मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लकडाउनमा खाद्यान्नको समस्या भाेगेका विपन्न विद्यार्थीलाई काठमाडौंमा राहत वितरण गर्दै अनेरास्ववियुका नेताहरु। तस्बिरः नयाँ पत्रिका
भवानीश्वर गौतम काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ०८:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

घर फर्कन नसकेका  विपन्न परिवारका विद्यार्थी पीडामा

Read Time : > 2 मिनेट
२०७७ बैशाख ८ सोमबार ०८:३३:००

अध्ययनका लागि काठमाडौं उपत्यकामा बसेका विद्यार्थी लामो समयदेखिको लकडाउनबाट समस्यामा परेका छन् । क्याम्पसमा पठनपाठन बन्द भएपछि केही विद्यार्थी घर फर्के पनि काम गर्दै पढाइखर्च जुटाउँदै गरेका विद्यार्थी रोकिएकाले पीडित भएका हुन् । 

अमृत साइन्स क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत कञ्चनपुरका हेमराज खड्काले केही दिनपछि सामान्य होला भनेर रोकिएको तर लामो समयसम्म पनि लकडाउन नखुल्दा समस्यामा परेको बताए । ‘थोरै काम भएकाले पढाइ बन्द हुनेबित्तिकै घर जान पाइनँ,’ खड्काले भने, ‘बुबाआमा खेतीकिसानी गर्नुहुन्छ, घरबाट पैसा आउन नसकेकाले समस्या हुन थालेको छ ।’ शंखमूलमा डेरा गरेर एक्लै बस्दै आएको उनले बताए । विद्यार्थीलाई राहत बाँड्ने थाहा पाएपछि आइतबार नयाँ बानेश्वरको शंखमूल चोकनजिकै पुगे पनि खड्काको नाम नभएकाले राहत पाएनन् । यद्यपि, उनलाई अनेरास्ववियुले सोमबार राहत उपलब्ध गराउने भएको छ । 

खड्काजस्ता हजारौँ विद्यार्थीलाई लकडाउनले समस्या हुन थालेको छ । पाटन संयुक्त क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत बाँकेका प्रेम ओली काम गर्दै अध्ययन खर्च र दैनिकी चलाउँदै आएका थिए । ‘अहिले एक्लै बसेको छु, गोजीमा पैसा छैन, काम गरेको ठाउँ बन्द भयो,’ ओलीले भने, ‘एक्कासि बन्द हुँदा काम गरेको पैसा पनि आएन, समस्या भयो ।’ उनी पनि राहतको पर्खाइमा छन् ।

समस्या परेका कीर्तिपुरका विद्यार्थीलाई राहत उपलब्ध गराउन सक्रिय विद्यार्थी हेमराज थापाले अझै पनि खान समस्या भएको गुनासो आइरहेको बताए । विभिन्न संघसंस्था, व्यक्तिसमेतले कीर्तिपुर क्षेत्रमा बस्ने १७ सयभन्दा बढीलाई राहत दिएको उनले बताए । उनले भने, ‘धेरैले सहयोग गरे, अहिले पनि एक सय २० जनाले खान समस्या भएको भन्दै नाम टिपाउनुभएको छ ।’

अरूले उपलब्ध गराएको राहतले केही समयको गर्जो टरे पनि लकडाउन लम्बिए विद्यार्थीमा ठूलो समस्या हुने उनको भनाइ छ ।गत चैत पहिलो साताबाटै विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन ठप्प भएको छ । पठनपाठन बन्द भएपछि केही विद्यार्थी घर फर्किए पनि लकडाउन थपिएपछि धेरै विद्यार्थी काठमाडौंमै बस्न बाध्य भएका छन् । 

के गर्दै छन् ठूला विद्यार्थी संगठन ?

राहत वितरणमा अनेरास्ववियुको सक्रियता
अनेरास्ववियुले राहत वितरणलाई तीव्रता दिएको जनाएको छ । राहत माग गर्ने विद्यार्थीको विवरण संकलन गरी विभिन्न ठाउँमा पुगेर वितरण गरिरहेको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले अनलाइन फर्मबाट राहत माग गर्नेको सूची तयार गरी वितरण गर्न थालेकोे बताए । अनेरास्ववियुले आइतबार मात्रै पनि सात सय १५ विद्यार्थीलाई राहत उपलब्ध गराएको उनले बताए । शनिबार पनि कीर्तिपुरमा पाँच सय विद्यार्थीलाई राहत वितरण गरेको उनको भनाइ छ । राहतमा चामल, दाल र चिनी उपलब्ध गराइएको छ । शिखरदीप बहुउद्देश्यी सहकारी संस्थाले सहयोग गरेको खाद्यान्न अनेरास्ववियुले वितरण गरिरहेको छ । अहिले पनि १४ सय विद्यार्थीले समस्या भएको भन्दै फर्म भरेको बताए । उनले भने, ‘कतिपयले खान समस्या भएको, केहीले बिरामी भएकोलगायतका विषयमा फर्म भरेका छन् । समस्याको वर्गीकरण गरेर समाधान गर्छौं ।’ समस्या भयो भन्दै सयौँ विद्यार्थीको फोन आइरहेको उनले बताए । 

नेविसंघले स्थापना दिवसबाट सुरु गर्‍यो राहत वितरण

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले पनि समस्या पर्‍यो भन्दै विद्यार्थीले दिनहुँ फोन गरिरहेको बताए । ‘दैनिक कम्तीमा २०–२५ विद्यार्थीको फोन आउँछ,’ अध्यक्ष ढुंगानाले भने, ‘कसैले डेरामा रासन सकियो, कसैले पैसा नआएर समस्या भयो, कसैले घर जान पाए हुन्थ्यो भन्छन्, केही त पढाइको बारेमा पनि चासो राख्छन् ।’ काठमाडौंलगायत सहरी क्षेत्रमा डेरा गरी बस्नेको समस्या समाधानका लागि नेविसंघले पहल गरिरहेको उनले बताए । 

नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पहिले घर जान पास मिलाइदिनुपर्‍यो भन्ने धेरै फोन आउने गरेको तर दुई–चार दिनयता खाद्यान्न सकियो भन्दै राहत माग हुन थालेको बताए । नेविसंघको स्थापना दिवसको दिन पारेर शनिबारदेखि राहत वितरण सुरु गरेको उनले बताए । संगठनको क्याम्पस इकाइमार्फत समस्या आएको र केन्द्रबाट समाधान गरेको बताए ।

उनका अनुसार खाद्यान्न समस्या भएका विद्यार्थी र मजदुर गरी तीन सय ५० जनालाई शनिबार राहत उपलब्ध गराएको बताए । भक्तपुरको सानोठिमी क्याम्पसको होस्टेलमा बस्ने अपांगता भएका र असहाय तथा क्याम्पसवरिपरि बस्ने ४०, कोटेश्वर बहुमुखी क्याम्पसका ५५, शंकरदेव र पद्मकन्या क्याम्पसका २०–२० विद्यार्थीलाई राहत उपलब्ध गराएको उनले बताए । आइतबार पनि ५० जनालाई राहत उपलब्ध गराएको उनले बताए । सहयोगीलाई आग्रह गरेर विद्यार्थीलाई राहत उपलब्ध गराएको उनको भनाइ छ ।