मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँपत्रिका काठमाडौं
२०७७ बैशाख ८ सोमबार ०८:३६:००
Read Time : > 1 मिनेट
अर्थ

आप्रवासी श्रमिकको उद्धार गर : ट्रेड युनियन

Read Time : > 1 मिनेट
नयाँपत्रिका काठमाडौं
२०७७ बैशाख ८ सोमबार ०८:३६:००

कोरोना भाइरसका कारण खाडी मुुलुकलगायतमा रहेका आप्रवासी श्रमिकहरू समस्यामा पर्दै गएकाले उद्धार गर्न श्रम संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेसनिकट नेपाल ट्रेड युनियनले सरकारलाई सातबुमँदे सुझाब पेस गर्दै स्वास्थ्य समस्या परेका, रोजगारी गुमाएका, खान–बस्न नपाएर बिरामी परेका आप्रवासी श्रमिकलाई उद्धार गर्न ध्यानाकर्षण गरेको हो । 

युनियनले देशभित्रै औपचारिक–अनौपचारिक श्रमिकको विशेष ख्याल गर्न नसकेको सकारले प्रवासी कामदारलाई अझ पूर्ण रूपमा बेवास्ता गरेको गुनासोसमेत गरेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको र त्यो रेमिट्यान्स विदेशमा रहेका नेपाली युवाको पसिनाबाट प्राप्त भएको भन्दै युनियनले बिदेसिएका युवाको योगदानलाई नबिर्सिन आग्रह गरेको छ । ‘आप्रवासी श्रमिकहरूको सन्दर्भमा सरकारले वेलैमा सम्बोधन गरोस् भनेर सरकारलाई पत्राचार गरेका हाैँ,’ युनियनका अध्यक्ष पुष्कर आचार्यले भने, ‘हामीले सातबुँदे सुझाब पनि दिएका छाैँ ।’ 

युनियनका महासचिव योगेन्द्रकुमार कुँवरद्वारा हस्ताक्षरित सुझाबपत्रमा प्रवासी श्रमिकको रोजगारी र स्वास्थ्य सुरक्षाको अवस्थालाई अद्यावधिक गर्नुपर्ने र महामारीका कारण रोजगारी गुमाएका, खान–बस्न नपाएका तथा बिरामी परेका श्रमिकहरूको उद्धार गर्नुपर्ने उल्लेख छ । त्यसैगरी, लकडाउनका कारण घर बस्नुपरेका श्रमिकलाई तलबी बिदा, औषधि–उपचार र सामाजिक संरक्षण प्रदान गर्नुपर्ने सुझाब पनि दिइएको छ । 

युनियनले गन्तव्य मुलुकमा रहेका आप्रवासी श्रमिकको रोजगारी कटौती हुन नदिन आवश्यक पहल गर्नुपर्ने, महामारीबारे सम्बन्धित मुलुकले गरेको सचेतनाका कार्यक्रमबारे अवगत गराउन पहल गर्नुपर्ने सुझाबसमेत दिएको छ । 

सुझाबमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव, सीप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशीलताको विकास गर्न आगामी आर्थिक वर्ष ०७७-७८ को वार्षिक बजेट तथा नीति कार्यक्रममा आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेसमेत उल्लेख छ ।

बैंक वित्तीय संस्थावाट कर्जा लिई वैदेशिक रोजगारीमा गएका र हालको महामारीका कारण गन्तव्य मुलुकमा रोजगारी गुमाई स्वदेश फर्किएका श्रमिकहरूको कर्जा तथा ब्याज मिनाहा गर्नुपर्ने, रोजगारी गुमाएका वा स्वदेश फर्किन चाहने आप्रवासी नेपाली श्रमिकलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फर्किन दिनुपर्ने सुझाबसमेत दिइएको छ ।