मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
महेश शाक्य
२०७७ बैशाख ९ मंगलबार १०:३४:००
Read Time : > 2 मिनेट
नयाँCity

कोरोना कहरबीच व्यस्त मूर्तिकार

Read Time : > 2 मिनेट
२०७७ बैशाख ९ मंगलबार १०:३४:००

१० चैतसम्म भक्तपुरका सूर्यबहादुर रञ्जितकारलाई भ्याइनभ्याइ थियो । भक्तपुर दरबार स्क्वायरस्थित वत्सलादेवीको मन्दिरको बुट्टा फिनिसिङ तथा पाटनको कृष्णमन्दिरको काम सँगसँगै अगाडि बढाइरहेका थिए उनी । ११ चैतमा सरकारले देशव्यापी लकडाउन घोषणा गरेसँगै उनको काम मात्र ठप्प भएन, पैसा आउने बाटो पनि तत्कालका लागि बन्द भयो । ढुंगामा कला खोप्ने शिलाकारिता उनको पुर्खौली पेसा नै हो । कोरोना भाइरसको कहरले उनलाई अहिले ढुंगामा मूर्ति कुँद्न नभई खेतमा टहलिन बाध्य बनाएको छ ।

  • सूर्यबहादुर रञ्जितकार

भूकम्पबाट क्षतिग्रस्त पाटनस्थित कृष्ण मन्दिरको दोस्रो तलाको काम उनी र उनका बाबुले नै पूर्ण गरेका हुन् । कृष्ण मन्दिरको काम गर्न पाउनुलाई पैसाभन्दा प्रतिष्ठाको विषय मानेका छन् उनले । करिब १९ वर्षको शिलाकला यात्रामा पहिलोपटक कोरोनाका कारण द्विविधामा छन्, रञ्जितकार ।

उनीजस्तै शिलाकार रविन बज्राचार्य भने पाटन सुन्धारास्थित घरमै लोकेश्वर महादेवको मूर्ति कुँद्न व्यस्त छन् । घरमै बसेर मूर्ति कुँद्ने भएकाले उनलाई लकडाउनले खासै फरक पारेको छैन । लकडाउनअघि उनले मकवानपुरगढीका लागि हात्तीका ठूला मूर्ति बनाएका थिए । उनलाई बढी चैत्य र बौद्ध धर्मका देवी–देवताका मूर्ति कुँद्ने अर्डर आउँछन् । त्यस्ता मूर्ति विदेश पनि निर्यात हुन्छन् । त्यसबाहेक महादेव, पार्वती, गणेशलगायत हिन्दू देवी–देवताका मूर्ति कुँद्न पनि सिपालु छन्, उनी ।

  • रविन बज्राचार्य

पाटनका महेश शाक्य पनि घरमै काठबाट ससाना मूर्ति तयार पार्दै छन् । उनी संलग्न ठूला परियोजनाको काम भने रोकिएको छ । केही मठ–मन्दिरका परियोजनामा उनी संलग्न छन् । २९ वर्षे कलायात्रामा पहिलोपटक घरमै खुम्चिनु परेको उनी बताउँछन् । यतिवेला कुनै सिर्जनात्मक काम गर्ने जाँगर उनलाई चलिरहेको छैन । उनको बुझाइमा कला भनेको सौखिन उच्च घरानियाँ वर्गले आधारभूत वस्तुपछि खरिद गर्ने चिज हो । ‘कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावसँगै कला खरिद–बिक्रीमा पनि ह्रास ल्याउनेछ,’ उनी भन्छन्, ‘त्यसैले यतिवेला जोखिम उठाएर नयाँ सिर्जना गर्ने आँट आएको छैन ।’

उनकै मतसँग सहमत छन् भक्तपुरका मूर्तिकार नितेश नायभा पनि । काष्ठकलामा केही नयाँ गर्नेभन्दा कोरोना कहरको समाप्तिपछि बजारको सहजता हेर्ने मनस्थितिमा छन् उनी । महामारीको प्रभाव घटेको केही समयसम्म बजार सहज अवस्थामा नरहनेमा उनी ढुक्क देखिन्छन् । उनी काठमाडौं विश्वविद्यालयको संगीत विभागको भवन निर्माणमा पनि संलग्न थिए । भवन निर्माण रोकिएसँगै फुर्सदिला भएका छन्, नितेश । त्यसैले लकडाउनको समयलाई देवी–देवताको स्केच बनाउनमा खर्चिरहेका छन् ।

  • नितेश नायभा

एसएलसी दिएलगत्तै काष्ठकलामा लागेका उनी दुई वर्षअघिसम्म वसन्तपुर दरबारको गद्दी बैठक पुनर्निर्माणमा आबद्ध थिए । गद्दी बैठकको झ्याल, टुँडाल, थामलगायतमा आफ्नो कला देखाए उनले । यस्ता परियोजनामा कला सिक्ने प्रशस्त अवसर पाइने उनको भनाइ छ ।

पाटन नागबहालका प्रताप शाक्य धातुका मूर्ति बनाउँछन् । लकडाउनका कारण सहयोग गर्ने मानिस आउन नसक्ने भएकाले उनको काम ठप्प भएको छ । ‘हावापानी केहीले असर नगर्ने मेरो पेसामा लकडाउनको नराम्रो धक्का लाग्यो,’ उनी भन्छन्, ‘यस्तो अवस्था कहिल्यै आएको थिएन, सँगै बस्नै नहुने, अनि काम कसरी गर्ने ?’

  • प्रचण्ड शाक्य

ललितपुर पुल्चोकका प्रचण्ड शाक्य धातुकलामा चिरपरिचित नाम हो । उनी अहिले पाटनकी कुमारीका लागि चाँदीको आसन बनाउन व्यस्त छन् । उनको लकडाउन दैनिकी भने केही भिन्न छ । परिवारबाहिरका मानिससँग भेटघाट गर्न सतर्क हुनुपर्ने समयलाई उनले अवसर बनाएका छन् । र, छोरीलाई धातुकला सिकाइरहेका छन् । चितवनबाट अर्डर आएको बलभद्र कुँवरको मूर्ति र गोरखा छेकम्पारको गुम्बाका लागि बौद्ध धर्मका देवी–देवताका मूर्ति बनाएर भरखरै सके, शाक्यले । उनी तामा र पित्तल मात्र नभई चाँदीका मूर्ति पनि बनाउँछन् । ३२ वर्षे कलायात्रामा उनले अहिलेको समयलाई एकान्तमा बिताउने अवसरका रूपमा लिएका छन् । ‘घरमै बसेर धातुकलाको काम हुन्छ, त्यसैले लकडाउनले फरक पार्दैन,’ उनी भन्छन्, ‘तर, कोरोनाको त्रासका वेला कला सिर्जना गर्ने जाँगर कमैमा पाएको छु ।’