मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राज सरगम काठमाडाैं
२०७७ बैशाख ९ मंगलबार १०:५२:००
Read Time : > 1 मिनेट
साहित्य

लकडाउनमा  गायक–संगीतकारको  पुस्तक मेनु

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७७ बैशाख ९ मंगलबार १०:५२:००

बलिउडका गायक सोनु निगमले सात दिनअघि आफ्नो इन्स्टाग्राममा अभिनेता ऋषि कपुरको अटोबायोग्राफी पढिरहेको पोस्ट गरेका थिए । त्यही तस्बिरलाई गीतकार भूपेन्द्र खड्काले ‘के नेपाली गायक र संगीतकारले पनि लकडाउनमा कुनै किताब पढेका छन् त ?’ लेख्दै ट्विट् गरे । उनको पोस्टमा कमेन्ट गर्दै केही गायक र संगीतकारले किताब पढिरहेको बताएका थिए ।

नेपाली गायक र संगीतकारहरू यतिवेला फेसबुक लाइभमा बढी देखिन्छन् । गाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन्, पढाइ–लेखाइका गतिविधि देखिँदैनन् । गायक शिव परियार गीत–संगीतमा लागेकाहरूले पर्याप्त किताब नपढ्ने गरेको बताउँछन् । भन्छन्, ‘किताब पढ्नेहरूले अरूलाई पनि सिफारिस गर्छन् । थोरैले मात्र त्यसो गरेको पाउँछु ।’ धेरैले दराजमा थन्किएका पुस्तक बाहिर ननिकाल्ने गरेको उनी बताउँछन् । उनको हातमा भने ‘सेतो धरती’, ‘घाटमान्डु’ र ‘नथियालगायत’ पुस्तक छन् । भन्छन्, ‘अध्ययनविनाका सिर्जना सिआरबिटी र पिआरबिटीमै सीमित हुन्छन् । पुस्तकले समाज बुझाउँछ । र, सिर्जना समाजको ऐना हो।’

गायक सुगम पोखरेलले भर्खरै शिवपुरी बाबाको पुस्तक ‘लङ पिल्ग्रिमेज’ पढिसके । लकडाउन लम्बिँदै जाँदा जनकलाल शर्माको ‘हाम्रो समाज’, शरद चन्द्राको ‘अल्बेयर कामु और भागवद्गीता’, बालकृष्ण समको ‘नियमित आकस्मिकता’ र मदनप्रसाद अर्यालको ‘नेपालीमा चण्डी’ उनको पढ्ने सूचीमा छन् ।

तीन साता लामो लकडाउनका क्रममा संगीतकार वसन्त थापाले विजयकुमार पाण्डेको ‘खुसी’सहित ‘चुपचाप’ (हिन्दी) र ‘गान्धीहत्या’ (हिन्दी) पढिसके । लकडाउन लम्बिँदै जाँदा थप किताब पढ्ने उनको तयारी छ । संगीतकार अर्जुन पोखरेलले पनि यस अवधिमा ‘सेतो धरती’ पढिसके ।

गायक तथा गीतकार विजय कार्कीले म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ र बिपी कोइरालाको ‘आत्मवृत्तान्त’ पढे । गायक–संगीतकार शिशिर योगीले सुधीर शर्माको ‘प्रयोगशाला’ र सत्यमोहन जोशीको ‘महर्षियाज्ञवल्क्य’ पढे । संगीतकार राजु सिंहले रामशरण दर्नालको ‘विश्वविख्यात संगीतकार’ र सुशीला कार्कीको ‘कारा’ पढे ।

गायिका झुमा लिम्बूले खगेन्द्र संग्रौलाले अनुवाद गरेको जोन उडको ‘माइक्रोसफ्टदेखि ‘बाहुनडाँडा’ र ‘द सेकेन्ड सेक्स’को हिन्दी अनुवाद पढिन् । त्यसबाहेक संगीतकै राग अध्ययन गरिरहेकी छिन् । गायिका अञ्जु पन्त भने किताबतिर आकर्षित हुन सकेकी छैनन् । बरु केही ऐतिहासिक फिल्म हेरिरहेकी छिन् । गायिका दुर्गा खरेल पनि किताबमा भन्दा अन्य काममा सक्रिय छिन् । उनले अमर न्यौपानेको ‘सेतो धरती’ भर्खरै पढिसकिन् ।