१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटन उकास्न वर्षको एक महिना बिदा दिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०७:३५:००

कोरोनाका कारण धराशायी भएकोले पर्यटन क्षेत्र उकास्न सरकारले वर्षको एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरी योजना बनाइरहेको जानकारी दिएका हुन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्न जरुरी रहेको बताए । ‘यो महाव्याधि नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिए पनि बाह्य पर्यटक आउने सम्भावना कम रहन्छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र ‘भाइब्रेन्ट’ (जबर्जस्त) बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तीय संकट समाधानका लागि अर्थ मन्त्रालयसँग छलफल गरेको बताए ।

मन्त्री भट्टराईले होटेललगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाइ, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सबै योजना स्थगित भएकाले नयाँ ढंगले अगाडि बढ्नेसमेत बताए । 

भट्टराईले मुलुकको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म यकिन नरहेकाले यतिवेला तथ्यांक संकलनसँगै क्षति विवरण संकलनको काम भइरहेको जानकारीसमेत दिए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ ? बैंकहरूको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के–कति हो भन्ने आउँछ,’ उनले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकका विषयमा खास कदम चाल्नेसमेत छलफलमा बताए ।  

कोरोना असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तिलाई समेत असर गरेको उनले बताए ।

सरकारले सन् २०२२ सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीको भनाइ थियो । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ,’ उनले भने, ‘यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो ।’ होटेल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए ।