१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख ८ सोमबार ०८:२५:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

अब दूरी कायम गर्दै विकास निर्माणलाई अगाडि बढाउनुपर्छ : मेयर जिसी

Read Time : > 4 मिनेट
२०७७ बैशाख ८ सोमबार ०८:२५:००

नयाँ पत्रिकासँग मेयर : पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग नयाँ पत्रिकाका लागि गोविन्द सुवेदी र रोहितराज पराजुलीले गरेको कुराकानी  :

कोरोना भाइरसको संक्रमण भित्रन नदिन कसरी काम गरिरहनुभएको छ ?

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी पाएपछि बिस्तारै यसको विषयमा चेतनामूलक कार्यक्रम गर्न सुरु गरेका थियौँ । लकडाउनपछि थप व्यवस्थित गरेका छौँ । कोरोना न्यूनीकरण गर्न वडावडामा वडास्तरीय समिति बनाएका छौँ । उपमेयरको संयोजकत्वमा कोरोना नियन्त्रण न्यूनीकरण समिति नै बनाएका छौँ । फिभर क्लिनिक सञ्चालन गरिरहेका छौँ । 

विपत् राहत कोष खडा गरेका छौँ । यसमा विभिन्न क्षेत्रबाट सहयोग आइरहेको छ । अहिले हरेक नागरिकले घरभित्र नै बसेर सहयोग गरिरहनुभएकै छ । स्वास्थ्य उपचारमा सहयोग पु-याउने काममा पूर्वतयारीकै रूपमा काम गरेका छौँ ।

बाग्लुङमा भेटिएका दुवै संक्रमित पोखरा भएरै गएका हुन् । उनीहरूको सम्पर्कमा आएका र अरू विदेशबाट आएकाहरूको लगत संकलन गरेर परीक्षण गराउन कसरी काम भइरहेको छ ?

पोखरा गण्डकी प्रदेशकै ट्रान्जिट पोइन्ट हो । हामीले विदेशबाट आएर पोखरा भई गाउँ फर्किएका र यहाँ बस्ने मानिसको रेकर्ड राख्ने, निगरानी गर्ने काम ग-यौँ । वडाबाट संकलित रेकर्डअनुसार पोखरामा चार सय १४ जना बाहिरबाट आएका छन् । 

होम क्वारेन्टाइनलाई नै जोड दिएका छौँ । होम क्वारेन्टाइनमा रहेकाहरूको -यापिड टेस्ट गरेका छौँ । अहिलेसम्म पाँच सयजनामा टेस्ट गरेका छौँ । अहिले डराउनुपर्ने अवस्था देखिएको छैन । 

अत्यावश्यक सामग्री ढुवानी गर्न सरकारले दिएको छुटलाई दुरुपयोग गर्दै मानिस ल्याउने–लैजाने गरेको पनि पाएका छौँ । पहिलो लकडाउनमा नयाँ मानिसबारे सूचना संकलन गर्ने काम गरेका थियौँ । यसरी आउने मानिसलाई सम्झायौँ ।

अहिले कोही नयाँ मानिस आएको र बसेको थाहा भयो र शंका लाग्यो भने स्वयं नागरिकले हामीलाई खबर गरिरहनुभएको छ । त्यस्तो भेटिए तुरुन्तै रेस्क्यु गरेका छौँ । होम क्वारेन्टाइनलाई नै जोड दिएका छौँ । होम क्वारेन्टाइनमा रहेकाहरूको -यापिड टेस्ट गरेका छौँ । अहिलेसम्म पाँच सयजनामा टेस्ट गरेका छौँ । अहिले डराउनुपर्ने अवस्था देखिएको छैन । 

लकडाउनमा गरिब तथा मजदुरलाई भोकै बस्न नदिन कसरी काम गरिरहनुभएको छ ? 

दोस्रो लकडाउन सुरु भएपछि दैनिक ज्यलादारी गर्ने मजदुरलाई समस्या बन्यो । महानगरका ३३ वटै वडामा तथ्यांक संकलन ग-यौँ, समुदाय परिचालन ग-यौँ । टोलसुधार संस्था, आमा समूह, राजनीतिक दलका प्रतिनिधि राखेर सहमति गरेर काम गराएका छौँ । महानगरकै तर्फबाट २० हजार परिवारलाई राहत उपलब्ध गराएका छौँ । विवरण लिँदै छौँ । विभिन्न संघसंस्थाले समन्वय गरेर सात हजारलाई राहत दिएका छन् । अहिलेसम्म ७५ प्रतिशत राहत लक्षित समुदायमा नै पुगेको छ । २५ प्रतिशत लिन नपर्नेले लिएको हाम्रो ठहर छ ।

आवश्यक नहुनेले राहत लिँदा आवश्यक पर्नेलाई समस्या हुन्छ भनेर नैतिकता देखाउनुपर्ने हो । बरु वास्तविक राहत चाहिनेले अहिलेलाई छ, पछि दिनुभए हुन्छ भनेकोसमेत पायौँ । वल्लो कुनामा बसेर राहत लिने र पल्लो कुनामा लगेर राहत बेच्ने पनि नभेटिएका होइनन् । त्यो असल नागरिकले गर्न सुहाउने काम होइन । हामीले पैसा नलाग्ने हटलाइन नम्बर ११८१ मार्फत समस्यामा परेका नागरिकलाई जानकारी दिन भनेका छौँ । फोन आएपछि घरमै पुगेर बुझ्छौँ । मिठो खान नपाइएला, धेरै परिकार खान नपाइएला, तर महानगरले कुनै पनि नागरिकलाई भोको राख्दैन । कहीँ कतै विवेक नपुगेको हुन सक्छ, केही त्रुटि भएको भए सच्याउँदै अगाडि बढ्ने हो । नागरिक भोको राखिन्न, कुरा यति हो । 

झन्डै ३० हजारले राहत पाए भन्नुहुन्छ, तर छाक र वासको कठिनाइ भयो भन्दै मजदुर पैदल नै गन्तव्यतर्फ लागिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ? 

