मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १२:०५:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनबीच त्रिभुवन विमानस्थल विस्तार निर्माणको काम जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १२:०५:००

लकडाउनबीच पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम निरन्तर चलिरहेको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दूरी कायम गर्दै निर्माणको काम भइरहेको हो । 

तीन हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गलाई तीन सय मिटर बढाउने गरी काम चलिरहेको हो । धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलको क्षमता बढाउन एवं अवतरण र उडानलाई थप सुरक्षित बनाउन यो विस्तारले सहयोग गर्ने बताए । विमानस्थल सुधारको काम सकिएपछि आकाशमा धेरै समय जहाज होल्ड हुने खालको ट्राफिकजामको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ । 

विमानस्थल विस्तारको काममा सुरक्षा सतर्कता अपनाएर अघि बढाइएको मन्त्री भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद् बैठक र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार नै काम सुरु भएको उनले बताए । 

कामदारहरूलाई मास्क र स्यानिटाइजर प्रयोग गर्न दिइएको छ । विमानस्थलभित्रै क्याम्प बनाएर खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । निर्माण सामग्री ढुवानी गर्दासमेत कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा ध्यान दिइएको मन्त्री भट्टराईले जानकारी दिए ।

अहिलेसम्म विमानस्थलमा नयाँ प्रस्थान हलको निर्माण सम्पन्न भइसकेको छ । एक हजार पाँच सय यात्रु क्षमताको प्रस्थान हल निर्माण भएको हो । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले लकडाउनका कारण विमानस्थलमा अझ काम गर्न सहज भएको बताए । 

अन्य समयमा विमानस्थल बन्द गरी रातिको समयमा काम गर्नुपर्ने बाध्यता भए पनि लकडाउनका कारण सम्पूर्ण उडान बन्द भएकाले दिउँसोसमेत काम गर्ने वातावरण बनेको उनले बताए । आयोजनाको काम सिभिलतर्फ ७४ प्रतिशत सम्पन्न भएको छ । ०७७ असार १० गतेभित्र सम्पन्न गर्नेगरी ०७५ पुस १८ गते निर्माण सम्झौता भए पनि सम्झौता मितिअगावै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ । 

अबको दुई हप्ताभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण कम्पनी कालिका टुन्डी जेभीको सबकन्ट्रयाक्टर ए वान विल्डर्स प्रालिले जनाएको छ ।