Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७७ बैशाख ७ आइतबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य, जानकारी एसएमएसबाट

Read Time : < 1 मिनेट
२०७७ बैशाख ७ आइतबार २१:३७:००

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले आइतबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले पठाएको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बैठक बस्न नसक्ने भएकाले प्रदेश सभाका सबै सदस्यलाई अधिवेशन अन्त्यको जानकारी एसएमएसबाट गराइएको उनको भनाइ छ ।

सामान्य अवस्थामा प्रदेश प्रमुखबाट प्राप्त पत्र बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन सुरु वा अन्त्य गरिन्थ्यो । तर, यसपटक विषम परिस्थिति भएका कारण प्रदेश प्रमुखबाट पत्र प्राप्त भएपछि सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिका उपलब्ध सदस्यहरूसँग मात्र आइतबार छलफल गरेका थिए ।

गत ६ माघमा सुरु भएको हिउँदे अधिवेशनमा १२ वटा बैठक बसेको थियो । ११ फागुनपछि प्रदेश सभाको बैठक बसेको थिएन । यो अधिवेशनमा पाँचवटा विधेयक पेस भएको र तीमध्ये दुईवटा पारित भएका सचिव धामीले जानकारी दिए । निजी व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक र सार्वजनिक व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक पारित भएका हुन् ।

एफएम, रेडियो तथा टेलिभिजन व्यवस्थापनसम्बन्धी विधेयक, खेलकुद र प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी विधेयक समितिमा छलफलको क्रममा छन् । यस्तै, प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा, सुविधा संशोधनसम्बन्धी विधेयक पनि सचिवालयमा दर्ता गरेको छ । तर, उक्त विधेयक प्रदेश सभा बैठकमा पेस भएको छैन ।