मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी लन्डन
२०७७ बैशाख ८ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
खेलकुद

बेकह्यामको नजरमा मेसी उत्कृष्ट

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७७ बैशाख ८ सोमबार ०६:५५:००

सन् १९९० को दशकमा ब्राजिलियन पेले र अर्जेन्टिनी डिएगो म्याराडोनाबीच को उत्कृष्ट भन्ने विवाद खुबै चलेको थियो । यद्यपि यो विवाद अझै कायम छ । अहिले त्यही अवस्थामा हिँडिरहेका छन् लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । 

वर्तमान समयमा यी दुई खेलाडीमध्ये को उत्कृष्ट भनेर समर्थक र आलोचकबीच टीकाटिप्पणी हुने गरेका छन् । यद्यपि दुवै आ–आफ्ना स्थानमा उत्कृष्ट छन् । तर, इंग्लिस फुटबलर डेभिड बेकह्यामले पोर्चुगलका रोनाल्डोभन्दा अर्जेन्टिनी मेसी नै उत्कृष्ट फुटबलर भएको बताएका छन् । 

इंग्लिस राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका बेकह्यामले आइतबार अर्जेन्टिनी मिडियासँग कुराकानी गर्दै भने, ‘मेरो विचारमा रोनाल्डोभन्दा मेसी नै उत्कृष्ट हुन् ।’ मेसीको क्षमतासँग रोनाल्डोको तुलना नहुने बेकह्यामको दाबी छ । 

‘मेसीसँग जुन क्षमता छ, त्यो रोनाल्डोसँग छैन,’ बेकह्यामले भने । बार्सिलोनाका प्लेमेकर मेसी अहिलेको पुस्ताकै वल्र्ड क्लास खेलाडी भएको बताउँदै बेकह्यामले उनीजस्तो अर्को खेलाडी हुन नसक्ने जनाए । मेसी आफ्नो व्यावसायिक फुटबल करिअर लगभग स्पेनिस क्लब बार्सिलोनामै बिताउने योजनामा छन् । रोनाल्डोले पोर्चुगल, बेलायत, स्पेन हुँदै इटालीको युभेन्ट्सबाट खेलिरहेका छन् । पछिल्लो १२ वर्षमा मेसी र रोनाल्डोले फिफा वर्ष खेलाडीमा एकछत्र राज गरेको बिर्सन नहुने बेकह्याम बताउँछन् । 

‘हामीले यो बिर्सन मिल्दैन, मेसी र रोनाल्डोले फिफा वर्ष खेलाडीमा एक दशक नै राज गरे,’ बेकह्यामले भने, ‘यसका बाबजुद मलाई मेसी नै उत्कृष्ट फुटबलर लाग्छ । मेसी र बेकह्यामबीच स्पेनिस ला लिगा फुटबलमा प्रतिस्पर्धा भएको थियो । म्यानचेस्टर युनाइटेडबाट बेकह्याम रियल म्याड्रिडमा अनुबन्ध भएका थिए । त्यसैवेला यी दुई खेलाडीबीच भिडन्त भएको थियो । करिअरकै अन्तिम समयमा बेकह्याम पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका थिए । 

सन् २०१२ र १३ को सिजनमा पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको थियो । पिएसजीबाट करिअरकै अन्तिम व्यावसायिक फुटबल खेलिरहँदा बेकह्यामको च्याम्पियन्स लिग उपाधि जित्ने सपना मेसीले नै तुहाएका थिए । अन्तर्वार्ताको क्रममा बेकह्यामले भने, ‘मेसी मैदानमा रहँदा उनलाई हराउन गाह्रो छ ।’