अहिले आफू बाँच्ने कि संक्रमित भएर अरूलाई पनि संक्रमित गर्ने माध्यम बन्ने भन्ने प्रश्न हामी सबैमा छ । त्यसैले संक्रमित हुनबाट जोगिऔँ । सरकारले गरेको आग्रहबमोजिम लकडाउनलाई सहयोग गरौँ । एक–दुई छाक खान पाइएन भने पनि मरिन्न । तर, लापरवाही ग-यौँ भने सिंगो समुदाय सिध्याउने माध्यम बन्न सक्छौँ । त्यसैले महानगरको सम्पूर्ण नगरवासीमा आग्रह छ, आफू सुरक्षित बन्नु भनेको समुदाय र आफन्तलाई सुरक्षित राख्नु हो । त्यसैले लकडाउनको पालना गरौँ र गराऔँ । 

जीवनप्रति जवाफदेही हुने हो भने यसरी हिँड्नुभएन । अहिले संघीय, प्रदेश र स्थानीय सरकार छन् । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अब सरकारको आग्रहलाई अटेर गरेर आफैँ हिँड्दाहिँड्दै सिद्धिन्छु भन्ने मानसिकता राख्नुभएन । म प्रस्टसँग भन्न चाहन्छु, हामीले यहाँ आएर ज्यालादारी मजदुरी गरेर बसेकालाई खोजेका छौँ, सम्पर्क गरेका छौँ, पुगेका छौँ । 

पोखरामा पौरखी समूह गठन गरेर यसरी अलपत्र पर्ने मजदुर, चुलो बाल्न नपाएकाहरूलाई घरमै खाना पु-याउने व्यवस्थासमेत भएको छ । अनि, खान नपाएर र वास नपाएर हिँड्नुपर्ने अवस्था कसरी आइरहेको छ भन्ने नै मैले बुझेको छैन । हाम्रो समाज एउटाले अर्कोलाई सहयोग गर्ने समाज हो । वल्लो घरले पल्लो घरलाई साथ दिने समाज हो । यसरी हिँड्नुपर्ने अवस्था छैन । लकडाउनको पालना गर्नु भनेको आफैँलाई हो । यो बुझ्दाबुझ्दै पनि आफैँलाई जोखिममा राखेर सरकारलाई गाली मात्र गरिरहनुको औचित्य छैन । 

नागरिकलाई बुझाउने या लकडाउनको पालना गराउने र राहत वितरणको सन्दर्भमा तीन तहका सरकारबीच समन्वय नभएकोजस्तो देखियो नि ?

समन्वय छ । सबै सरकारले आ–आफ्नो जिम्मेवारीअनुरूप काम गरेका छन् । बरु विकास निर्माणलगायतका कामलाई पनि कसरी कति दिन सकिन्छ भन्ने विषयमा अब नयाँ ढंगले समन्वय गरेर काम गर्नुपर्ने देख्छु । मजदुरलाई सुरक्षित राख्ने र सामाजिक दूरी कायम गर्दै मेसिनले गर्ने काम नरोकौँ भन्ने पक्षमा म छु । बिस्तारै अब यतातर्फ जानुपर्छ । 

उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थापन कसरी गरिरहनुभएको छ ? 

आपूर्ति व्यवस्थापनको समस्या छैन । यसमा व्यवसायीले इमानदारिता देखाउनुभएकै पाएका छौँ । नियमित अनुगमन पनि भइरहेकै छ । बजारमा खाद्यवस्तुको अभाव भएको या उपभोक्ता ठगिएको गुनासो आउन दिएका छैनौँ । यदि कहीँ कतै समस्या देखिए कानुनी दायरामा ल्याउन तयार नै छौँ । 

लकडाउन लम्ब्याई नै राख्नुपर्छ कि अब विकास निर्माणका काम पनि अगाडि बढाउनुपर्छ ? 

हामीले कोर सहरी क्षेत्रको २५ किलोमिटर सडकलाई ‘अस्फाल्ट कंक्रिट’ सडकको रूपमा विकास गर्ने योजना छ । लकडाउन नभएको भए आधा काम भइसक्थ्यो । यसमा मेसिनको काम नै धेरै हुन्छ । कंक्रिटको टेस्ट गर्ने काम संघीय सरकारले गर्ने भएकाले त्यो टेस्ट रिपोर्ट रोकिएकाले काम हुन सकेको छैन । 

फेवाताल पुरिन नदिन निर्माण भइरहेका सेलिट्रेसन ड्याम र पोखरी निर्माणको काम ९० प्रतिशत सकिएको छ । अब ८–१० दिन काम गर्दा सकिन्छ । त्यसलाई तत्काल अगाडि बढाउने सोचमा छौँ । यतिकै छाडियो भने वर्षात्को समयमा सबै ध्वस्त हुन्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गअन्तर्गतको हेम्जा खण्डलगायतका काम मेसिनबाटै धेरै हुने काम हो । यसमा महानगर समन्वय गर्न तयार छ । अब दूरी कायम गर्र्दै विकास निर्माणलाई पनि सुरक्षित ढंगले अगाडि बढाउनुपर्छ । जनताको करले बनाएको सम्पत्ति पानीमा बग्न दिन्नौँ । पोखरा महानगर आफ्ना योजनालाई छिटै अगाडि बढाउने सोचमा छ ।