मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख ७ आइतबार ११:३४:००
Read Time : < 1 मिनेट
समाचार

रेसुंगा नगरपालिकाले अलपत्र मजदुरलाई उद्धार गरी घर पठायो

Read Time : < 1 मिनेट
२०७७ बैशाख ७ आइतबार ११:३४:००

चार दिनदेखि भोक र थकानले ओठमा कलेटी परेका रामकृष्ण चौधरीका ओठमा शनिबार भने थोरै भए पनि मुस्कान थियो । 

काम बन्द, ठेकेदार बेपत्ता । घर फर्किने साधन भएन । बाग्लुङको कुश्मीशेरामा काम गर्ने उनीसहित बच्चासमेत बोकेर बाँके र बर्दियाका २३ जना मजदुर हिँडेरै तम्घाससम्म आए । 

बाग्लुङदेखि गुल्मीको तम्घाससम्म आउँदा कसैले हेरेनन् । खुला आकाशमै सुतेर चार दिन लगाएर तम्घास आएको चौधरीले बताए । 

‘ठेकेदारले अलपत्र मात्रै पारेन पानीको भरमा केटाकेटीसँग चार दिन पैदल हिँड्दा कसैले हेरेनन्,’ चौधरीले भने, ‘तम्घास आउँदा घर आएकै महसुस भयो ।’ 

चार दिनपछि रेसुंगा नगरपालिकाले सहयोग गरेको उनले बताए । 

बर्दियाका अर्का मजदुर तीर्थबहादुर खत्रीले ठेकेदारले एक हजार मात्रै दिएर भागेकाले अलपत्र परेको बताए । 

उनले लकडाउन खुल्ने आसमा थुप्रै दिन पालमा बसे पनि खाने कुनै उपाय नभएकाले हिँडेरै घर फर्किन खोजेको बताए । 

काम गर्ने ठाउँमा २५–३० जना मजदुर भए पनि कुश्मीसेरामा दिइएकाे ६० किलो चामल र पाँच किलो दाल तीन दिनमा सकिएको खत्रीले बताए । 

रेसुंगा नगरपालिकाले शुक्रबार र शनिबार तम्घास आएका बाँके र बर्दियाका २४ जनाको उद्धार गरेर महेन्द्र माविको क्वारेन्टाइनमा खाना र बस्नको व्यवस्था गरेको थियो । 

पछि मजदुरहरूकै आग्रहमा गाडीको व्यवस्था गरेर घर पठाएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए ।

कठिन समयमा समस्यामा परेका मजदुरहरूलाई उद्धार गरी उनीहरूको घरसम्म पुऱ्याउने व्यवस्था गरेको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।