मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी सांघाई
२०७७ बैशाख ८ सोमबार ०६:१६:००
Read Time : > 2 मिनेट
खेलकुद

१०४ दिनपछि वुहान रंगशालामा पाइला टेक्दा फुटबलर दंग

Read Time : > 2 मिनेट
एजेन्सी सांघाई
२०७७ बैशाख ८ सोमबार ०६:१६:००

चीनको वुहान सहर कोरोना भाइरसको उद्गमस्थल हो । अहिले संसारमै महामारीका रूपमा देखापरेको कोरोना भाइरस वुहानबाटै फैलिएको हो । सन् २०१९ को डिसेम्बरमा यसै सहरमा कोरोना भाइरस संक्रमित व्यक्ति देखिएका थिए । चीनले जनवरी महिनामा यहाँ लकडाउन ग-यो । वुहानमा तीन महिनासम्म लकडाउन भयो । भाइरसबाट वुहानमा चार हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना भाइरसमाथि पूर्ण नियन्त्रण लिएपछि वुहानमा लकडाउन खुला भएको हो । 

लकडाउन खुलेपछि वुहान सहर पुरानै दैनिकीमा फर्किन थालेको छ । हाइस्पिड ट्रेन, मेट्रो ट्रेन, सार्वजनिक यातायात, रेस्टुरेन्ट, होटेल र उद्योग आदि बिस्तारै खुला भएका छन् । अहिले वुहान सहरमा व्यस्तता छाएको छ । यद्यपि सबै क्षेत्र सुचारु भइरहँदा यहाँको खेलकुद क्षेत्र पुरानै अवस्थामा आउन सकिरहेको थिएन । तर, अब यो अवस्था पनि समाप्त भएको छ । शनिबार वुहान जालका खेलाडीले मैदानमा अभ्यास गरेका छन् । चाइनिज सुपर लिगकै वुहान जाल एउटा क्लब हो । 

एक सय चार दिनपछि वुहान फुटबल रंगशालाको मैदानमा बल प्रहार गर्दा जाल क्लबका खेलाडी हर्षित देखिए र भावुक क्षण आत्मसात् गरे ।

ठ्याक्कै एक सय चार दिनपछि वुहान फुटबल रंगशालाको मैदानमा बल प्रहार गर्दा खेलाडीले दुई पक्षलाई आत्मसात् गरे । साढे तीन महिनापछि मैदानमा बल प्रहार गरिरहँदा उनीहरू हर्षित देखिए । त्यससँगै पछिल्ला दिन सम्झँदै उनीहरू भावुक पनि भए । शनिबार बिहान जालका खेलाडी अभ्यासका लागि ट्रेनमा सवार भइरहँदा सयौँ समर्थक उनीहरूलाई देखेर मख्ख परे ।

‘खेलाडीलाई ट्रेनमा देख्दा समर्थक खुसी मात्र भएनन्, उनीहरूको अनुहार मलिन थियो,’ वुहानबाट प्रकाशित हुने दैनिक पत्रिकाले आइतबार सम्प्रेषण गरेको छ, ‘जब जालको मुख्य रंगशालामा खेलाडी पुगेका थिए, त्यहाँ मास्क र हातमा ग्लोभ्स लगाएका समर्थकले फूलको गुच्छा दिँदै स्वागत गरे । जाल क्लबको आधिकारिक पहेँलो जर्सीमा समर्थकले खेलाडीलाई नयाँ सिजनका लागि शुभकामना दिएका थिए ।’ 

खेलाडीहरूले रंगशाला भित्र जाँदै गर्दा समर्थकलाई धन्यवाद दिए । ‘तीन महिनाको कहालीलाग्दो दिन समाप्त पार्दै आज हामी रंगशालामा छौँँ,’ वुहान जाल टोलीका एक सदस्य बेइवुले ट्विटरमा पोस्ट गरेका छन्, ‘यो तीन महिनाको अवधि हाम्रा लागि एकदम कठिन थियो, अन्ततः फुटबल खेल्न हामी तयार छौँ ।’ आफूहरूले मृत्युमाथि जित प्राप्त गरेको उनले बताएका छन् । 

‘हामीले मृत्युलाई नजिकबाट देख्यौँ,’ उनले भने, ‘प्रत्येक दिन कष्टदायी बनेको थियो, सबै नराम्रा पक्षमाथि जित हात पार्दै अहिले हामी मैदानमा फुटबल खेल्न सक्षम भएका छौँ ।’ वुहान जाल टोलीलाई स्पेनिस प्रशिक्षक जोसे गोन्जालेजले सम्हालेका छन् । हाल उनी स्पेनमै छन् । गोन्जालेजको देश स्पेनमा पनि कोरोना भाइरसको महामारी नै फैलिएको छ । 

लकडाउन नखुल्दा र अन्तर्राष्ट्रिय उडान सुचारु नहुँदासम्म गोन्जालेज स्पेनमै रहनेछन् । दुवै अवस्था सामान्य हुँदा मात्र उनले वुहान जालका खेलाडीलाई प्रशिक्षण दिन सक्नेछन् । मुख्य प्रशिक्षकको अनुपस्थितिमा खेलाडीलाई सहायक प्रशिक्षकले प्रशिक्षण दिने खेलाडी बेइवुले बताए । जाल क्लबले स्थानीय खेलाडी आफ्ना परिवारसँग बिदा मागी अभ्यासमा फर्केको जनाएको छ । 

‘स्थानीय खेलाडी परिवारसँग बिदा मागी प्रशिक्षणमा आउने क्रम जारी छ, तीन महिनासम्म उनीहरू परिवारसँगै बसे, अब फुटबललाई समय दिनुपर्ने वेला भएको छ,’ क्लबको विज्ञप्तिमा भनिएको छ, ‘क्लबसँग आबद्ध विदेशी खेलाडी बिस्तारै सहभागी हुने विश्वास छ ।’ गत वर्षको चाइनिज सुपर लिगमा वुहान जाल छैटौँ स्थानमा थियो । 

लकडाउनको अवस्थामा समर्थक तथा खेलाडीले देखाएको धैर्यप्रति क्लबले धन्यवाद दिएको छ । ‘हामी तपाईंहरूप्रति आभारी छौँ, यो समयमा पनि समर्थक, खेलाडी, उनीहरूका परिवार तथा लगानीकर्ताले जुन धैर्य देखाउनुभयो, त्यो हामी सधँै सम्झिरहनेछौँ,’ क्लबको विज्ञप्तिमा उल्लेख छ । यता, स्पेनको मालागाका स्थायी निवासी गोन्जालेजले आफ्ना खेलाडीलाई आत्मविश्वासका साथ अभ्यास गर्न सुझाब दिएका छन् ।

‘खेलाडीहरू भनेका एथलेटिक्स हुन्, जो कहिले पनि हार स्वीकार गर्दैनन्, अन्तिम समयसम्म लडिरहने स्वभावका हुन्छन्,’ खेलाडीको हौसला बढाउँदै प्रशिक्षक गोन्जालेजले ट्विटरमा भने, ‘अहिले म कामना गर्छु, वुहानजस्तै स्पेनको अवस्था पनि सामान्य होस् ।’ वुहान जालले अब नयाँ सिजनको तयारीमा लाग्ने जनाएको छ । गत फेब्रुअरीमै चाइनिज सपुर लिगको नयाँ सिजन हुनुपर्ने थियो । अहिले लिगको व्यवस्थापकले जुनको अन्तिम साताबाट लिग सुरु गर्ने तयारी गरेको छ ।