१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ९ मंगलबार १४:२९:००
Read Time : > 1 मिनेट
समाचार

मनाङमा पहिलोपटक यार्सागुम्बा टिप्न प्रतिबन्ध          

Read Time : > 1 मिनेट
२०७७ बैशाख ९ मंगलबार १४:२९:००

हिमाली जिल्ला मनाङमा यस वर्ष यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाइएको छ ।  कोरोना भाइरस (कोभिड– १९) संक्रमण  नेपालमा पनि बढ्दै गएकाले  मनाङ प्रशासनले मनाङको कुनै पनि लेकमा यार्सागुम्बा टिप्न नपाइने निर्णय गरेको हो । मनाङका सांसद, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुखलगायत सरोकारवाला निकायका प्रमुखको छलफलबाट यस वर्ष यार्सा टिप्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए  ।

उनले भने, ‘बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको समयमा यो कार्य पूर्ण रूपमा बन्देज गर्ने निर्णय गरिएको छ ।’ प्रजिअ पौडेलका अनुसार यार्सागुम्बा टिप्न खुला गर्दा धेरै संख्यामा मानिस आउने र कोरोना संक्रमणको जोखिम हुने भएकाले यार्सागुम्बा संकलन कार्य यस वर्ष रोकिएको हो ।

मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बर्सेनि हजारौँको संख्यामा बाहिरी जिल्लाबाट यार्सागुम्बा संकलन गर्न आउने र यार्सागुम्बा टिप्ने कार्य खुला गरेमा लकडाउनको समयमा पनि मानिस लुकेर आउने भएकाले कोरोना भाइरस संक्रमण रोक्न यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाइएको बताए। गुरुङका अनुसार  मनाङमा पहिलोपटक यार्सागुम्बा संकलन कार्यमा प्रतिबन्ध लगाइएको हो ।

मनाङको नारस्थित लेकमा ०६६ जेठमा सातजना गोरखालीको हत्या भएपछि यार्सागुम्बा संकलनमा कडाइ गरिँदै आएको थियो । त्यसपछि नार र फुको लेकमा बाहिरी व्यक्तिलाई यार्सागुम्बा संकलन गर्न प्रतिबन्ध लगाएको थियो ।  बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न विगतका वर्षमा स्थानीय मात्रै नभएर लमजुङ, गोरखा, धादिङका मानिससमेत मनाङको लेकमा पुग्ने गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङका २२ भन्दा बढी लेकमा यार्सागुम्बा पाइन्छ । चार गाउँपालिका रहेको मनाङमा तल्लो मनाङको धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । एक्यापका अनुसार गत वर्ष ८५ दशमलव १ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो । अघिल्लो वर्ष एक सय २९ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो ।