौं महानगरपालिकाले मंगलबार महानगरभित्रका मस्जिदहरूको अनुगमन गरेको छ ।

पछिल्लो समय नेपालका विभिन्न मस्जिदमा रहेका समूहमा कोरोना भाइरस संक्रमित भेटिएपछि काठमाडौं महानगरले पनि महानगरभित्र रहेका मस्जिदहरूको अनुगमन गरेको हो । पछिल्लो समय वीरगञ्ज र उदयपुरका मस्जिदभित्र समूहमा रहेकाहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, सांसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहितको टोलीले महानगरभित्रका मस्जिदहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोली सबैभन्दा पहिले घन्टाघरस्थित नेपाली जामे मस्जिद र त्यहाँभित्र रहेको मदरसा इस्लामिया स्कुलमा पुगेका थिए । त्यसपछि त्रि–चन्द्र क्याम्पस अगाडि रहेको पञ्च कास्मिरी तकिया, सुन्धारामा रहेको नेपाली मदिनी मुस्लिम र मुस्लिम मासाफिरखाना तथा स्वयम्भूस्थित मस्जिदलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कुनै पनि मस्जिद खुला नरहेको पाइएको थियो ।

काठमाडौंका मेयर शाक्यले धार्मिकस्थलमा हुने नियमित पूजा विधि गर्न तर जनसाधारणलाई धार्मिक स्थलमा नआउन आग्रह गरे । सुन्धाराको मस्जिदमा घरमै नमाज पढ्न धर्माबलम्बीहरूलाई आग्रह गरिएको सूचना टाँस गरिएको पाइएको छ । त्यस्तै स्वयम्भूस्थित मस्जिदमा मुस्लिम समुदायका मानिसको अन्तिम संस्कारका समयमा काम गर्ने व्यक्तिहरू मात्र रहेको पाइएको थियो ।

‘उदयपुरको खबरले काठमाडौंमा पनि के हो ? के हो ? भन्ने आशंका थियो,’ मेयर शाक्यले भने, ‘तर अनुगमनपछि म ढुक्क भएको छु ।’ अनुगमनका क्रममा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले काठमाडौं उपत्यकाभित्र भएका मस्जिदका गतिविधिको अनुगमन गर्न आयोगले समिति नै गठन गरेर निगरानी गरिरहेको बताए ।

पूर्वराज्यमन्त्री जाकिर हुसेनका अनुसार काठमाडौंको घन्टाघरको दायाँ–बायाँ रहेका नेपाली जामे मस्जिद र कास्मिरी मस्जिद नै उपत्यकाको सबैभन्दा ठूला मस्जिदहरू हुन् । यसबाहेक स्वयम्भूको कब्रिस्तान नजिकै, सुन्धारा, ठमेल, इन्द्रचोक, कालिमाटी, नयाँबजार, चोभार र बुढानीलकण्ठमा पनि मस्जिद छन् । त्यस्तै भक्तपुर र ललितपुरका पनि केही स्थानमा स–साना मस्जिद छन् ।